४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवागढी नाकाबाट आएका ५५ खाद्य सामग्रीको नमुना परीक्षण

खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा खाद्यवस्तुको नमुना परीक्षण गरिँदै । तस्बिर : हिमनाथ/नागरिक

चालु आर्थिक वर्ष २०७७/७८ मा चीनबाट आयात भएका ५५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाले साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना परीक्षण गरेको हो ।  

आयात भएका सबै खाद्य सामग्री नेपाल सरकारले तोकेको मापदण्डअनुसार आएको खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताए । ‘नाकाबाट सामग्रीको आयात कम भएसँगै नमुना परीक्षण पनि कम भएको छ,’ उनले भने, ‘आएका सामग्री नेपाल सरकारको मापदण्ड अनुसार नै आएको छ ।’ कार्यालयको तथ्यांकअनुसार भदौमा १, कात्तिकमा २८, पुसमा १० र माघ १ गतेदेखि हालसम्म १६ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ ।  

चालु आव २०७७/७८ मा चीनबाट सोया सस, भिनेगर, अचार, पिठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेडविन पेस्ट, आदि सामग्री आयात भएको छ । कार्यालयका अनुसार फूल तथा सागपात १३.२ टन, खाद्यान्न दलहन तथा अन्य २९.३ टन, मसलाजन्य ३.४ टन, दुग्धजन्य ६.३, मासुजन्य ३.४, सिजनिङ पाउडर, अजिनामोटो, रेडविन पेस्ट, डोमालगायत सामग्री १५.४ टन आयात भएको छ ।  

गत आव २०७६/७७ मा कार्यालयले २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको थियो । गत माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो । त्यसपछि २०७७ साउन मसान्तसम्म कार्यालयले कुनै नमुना परीक्षण गरेन । खाद्य सामग्रीको लेबलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि गत आवमा केही महिना परीक्षण हुन सकेको थिएन । २०७६ कात्तिकपछि नमुना आउने क्रम बढेको थियो । चीनबाट आउने प्रमुख सामग्रीमा चकलेट, चम्मा पिठो, बिस्कुट, सोया सस, भिनेगर, अचार, जुस पाउडर, चिकेन पाउडर, कफी, थुक्पा, चियापत्ति, एमएसजी, ओखर, चामल ,टिमुर, चिकेन ब्रोथ क्युब, मसरुम सुप, धुलो खुर्सानी, मसला, छ्याङ, क्वाची आदि छन् ।  

२०७५ माघदेखि सञ्चालनमा आएको कार्यालयले २०७५ माघदेखि असार मसान्तसम्म १ सय ८१ वटा खाद्य वस्तुको नमुना परीक्षण गरेको थियो । नाकामा कारोबार बढेपछि गत माघ १३ गतेदेखि कार्यालय सञ्चालनमा ल्याइएको थियो ।  

प्रयोगशालासहित स्थापना भएको कार्यालयमा खाद्य सामग्रीको गुणस्तर परीक्षण हुने क्रम बढेको उनले बताए । तर हालसम्म चीन निर्यात हुने खाद्य सामग्रीको परीक्षणका लागि एउटै नमुना परीक्षण भएको छैन । चीनबाट नेपाल भित्रिएका खाद्य सामग्रीको परीक्षणका लागि भन्सार कार्यालयले नमुना पठाउने गरेको छ । पछिल्लो एक वर्षदेखि रसुवागढी नाकाबाट नेपाली सामग्री चीन निर्यात भएको छैन ।  

‘आयात भएका सामग्रीको गुणस्तर प्रमाणीकरण गरिरहेका छौं,’ उनले भने, ‘निर्यात हुने सामग्रीका लागि भने गुणस्तर प्रमाणीकरण भएको छैन ।’ चाउचाउ, मैदाको पिठो, चिउरालगायत सामग्री जाने गरेको छ । गुणस्तर प्रमाणित नगरी सामग्री आयात तथा निर्यात गर्न मिल्दैन । भन्सार कार्यालयले खाद्य सामग्रीको नमुना गुणस्तर कार्यालयमा पठाउँछ । कार्यालयले आयात तथा निर्यात भएका सामग्रीको गुणस्तर प्रमाणित गरेपछि मात्रै भन्सारले अनुमति दिन्छ ।  

कार्यालयको स्थापनाले गुणस्तरहीन सामग्री आउने सम्भावना भने घटेको छ । २०७५ कात्तिक १८ गते कार्यालयको स्थापना भएको हो । कात्तिकमा कार्यालय स्थापना भएको भए पनि माघ १३ गतेदेखि कार्यालयबाट सेवा सुरु गरेको थियो । कार्यालय स्थापना भएपछि आयात हुने खाद्य पदार्थको गुणस्तर तथा लेबलमा पहिलेको भन्दा क्रमिक रूपमा सुधार भएको उनले बताए ।

प्रकाशित: २३ माघ २०७७ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App