१५ चैत्र २०८० बिहीबार
समाज

अनकन्टार जंगलमा बस्ने पदमबहादुरले पाए नागरिकता

म्याग्दीमा नागरिकता हस्तान्तरण गदैं प्रजिअ उमाकान्त अधिकारी । तस्बिरः हरिकृष्ण गौतम÷नागरिक

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको अनकन्टार जंगलको भैसीगोठमा बस्दै आएका ७३ वर्षिय पदमबहादुर फगामी पुन पहिलोपटक सदरमुकाम बेनीबजार झरे ।  

दानाको फगाम गाउँबाट करिब एकदिनको पैदल यात्रापछि पुगिने चुने लगायतका घना जंगलको भैसीगोठमा भाई मानबहादुरसँगै बस्दै आएका फगामीलाई स्थानीय र आफन्तले सदरमुकाम झरेको बेला भेटाएका थिए । दुईदशक अगाडी नै आमाबुबाको मृत्यु भएपछि गोठमै दिन बिताउँदै आएका पदमबहादुरलाई आफन्त कमलबहादुर फगामी र गुप्तलाल थापाले जिल्ला प्रशासन कार्यालयमा पु¥याएर ७३ वर्षको उमेरमा बल्ल नागरिकताको प्रमाणपत्र पनि दिलाउन लगाए ।  

चाउरी परेका गाला, कान नसुन्ने, कम बोल्ने पदमबहादुरलाई प्रजिअ उमाकान्त अधिकारीले नागरिकता हस्तान्तरण गरेका थिए । बेलाबेलामा गाउँसम्म आउने गरेका पदमबहादुरले नागरिकता पाएपछि अब नियमित वृद्धभत्ता पनि पाउने बताए । नागरिकताको कार्ड देखाउँदै पदमबहादुरले भने, ‘यो पाएपछि अब पैसा पनि पाइन्छ । गोठमा फर्किएर भाईलाई पनि नागरिकताका लागि लिएर आउँछु ।’

अन्नपूर्ण दाना र रघुगंगा गाउँपालिकाको चिमखोलाको धुरीमा करिब तीनदशक विताएका पदमबहादुरलाई नागरिकता दिन पाउँदा खुसी लागेको प्रजिअ अधिकारीले बताए । नागरिकताबाट बन्चित भएकालाई कानुनी प्रक्रिया पुरा गरेपछि तत्कालै उपलब्ध गराउने प्रजिअ अधिकारीले बताए । ‘गाउँघरमा अझै धेरै वृद्धवृद्धा नागरिकतबाट बन्चित हुनुहुन्छ, वृद्ध अवस्थामा नागरिकता पाउँदा अनुहारमा खुसी झल्किएको देखेको छु,’ प्रजिअ अधिकारीले भने ।  

हिडेर गाउँसम्म आएका पदमबहादुरले पहिलोपटक सवारी साधन चढेर बेनी आएका थिए । यसअगाडी पनि प्रजिअ अधिकारीकै हातबाट रघुगंगा गाउँपालिका–१, बेगखोलाका ७५ वर्षिय ओमबहादुर फगामीले नागरिकता पाएका थिए । म्याग्दीमा शारिरीक अपाङ्गता भएका, आर्थिक अवस्था कमजोर लगायत कारणले अझैपनि धेरै नागरिक नागरिकताविही भएको हुनसक्ने प्रशासनको अनुमान छ । कोरोना संक्रमणका कारण म्याग्दीमा यो पटक स्थानीय तहसँगको सहकार्यमा हुने घुम्ती शिविर समेत सञ्चालन हुन सकेको छैन् । 

प्रकाशित: ७ माघ २०७७ ११:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App