९ वैशाख २०७८ बिहीबार
समाज

‘भाइ पर्नेबाटै भागरथीको हत्या’

अधिकारकर्मीबाट आशंका व्यक्त, परिवारद्वारा शव बुझ्न इन्कार

दुई साताअघि १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएयता प्रहरीको मात्र होइन, सिंगै मुलुकको ध्यान बैतडीको दोगडाकेदारमा केन्द्रित थियो । अढाइ वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अहिलेसम्म पक्राउ नपरेका कारण पनि सोही प्रकृतिको यो घटनाबारे के होला भनेर सबैले गम्भीर चासो राखेका थिए । प्रहरीले पनि निर्मला हत्या घटनामा देखिएका कुनै पनि कमजोरी दोहोरिन नदिने भन्दै गम्भीरतापूर्वक अनुसन्धान थालेको थियो । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी आफैं दोगडाकेदार गएर बसेका थिए ।  

दुई साताको अनुसन्धानपछि प्रहरीले नाताले भागरथीकै भाइ पर्ने गाउँकै १७ वर्षीय दिनेश भट्टले हत्या गरेको भन्दै बुधबार बैतडी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । दिनेशलाई घटनास्थलनजिक करिब ३ बजेर २५ मिनेट जाँदा प्रत्यक्षदर्शीले देखेको, उसको लोकेसन घटनास्थल नजिक देखाएको र दिनेशले पनि आफ्नो संलग्नता रहेको साबिती बयान दिएका आधारमा भागरथीको हत्या पुष्टि भएको प्रहरीका सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक सुवेदीले बताए ।

बदला लिन हत्या

आफ्नै घरनजिकै दिदी नाता पर्नेलाई एक किशोरले यति जघन्य अपराध गर्न सक्छ र ? यो प्रश्न यतिबेला धेरैको मनमा उब्जिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलनमार्फत अभियुक्त दिनेशलाई सार्वजनिक गर्दा डिआइजी सुवेदीले नै पत्रकारले राखेको प्रश्नमा प्रारम्भिक अनुसन्धामा एकजना मात्र देखिएको र थप अनुसन्धान जारी रहेको बताए । करिब तीन दशकअघि भागरथीका बुवाले आफ्नी फुपूलाई दुव्र्यवहार गरेको भनेर घरपरिवारबाट दिनेशले सुनेका रहेछन् । उक्त घटनाको बदला लिन  करिब डेढ वर्षदेखि नै योजना बनाएको उनको बयान उद्धृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले पनि दिनेशले डेढ वर्षदेखि भागरथीमाथि घटना घटाउने योजना बनाएको अनुसन्धानबाट खुलेको बताए । ‘पारिवारिक रिसइबीका कारण डेढ वर्षदेखि उसले यो घटना घटाउने योजना बनाएको देखिन्छ,’ उनले भने । दिनेशले नै भागरथीको हत्या गरेको भनिए पनि प्रहरीले पुष्टि गर्ने अन्य तथ्य र प्रमाण भने सार्वजनिक गरेको छैन ।

हत्या आरोपित सार्वजनिक

बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपित दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको हत्यामा संलग्न रहेको अभियोगमा सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश पक्राउ परेका हुन् । भागरथी पनि सोही विद्यालय कक्षा १२ मा अध्ययनरत थिइन् ।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयानलगायतका आधारमा दिनेशलाई पक्राउ गरिएको बताए । उनले दिनेशविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने पनि बताए ।  

‘प्रत्यक्षदर्शीले आरोपितलाई त्यो स्थानमा देख्नु, प्राविधिक अनुसन्धानले उनलाई त्यही स्थानमा देखाउनु र बयानमा आफूले हत्या गरेको स्वीकार गर्नुले नै हत्या निजबाटै भएको निष्कर्षमा हामी पुगेका हौं,’ डिआइजी सुवेदीले भने । उनका अनुसार माघ २१ गते दिउँसो पौने २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए ।  

पाँच मिनेटको दूरीमा रहेको खोचलेक बजारमा सँगैका साथीहरूलाई छाडेर उनी एक्लै घरतर्फ हिँडे । खोचलेक बजारबाट भागरथीभन्दा केही मिनेट ढिलो हिँडे पनि बीच बाटामा उनलाई उछिनेर दिनेश घटनास्थलनजिकै बाटोमा ढुकेर बसेको प्रहरीले जनाएको छ । ‘भागरथी पढ्ने विद्यालयमा पढ्ने ११ कक्षाका अभियुक्तले अन्तिम कक्षा नपढी अर्थात् पौने २ बजे विद्यालयबाट आफ्नो घर जान अन्य साथीहरूसँग बजारतर्फ गएको भन्ने खुलेको छ,’ उनले भने, ‘उनी साथीहरूलाई बजारमै छाडेर आफू एक्लै चडेपानीतर्फ हिँडेका थिए ।’ त्यसपछि भागरथीसँग सिल्ल गाउँमा भेटेको तर ती किशोर अगाडि गएको प्रहरीको भनाइ छ । 

