१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सर्वोच्च अदालत दुई घन्टा बन्द

काठमाडौं— जिल्ला अदलतको न्यायाधीश नियुक्तिसम्बन्धी अध्यादेश पारित गर्न लागिएको विरोधमा विभिन्न पाँच कर्मचारी सङ्गठनले आज दुई घन्टा सर्वोच्च अदालतको काम कारबाही ठप्प पारेका छन्।जिल्ला न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्ड बनाइएको एक वर्ष नाघिसक्दा पनि न्यायाधीश नियुक्ति नगरी पुनः जिल्ला न्यायाधीश नियुक्तिका लागि अध्यादेश पेस गरिएको र विगतमा पेस गरिएका ५७ बुँदे माग पनि पूरा नगरिएकाले ती सङ्गठनले आज बिहान १० देखि १२ बजेसम्म काम कारबाही ठप्प पारेका हुन्।

आफ्ना माग पूरा नभए भोलि तीन घन्टा उपत्यकाभरका न्यायालय तथा न्यायाधीकरण र पर्सि नेपालभरका न्यायालय तथा न्यायाधीकरणका काम कारबाही पूरै ठप्प पार्ने पनि जारी विज्ञप्तिमा जनाइएको छ।

विगतमा न्याय सेवाका अधिकृत कर्मचारीबाट मात्र जिल्ला न्यायाधीश नियुक्ति गर्ने गरिएकामा सो अध्यादेशमा ५२ प्रतिशत कर्मचारी र ४८ प्रतिशत कानुन व्यवसायीबाट जिल्ला न्यायाधीश नियुक्ति गर्ने गरी अध्यादेश ल्याउन लागिएको जनाइएको छ।

न्यायालयभित्रका नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र राष्ट्रसेवक कर्मचारी सङ्गठनले संयुक्तरूपमा सो विरोध गरेका हुन्। रासस

प्रकाशित: २६ जेष्ठ २०७० ०४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App