२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एनजिओले राजनीति गरेको आरोप

रौतहटको ईशनाथ नगरपालिकामा दुईवटा गैरसरकारी संस्था (एनजिओ)ले राहत वितरणको नाममा राजनीति गरेको आरोप लागेको छ। आगामी चुनावलाई ध्यानमा राखी कुनै निश्चित दललाई फाइदा पुग्ने गरी दुई एनजिओले सर्वसाधारणलाई राहत वितरण गरेको आरोप लागेको हो।  

माण्डवी नाम गरेको संस्थाले नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी राहत वितरण गरेको आरोप छ भने ग्रामीण विकास केन्द्र (आरडिसी) संस्थाले ओली समूहको नेकपालाई फाइदा पुग्ने गरी राहत वितरण गरेको आरोप रहेको छ। राहत वितरणका कारण जिल्लामा पहिलो चोटि ईशनाथ नगरपालिकामा सतहमा आरोप लागेको यो पहिलोपटक हो। लामो समयसम्म माण्डवी संस्थाको अध्यक्षको रूपमा रहेकी अन्जु झा आगामी स्थानीय तहमा मेयर पदको उम्मेदवार रहेको घोषणा गरिसकेकी छन्। आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर पदको उम्मेदवार घोषणा गरेसँगै नगरका एक पक्षका मानिसको स्वाभाविक राजनीतिक सहानुभूति झालाई गएको छ। झाको नेतृत्वमा ईशनाथमा ठूलो परिमाणमा राहत वितरण गरिएको छ।

माण्डवीले राहतमा जाडोबाट बच्ने सिरकदेखि घरायसी प्रयोजनका महँगा सामान पनि सर्वसाधारणलाई वितरण गर्ने गरेको छ। चामलको बोरा, दाल, तेल, नुन, साबुन, सर्फ, ग्याँस चुल्हो, सिलिन्डरलगायत सामग्री हजारौंलाई वितरण गर्ने माण्डवीलाई चुनावको राजनीति गरेको आरोप नेकपा तथा अन्य दलका कार्यकर्ताले लगाएका छन्। समाजसेवाको नाममा राजनीति भइरहेको र ईशनाथ नगरपालिकामा माण्डवी संस्थाले नगरपालिकाको समानान्तर सरकार नै चलाएको आरोप अन्य दलका कार्यकर्ताले लगाइरहेका छन्। 

नगरपालिकामा आरडिसीले पनि राहतमा जाडोबाट बच्ने सामग्री वितरण गरेपछि कांग्रेस समर्थक तथा माण्डवीप्रति उदारभाव राखेका स्थानीयले नगरपालिका प्रमुख सन्तोष मेहताको पक्षपोषण गरेको आरोप लागेको छ।

प्रकाशित: २२ माघ २०७७ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App