कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अब, कानुन निर्माणले गति लिने दाबी गरेका छन्। बुधबार संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माणसम्बन्धी अध्ययन कार्यदल-२०८१ को प्रतिवेदन बुझदै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।
मुख्यमन्त्री कार्कीले राजनीतिक स्थिरताको संकेतहरू देखिएका कारण अब, कानुन निर्माणले गति लिने बताए। कार्कीले पछिल्ला वर्षहरूमा सरकार अदली बदलीका कारण कोशी प्रदेशको कानुन निर्माण पनि प्रभावित भएको बताए।
कार्कीले अबको केहि दिन भित्रै कोशी प्रदेश सभाकोहिउँदे अधिवेशन सुरू हुने र कानुन निर्माणले तिब्रता पाउने उल्लेख गरे। कार्कीले भने ‘केहि दिन पछि बस्ने प्रदेश सभा अधिवेशनका बैठकहरूलाई विजनेश दिन सरकारले प्रयाप्त तयारी गरिसकेका कारण कानुन निर्माणले गति लिन्छ।’
मुख्यमन्त्री कार्कीले अध्ययन कार्यदलको प्रतिवेदनले औँल्याएका विषयमा २१ दिन भित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लिखित सुझाव पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशनसमेत दिए।
कार्यक्रममा अध्ययन कार्यदलका संयोजक चुडामणी आचार्यले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारको राजनीतिक, प्रशासनिक र वित्तीय अवस्था सुदृढ हुनुपर्ने बताए।
उनले सरकारको प्रशासनिक अवस्था दह्रो नहुने, आर्थिक स्रोतका लागि संघकै मुख ताक्नुपर्नेअवस्था रहुन्जेल संघीयता कार्यान्वयन संभव नहुने स्पष्ट पारे। कार्यदलले कोशी प्रदेश सरकारले तर्जुमा गर्नुपर्ने ५२ वटा कानुनहरू बनाउन बाँकी रहेको औंल्याएको छ।
कार्यक्रममा कार्यदलका संयोजक आचार्यले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए।
प्रकाशित: २४ पुस २०८१ १५:४८ बुधबार