१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

वृहस्पति अस्त : काम्य कर्म गर्न वर्जित

वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। माघ ४ गते आइतबार मध्याह्न ११ः५८ बजे पश्चिममा अस्त भएका गुरु फागुन २ गते आइतबार पूर्वमा उदाउने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।  

यसैगरी माघ ३० गते शुक्रबार बिहान ७ः६ बजे शुक्र पनि पूर्व अस्त हुने उनले सुनाए। शुक्र यो वर्षभर नै उदय नहुने समितिले जनाएको छ। विसं २०७८ मा कहिले शुक्र उदय हुने भन्ने विषयमा पात्रो (पञ्चाङ्ग) स्वीकृत नभएकाले अहिले भन्न नसकिने जनाइएको छ। वृहस्पति र शुक्र अस्त भएका बेला नित्य र नैमित्तिक कर्म मात्र गर्नु हुने तथा कुनै कामना लिएर गरिने कर्म गर्न नहुने शास्त्रीय मान्यता छ।

यो वर्षका बाँकी तीन महिना नित्य रुपमा गरिने स्नान, पाञ्चायन पूजा, दिवङ्गत हुनेको नाममा गरिने काजक्रिया, बच्चा जन्मनेको जातकर्म मात्र गर्नु हुने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। “वृहस्पति र शुक्र अस्त हुँदा गरिएका कर्मले ब्राह्मणलाई दक्षिणा त प्राप्त होला तर कर्ता (यजमान) लाई फल प्राप्त हुँदैन, वृहस्पति र शुक्र ग्रह बाल र वृद्ध हुँदा पनि काम्य कर्म अर्थात् कुनै कामनाले गरिने कर्म गर्नु हुँदैन”, धर्मशास्त्रविद् गौतमले भने।  

यी दुवै ग्रह अस्त हुनु तीन दिनअघिदेखि उदय भएको तीन दिनसम्म पनि कुनै कामना लिएर गरिने कर्म गरिँदैन। यी दुई ग्रह अस्त भएका बेला दान, महादान, गोदान, धान्य पर्वत दान, गृहारम्भ, गृह प्रवेश, लाख बत्ती बाल्ने, सप्ताह, नवाह, सत्यनारायण पूजा, रुद्रीपूजालगायत कर्म गर्नु हुँदैन। वृहस्पति र शुक्र अस्त भएकैले यस वर्ष माघ, फागुन र चैतमा विवाह एवं व्रतबन्धका लग्नसमेत छैनन्। रासस

प्रकाशित: ६ माघ २०७७ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App