१२ माघ २०८१ शनिबार
image/svg+xml
समाज

अस्पताल पुर्‍याउन ढिलाइ हुँदा सुत्केरी र नवजात शिशुको मृत्यु

जुम्लामा ३० वर्षीया सुत्केरी महिलाकाे मृत्यु भएको छ। जुम्लाको तातोपानी गाउँपालिका-१ निवासी मुगा शाही र उनीबाट जन्मेको नवजात शिशुको मृत्यु भएको हो।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार घरबाट बेहोस भएर अस्पताल आएकी उनलाई आईसियूमा राखिएको थियो। उनको बिहीबार विहान ८ बजे मृत्यु भएको तर बच्चा भने गत माघ ३ गते नै अस्पताल पुर्याउँदा मृत्यु भइसकेको थियो।

प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डाक्टर कविता शाहका अनुसार गत माघ ३ गते ११ बजेर २४ मिनेटमा बेहोस अवस्थामा पुगेकी उनलाई भेन्टिलेरमा राखिएको थियो। सुत्केरी शाहीलाई अस्पतालमा ल्याउँदा बच्चा जन्मेर मृत्यु भइसकेको डाक्टर कविता बताउँछिन्।

उनले भनिन्, 'सुत्केरी आमाको स्वास्थ्य अवस्था गम्भीर देखेपछि ३ मिनेटमै आईसियूको भेन्टिलेटरमा उपचार सुरु गरेका थियौँ। परिवारले अस्पताल ढिला पुर्याउँदा दुःखद घटना भयो।' कसैलाई पनि सुत्केरी व्यथा लाग्ने बित्तिकै स्वास्थ्यकर्मीलाई खबर गरी अस्पताल आउन उनले अनुरोध गरिन्। परिवार स्रोतका अनुसार मृतक सुत्केरी शाहीलाई माघ २ गते राति नै सुत्केरी ब्यथा लागेको थियो। समयमा अस्पतालमा नल्याई धामीझाँक्रीकाे भर परेपछि अस्पताल ढिला पुयाईएको पाइएको छ।

मृतक मुगाका भाइ जुम्लाको तातोपानी-२ डाँगीवाडाका धिरेन्द्र डाँगीले अस्पताल पुर्याउन ढिला भएका कारण दिदीले ज्यान गुमाउनु परेको बताए। आईसियूमा होस नखुलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माघ ४ गते नै रिफर समेत गरेको थियो। 

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले गाउँपालिकामा यो विषयमा जानकारी नै नभएको बताए। उनले गाउँपालिकामा एम्बुलेन्स स्टेन्ट अवस्थामा रहेको र आफूलाई खबरै नआई एक्कासी मृत्युको खबर सुनेको प्रतिक्रिया दिए। उनले पनि अहिले गाउँमा जनचेतना अभाव भइरहेकाले जनचेतना दिने कार्यक्रम बढाउनुपर्ने बताए।

प्रकाशित: ११ माघ २०८१ २०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App