भागरथीलाई मार्ने उद्देश्यले दिनेश घटनास्थलमाथिको रोडमा कुरेर बसेको डिआइजी सुवेदीले बताए । भागरथी आइपुगेपछि ती किशोरले उनलाई सडकबाट तल धकेलेर जबर्जस्ती घटनास्थल लगेको प्रहरीले जनाएको छ । ‘जबर्जस्ती घटनास्थल लगेर दुवै हातले घाँटी अँठ्याएर हत्या गरेको भन्ने खुलेको छ,’ डिआइजी सुवेदीले भने । त्यसपछि किशोरले बलात्कारको प्रयास गरेको तर बयानमा बलात्कार नगरेको बताएको प्रहरीको भनाइ छ । ‘पाइन्ट घुँडासम्म निकाली करणी गर्न खोजेको तर त्यत्तिकै छाडेको भन्ने प्रारम्भिक बयान अभियुक्तले दिएको छ,’ डिआइजी सुवेदीले भने, ‘तर त्यसमा अनुसन्धान जारी छ ।’ पोस्टमार्टम रिपोर्टमा भने बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ । आरोपितले भागरथीसँग रहेको मोबाइलको ब्याट्री झिकेर घटनास्थलमा फालेर घरतर्फ गएको बयान दिएका छन् ।  

माघ २१ गते साँझसम्म घर नफर्केपछि खोजी सुरु गरेको परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लबलेक जंगलको बाटोभन्दा करिब ५० मिटर तल वनमाराको झाडीभित्र फेला पारेका थिए । प्रहरीले कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरका आधारमा घटनाको अनुसन्धान गरिरहेको छ ।

अधिकारकर्मीद्वारा आशंका

प्रहरीले १३ दिनपछि आरोपितलाई सार्वजनिक गरे पनि यहाँका अधिकारकर्मीले आशंका व्यक्त गरेका छन् । एक्लै किशोरले सडकबाट धकेलेर खोल्सीमा लगी दिनदहाडै मार्ने सम्भावना कम भएको भन्दै प्रहरीले अझै गहिरिएर अनुसन्धान गर्नुपर्ने अधिकारकर्मी रमेश कोलीले बताए । यहाँका स्थानीयले पनि घटनामा आरोपित एक्लैको हात हुन नसक्ने बताउँदै आएका छन् । अझै भेजाइनल स्वाबलगायतको फरेन्सिफ रिपोर्ट आउन बाँकी रहेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

दिइयो किटानी जाहेरी  

बलात्कारपछि हत्या गरिएकी भागरथीका दाइ केशव भट्टले पक्राउ परेका दिनेश भट्टका नाममा किटानी जाहेरी दिएका छन् । प्रहरीले हत्यामा संलग्न रहेको भन्दै दिनेशलाई पक्राउ गरेपछि उनका नाममा बुुधबार किटानी जाहेरी दर्ता गरिएको हो ।  

परिवार असन्तुष्ट, शव बुझ्न इन्कार

बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदेखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा शव राखिएको छ । घटनाका दोषीलाई सार्वजनिक नगर्दासम्म शव नबुझ्ने परिवारको अडान अझै कायमै छ । हत्यामा संलग्न आरोपित दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरे पनि परिवार भने विश्वस्त हुन सकेका छैनन् । यो उमेरमा आरोपित एक्लैले हत्या गरेको विश्वास गर्न गाह्रो भएको भागरथीका काका शंकर भट्टले बताए । दिनेशले मारेको भनी तथ्य र प्रमाण नदिएकाले विश्वस्त हुन नसकिएको उनको भनाइ छ । उसले दिएको बयानका आधारमा मात्र हत्यारा साबित गर्न खोजिएको उननले बताए । बयानले भन्दा पनि प्रमाण र तथ्या अपराध गरेको पुष्टि हुनुपर्ने आफन्तको भनाइ छ । गाउँकै एक किशोरले बलात्कारपछि हत्या गरेको भनिए पनि कुनै सबुत प्रमाण नदेखिनु, ती किशोरलाई सार्वजनिक गर्न पनि दुई साता लाग्नु र किशोर बयानबाहे पुष्टि गर्ने तथ्य र प्रमाण नेभिटिनुले आफन्तहरू वास्तविक अपराधी दिनेश हो भन्नेमा विश्वस्त हुन नसकेका हुन् ।

प्रकाशित: ६ फाल्गुन २०७७ ०६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?