११ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई मनसुन प्रणाली एकसाथ नेपालमा

काठमाडौं - बंगालको खाडी र 'अरेबियन सी'मा विकासित मनसुन प्रणाली एकैपटक नेपाल भित्रिएकाले मध्य र सुदूर पश्चिममा अत्यधिक वर्षा भएको मौसमविदले बताएका छन्।
'सामान्यतया मनसुनको थालनी पूर्वबाट हुन्छ, तर अहिले पश्चिमबाट पनि भएकाले भारी वर्षा भएको हो,' मौसम पूर्वानुमान महाशाखाका मौसमविद शिव नेपालले भने, 'दुईवटा मौसम प्रणाली एकैचोटी नेपाल भित्रिएको छ।'

उनले सुदूर र मध्य पश्चिमका धनगढी, डडेलधुरा र आसपासका जिल्ला, नेपालगन्जमा सोमबार राति र मंगलबार दिनभर भारी वर्षा हुने बताए। 'पश्चिमी मनसुन प्रणाली धेरै बलियो देखिन्छ, अझै मध्य र सुदूरमा भारी वर्षा हुन्छ', नेपालले भने, 'पूर्वलगायत अन्य क्षेत्रमा त्यति वर्षा भएको देखिँदैन।'   

उनका अनुसार पूर्वबाट भित्रिएको मनसुनभन्दा अरेबियन सीमा विकास भएको मनसुन प्रणाली बढी शक्तिशाली भयो। त्यसले मध्य र सुदूर क्षेत्रमा अत्यधिक वर्षा गरायो।  'अरेबियन सीमा विकास भएको मौसम प्रणाली मनसुन सुरु भएपछि विस्तारै आउने गर्थ्यो, तर यसपटक पूर्वको मनसुनसँगै आयो,' नेपालले भने, 'पूर्वी मनसुन सुरु भएको केही दिनपछि मात्र पश्चिमी प्रणाली नेपाल भित्रिन्थ्यो। तर यसपटक सँगसँगै भयो।'

सुदूर पश्चिमका दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेलधुरालगायत जिल्लामा विगत तीन/चार दिनदेखि नियमित वर्षा भइरहेको छ। यीमध्ये महाशाखाको मौसम केन्द्र डडेलधुरामा मात्र छ। आइतबार साँझ पौने ६ बजेदेखि सोमबार साँझ पौने ६ बजेसम्म डडेलधुरामा १ सय ५७ दशमलव ५ मिलिमिटर वर्षा भएको छ।

'यो अत्यधिक हो, सुदूरपश्चिमका अन्य पहाडी जिल्लाको अवस्था पनि लगभग यस्तै हुनुपर्छ,' उनले भने। डडेलधुरासँग जोडिएको डोटीको दिपायलमा १५४ दशमलव ७ मिलिमिटर र धनगढीमा १०७ दमशलव ४ मिलिमिटर वर्षा भएको छ।

यसपटकको पाँच दिन ढिलो गरी गत शुक्रबार साँझ पूर्वबाट मनसुन नेपाल भित्रिएको हो। बंगालको खाडीमा विकासित यो मनसुन नेपाल भित्रिएपछि मध्य र सुदूर पुग्न कम्तीमा पाँच दिन लाग्छ। 'पूर्वबाट भित्रिएको मनसुन नपुग्दै पश्चिममा भारी वर्षा भयो', नेपालले भने।

उनका  अनुसार अरेबियन सीमा विकास भएको मनसुन भारत महाराष्ट्रको वेस्टर्न घाट, मध्य भारत हँुदै पश्चिमबाट नेपाल भित्रिएको हो। त्यो पश्चिमका पहाडी क्षेत्रमा गएर ठोक्किएकाले त्यहाँ भारी वर्षा भएको हो। मध्य र सुदूरबाहेक गत २४ घन्टामा भारी वर्षा हुने स्थानमा भैरहवा पर्छ। त्यहाँ १४२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ।   

मौसमविदका अनुसार पूर्वको मनसुन प्रणाली बंगाल खाडीमा विकास हुन्छ। त्यहाँको समुद्र सतह तातेर निस्किने पानीयुक्त वाफ वायुमण्डलको माथिल्लो भागमा पुग्छ। त्यो चिसिएर पानी बन्छ र त्यसलाई न्यूनचापीय क्षेत्रले आफूतिर तान्छ। त्यो क्षेत्र मनसुन रहने समय १२० दिन कहिले भारत तर्फ (दक्षिण) र कहिले नेपालतर्फ (उत्तर) सरिरहन्छ। यता आयो भने यता राम्रो वर्षा हुन्छ, उता गयो भने उतै। 'न्यूनचापीय क्षेत्र जति सक्रिय भयो त्यति राम्रो मनसुन हुन्छ,' अर्यालले भने।

प्रकाशित: ३ असार २०७० २२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App