२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

राजनीतिक संक्रमणको समयमा वन अतिक्रमण तीव्र

अत्तरियास्थित बडिमालिका सामुदायिक वनकिनारमा टहरा निर्माण गरिँदै । तस्बिर : पुष्पराज जोशी/नागरिक

राजनीतिमा चरम उतारचढाव भएका बेला पश्चिम तराईको कैलाली र कञ्चनपुरका वनक्षेत्रमा अतिक्रमण तीव्र हुने गरेको छ । २०६२/६३ को जनआन्दोलनका बेला राजनीतिक सरगर्मीले उचाइ लिइरहेको थियो । तर कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा अतिक्रमण बढ्यो । सो क्षेत्रमा तीव्र रुपमा संस्थागत तथा निजी रुपमा सडककिनारमा रहेको वन क्षेत्रमा अतिक्रमण बढ्यो । 

यस्तै दोस्रो संविधान सभा निर्वाचनताका तत्कालीन माओवादीको सातौं डिभिजन कार्यालयको सहायक कार्यालय बढैपुर शिविरनजिकै महेन्द्र राजमार्ग छेउछाउमा सुकुम्बासीले टहरा निर्माण गरे । निर्वाचनको मुखैमा राजनीतिक दलका नेताहरूलाई भोटको लोभ देखाउँदै सुकुम्बासीका नाममा सडक किनारमा अतिक्रमण भयो । त्यो अतिक्रमित बस्तीलाई नहटाइँदा टहरा बदलिएर अहिले ठुल्ठुला घर निर्माण भएका छन् ।  

कोरोनाका कारण चैत ११ देखि देश लकडाउनमय भएका बेला कैलालीको वन अझ बढी अतिक्रमणको चपेटामा पर्‍यो । सुदूरपश्चिम प्रदेश सरकारले २०७५ असोज १२ गते तेघरी जंगलमा राजधानी स्थल तोकेलगत्तै वनमाफियाको आँखाको तारो बनेको सो क्षेत्रको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र लकडाउनका कारण चैतपछि भने अतिक्रमणको उच्च चपेटामा परेको थियो । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उत्पन्न राजनीतिक उतारचढावका बेला अत्तरिया क्षेत्रको सडक किनारमा अतिक्रमण बढेको छ ।  

राजनीतिले सरगर्मी बढेका बेला अत्तरिया आसपासका सामुदायिक वन र सडककिनारका खाली जमिन अतिक्रमणको चपेटामा परेको स्थानीय योगेश रावल बताउँछन् । ‘राजनीतिक खिचातानीमा सबैको ध्यान केन्द्रित भएका बेला अतिक्रमण गर्नेहरूले वन क्षेत्रमा कब्जा जमाउन थालेका छन्,’ उनले भने, ‘जबजब देशमा राजनीतिक अस्थिरता हुन्छ, त्यही बेला अत्तरिया क्षेत्रको वन अतिक्रमणको चपेटामा पर्छ ।’ पछिल्ला दिनमा महेन्द्रनगर रोडमा रहेको गोदावरी खोलापारिको सडककिनार अतिक्रमण हुन थालेको छ । गोदावरी नगरपालिका–३ स्थित बडिमालिका सामुदायिक वनको तारबार गरिएको सीमानजिकै सडकको जमिन अतिक्रमणको चपेटामा परेको हो । राजनीतिक उथलपुथल भएका बेला अत्तरिया क्षेत्रमा वन तथा सडकको जमिन अतिक्रमण हुनु सामान्य भएको बताउँदै अर्का स्थानीय रोजेन्द्र चौधरीले भने, ‘देशमा राजनीतिक घटनाक्रम भएका बेला सबैको ध्यान उतै केन्द्रित हुने भएकाले अतिक्रमण गर्नेहरूले वन क्षेत्र कब्जामा लिने गरेको पुरानै रोग हो ।’ 

