कोभिड १९ को महामारीको बेला संक्रमितहरुको उपचार खटिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले अझै पनि जोखिम भत्ता पाएका छैनन्।
नेपालमा कोभिड १९ को संक्रमण देखा परेपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न सरकारले जोखिम भत्ता दिने घोषणा गरेको थियो। नेपालमा कोभिड देखा परेको १० महिना बितिसक्दा पनि वीपी प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको गुनासो गरेका छन्। संक्रमितको उपचारमा खटिए पनि जोखिम भत्ता नपाएको भन्दै अहिले प्रतिष्ठानमा कार्यरत जुनियर रेसिडेन्ट र मेडिकल अफिसरहरु आन्दोलनमा उत्रिएका छन्।
प्रतिष्ठानका जुनियर रेसिडेन्टहरुले माघ १ गतेदेखि कोभिड अस्पतालको ड्युटी बहिष्कार गरेका छन् भने मेडिकल असिफरहरुले पनि जोखिम भत्तासहित तलबको माग लिएर हिजो आइतबारदेखि उपकुलति कार्यालयअघि धर्ना दिन थालेका छन्। जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता डा. पदम नेपालीले सरकारले जोखिम भत्ताको बजेट निकासा गरिसके पनि हालसम्म प्रतिष्ठानबाट पाउन नसकेको बताए। ‘संक्रमणको बेला जोखिम मोलेर कोभिडमा खटियौं, विगत ५,६ महिनादेखि नै पटक पटक ध्यानाकर्षण, छलफल र विज्ञप्तीमार्फत पहल गर्यौं, सरकारले बजेट निकासा पनि गरिसकेको छ, तर किन वितरण भएन, थाहै भएन,’उनले भने।
प्रतिष्ठानका मेडिकल अफिसर र डेन्टल सर्जनहरुले पनि आइतबारदेखि काम छोडेर उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन्। मंगलबारसम्म माग पुरा नगरे आकस्मिक सेवा पनि छोडेर बिहान ८ बजेदेखि ५ बजेसम्म धर्ना दिने उनीहरुको भनाई छ। मेडिकल अफिसरहरुले जोखिम भत्तासँगै आफुहरुले नेपाल सरकारको मापदण्ड अनुसार ८ औं तहको तलब स्केल पाउनु पर्ने माग गरेका छन्। ‘अहिलेसम्म जोखिम भत्ता पाएका छैनौं, विगतमा हाम्रो ८ औं तहको मापदण्ड अनुसारको तलब स्केल दिने कुरा पनि कार्यान्वयन भएन,’डा.इडेन काफ्लेले भने।
नेपाल सरकारले मेडिकल अफिसरहरुलाई ८ औं तहको मापदण्ड अनुसार आइओएम, पाटन, धुलिखेललगायत अस्पतालमा ५५ देखि ६० हजारको तलब स्केल पाइरोखको डा.काफ्लेको भनाई छ। तर, प्रतिष्ठानमा भने ३४ हजार ५ सय मात्र पाइराखेको उनले बताए। ‘सरकारले तोकेको भन्दा ज्यादै कम तलब पाउँदै आएका छौं, हाम्रो प्रमुख माग यो हो। पछिका मेडिकल असिफरहरुले पनि सम्मानपूर्वक काम गर्ने वातावरण बनोस्,’उनले भने,‘हामीले पटक पटक भनेपनि सुनुवाई नभएपछि कार्यक्षेत्र छोडेर आन्दोलन गर्न बाध्य भयौं।’ प्रतिष्ठानमा हाल ३५ जनाको हाराहारीमा मेडिकल असिफरहरु कार्यरत छन्।
प्रकाशित: ५ माघ २०७७ ०८:१३ सोमबार