बडिमालिका सामुदायिक वनको जमिनलाई लक्षित गर्दै अहिले सडककिनारमा टहरा बनाइन थालिएको बताउँदै उनले थपे, ‘यसमा देखिने बेलामा गरिब, सुकुम्बासीलाई अगाडि लगाइन्छ तर पछाडिबाट ठुला भूमाफिया तथा वन माफियाकै चलखेल छ ।’ सुकुम्बासीलाई प्रयोग गरेर वनमाफियाले अतिक्रमण गराउने गरेको बताउँदै उनले भने, ‘राजधानीस्थिल तोकिएको तेघरी जंगलनजिकै रहेको हनुमान मन्दिर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधि गडा, भ्यागुत्तेपानी, बाँसपानी, गाईमारा क्षेत्र, महेन्द्रनगर रोडकिनारमा सुकुम्बासीलाई प्रयोग गर्दै वन तथा भूमाफियाले चलखेल गर्दै आएका छन् ।’

अत्तरिया क्षेत्रमा बाढीपीडित, सुकुम्बासीका नाममा जंगलछेउमा बस्दै आएकाहरू पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गोदावरी नगरपालिकाको तेघरी जंगलमा राजधानी बनाउने घोषणा गरेसँगै जंगलकिनारमा बस्दै आएकाहरू सामुदायिक तथा राष्ट्रिय वनको सिमाना मिच्दै जमिन बढाउन थालेका छन् भने केही वनमाफियाले आफू तथा आफन्तलाई लिएर वन क्षेत्रभित्रै टहरा बनाउन थालेका छन् ।  

सडककिनारमा बसेकाहरू पछिल्लो समय सामुदायिक वनको सिमाना मिच्दै अगाडि बढिरहेको स्थानीय बताउँछन् । ‘सामुदायिक वन र राष्ट्रिय वनभित्रै पसेर वन माफियाले अतिक्रमण गरी घर टहरा बनाइसकेका छन्,’ स्थानीय रुपेश ओझाले भने, ‘यहाँ लकडाउनको समयमा दिनरात टहरा निर्माण भएका हुन् ।’ जंगलकिनारमा बसेकाहरूले आफूसँगै आफ्ना नजिकका नातेदारलाई ल्याएर वनको सिमाना मिच्दै जमिन बनाउने गरेको उनी बताउँछन् । ‘टहरो मात्रै बनाएकाहरूले करेसाबारी बनाएर जंगलको सिमाना मिच्दै जमिन अगाडि बढाउन थालेका छन्,’ उनले भने, ‘एउटैले दुई/चार कट्ठा जमिन बनाएका छन् ।  

बडिमालिका सामुदायिक वनको सीमामा आएर खाली जमिन अतिक्रमण गरिन थालिएको बताउँदै डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले भने, ‘सो क्षेत्रमा खाली जमिन अतिक्रमण गरिन थालिएको छ, सम्बन्धित सवडिभिजन वन कार्यालयलाई तुरुन्तै हटाउन आदेश दिएको छु ।’  

प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा अहिलेसम्म २१ हजार १ सय ५४ दशमलव ७७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभरमा १ लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत (२१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर क्षेत्रफल) वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको छ । यो तथ्यांकले देशभरकै सबैभन्दा बढी कैलाली जिल्लामा वन क्षेत्र अतिक्रमण भएको देखिन्छ । देशभरमै अतिक्रमित वन क्षेत्रको १ लाख हेक्टर क्षेत्रफलमध्ये २१ हजार हेक्टर क्षेत्रफल कैलाली जिल्लामा अतिक्रमण भएको हो । नेपालको कुल अतिक्रमित क्षेत्रफलमध्ये २१ प्रतिशत वन क्षेत्र कैलालीमै अतिक्रमण भएको देखिन्छ, जुन तथ्यले देशभरमै सबैभन्दा बढी प्रतिशत वन क्षेत्र अतिक्रमण कैलालीमै भएको देखिएको हो ।

प्रकाशित: २२ माघ २०७७ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App