१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शीतलहर छल्न न तातो नाना, न खाना

शीतलहरसँगै बढेको जाडो छल्न घुर ताप्दै देहातका गृहिणी। तस्बिर : मिथिलेश/नागरिक

सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्। तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको चिन्ताले सताएको छ। पुस लागेसँगै बढेको चिसो र एक सातादेखि परेको शीतलहरले कठ्यांग्रिएर मरिन्छ कि भन्ने डरले उनलाई सताएको हो।  

‘गुर्दी (फाटेको लुगा जोरजार पारेर बनाइएको ओढ्ने) आइढ क जार काटैत एल छेली तेसरा साल सरकार कमर देलक (गर्दी ओढेर जाडो काट्दै आएको हामीले तीन वर्षअघि कम्बल पाएका थियौं),’ उनले भनिन्, ‘अखनी ओही कमरमे भुरेभुर भक फाइट गेलै (अहिले त्यही कम्बल भ्वाङै भ्वाङ भएर फाटेको छ)।’ जाडोका कारण कष्टकर जीवन बाँचिरहेको यहाँको विपन्न वर्गलाई मनकारीले तीन वर्षअघि कम्बल बाँडेका थिए। अहिले तिनै कम्बल ओढ्नै नमिल्ने गरी फाटेका छन्। कम्बल मात्र होइन, लक्ष्मीनियाको मन पनि फाटेको छ।  

उनी भन्छिन्, ‘अतके सरकारके अपना स उबारे नै होइछै त गरिबके कथी देतै, भोट लैला एतै त दुनु औठा बाइर देबै (यहाँको सरकारलाई हामी गरिबको कष्ट बुझ्ने फुर्सद कहाँ छ, अब भोट माग्न आए दुवै औठाले छाप लगाइदिउँला)।’  

मनकारीले दिएको कम्बलको तातोमा धेरै रात काटेकी उनले भनिन्, ‘अखनी कमरसँगे मनो फाइट गेल अछि (अहिले कम्बलसँगै हाम्रो न्यानो मात्र होइन मन पनि फाँटेको छ)।’ लहरै तीनवटा छाप्रोमा आफ्नो गरिबीलाई ओत लगाएका छन् लक्ष्मीनिया, प्रमिला र गुलावदेवी मण्डलले। ओढ्नेको अभावमा आगो तापेर रात कटाउने गरेको बताउँछन् उनीहरू। बगैंचाबाट बढारेर ल्याएको पातपतिङ्गर बालेर आगो ताप्न बाध्य लक्ष्मीनिया भन्छिन्, ‘धैनके भगवान् जे जान बचल छैन (धन्न भगवान् छ र हाम्रो ज्यान बाँचेको छ)।’  

भूमिहीन सुकुमबासी गुलावदेवी यस टोलकी एकल महिला हुन्। गरिबीका कारण उपचार गराउन नसक्दा उनले कलिलै उमेरमा पति राजनलाई गुमाइन्। राजनको तीन वर्षअघि मृत्यु भयो। उनको घरमा कमाउने कोही छैनन्। पाँच वर्षीय छोरा दुर्गेशको दायाँ हात चल्दैन। उनी भन्छिन्, ‘गरिब के जान भगवान् बचादेने छै (हामी गरिबको ज्यान भगवान्ले जोगाइदिएको छ)। कमाएर/मागेर ल्याएको अन्नबाट साँझबिहान खाइन्छ। काम नपाएको दिन चुलो बल्दैन।’

उनको बेहाल देखेर जोकोहीलाई दया पलाउँछ। तर स्थानीय सरकारको नजरबाट आफूहरू ओझेल परेको स्थानीय जामुन यादवले बताए। ‘चुनावके बेरमे घी लेब कि मठ्ठा, जित क गेला पर कोई न कोई (चुनावका बेला दयावान् उनीहरू जितेर पदमा पुुगेपछि कतिसम्म निर्दयी हुँदा रहेछन् भन्ने अहिले अनुभव गर्दै छु)’ उनले भने।  

यसै बस्तीकी सुकुमबासी प्रमिला मण्डलको परिवार घामपानी मुस्किलले छेक्ने छाप्रोमा बस्न थालेको बर्साैं भयो। बाटोछेउकै पाँच हात ऐलानी जग्गामा परालको छानोले बनाइएको छाप्रोमा प्रमिलाको परिवारका सातजना बस्दै आएका छन्। प्रमिलाको छाप्रोसँगै गाउँपालिका कार्यालय टाँसिएको छ। पछिया हावाको सिरेटोले नछेक्ने छाप्रोमा तीन महिनाको नातिलाई काखमा च्यापेर आफू थरथरी काँप्छिन्, प्रमिला। छोराछोरीको पनि उस्तै हालत छ । ती कसैका आङमा न्यानो लुगा छैन। मजदुरीमा अडिएको उनको परिवारको दैनिकी कष्टकर बनेको छ।  

गाउँ विकास समितिबाट गाउँपालिका बन्यो। प्रधानबाट सरकार निर्वाचित भए। तीन वर्षमा धेरै परिवर्तन भयो, धेरै कुरा फेरिए। तर भूमिहीन सुकुमबासी लक्ष्मीनियाले कम्बल फेर्न सकेकी छैनन्। प्रमिलाले छाप्रो फेर्न सकेकी छैनन्। र, गुलावदेवीले जीवनको एक्लो सहारा छोराको उपचार गराउने हिम्मत जुटाउन सकेकी छैनन्। उनीहरूको छाप्रोभित्रको गरिबी उस्तै देखिन्छ। स्थानीय सरकार आयो तर आफूहरूले केही पनि राहत महसुस गर्न नपाएको उनीहरूको एकस्वर छ। अरूको मजदुरी गरेर जीविका चलाउँदै आएको कमाइ बिहानबेलुकाको छाक टार्दैमा सकिने उनीहरू सुनाउँछन्।  

पातलो प्लास्टिकको बेराले घेरिएको खुला ठाउँमा बस्दै आएको एक महिना बित्यो। शीतलहरसँगै चलेको पछिया हावाले थरथरी काँप्दै सिरहा नगरपालिका–१२ की भूमिहीन दुर्गीदेवी मुखिया जीवनसँग संघर्ष गर्दैै छिन्। शीतलहरको सुरुवातसँगै पुसको पहिलो साता सिरहा नगरपालिकाले डोजर लगाएर छाप्रो उजाडिदिएपछि उनी बेघर बनेकी हुन्। घाम लाग्दा त जसोतसो बस्दै आएको उनको दैनिकी शीतलहर चलेपछि झन् कष्टकर भएको छ ।

गाउँघरमै सरकार आएपछि सुविधा र सहुलियत पाइन्छ भनेर सुनेकी दुर्गीदेवी भन्छिन्, ‘गामके सरकार सेहो धनिकहेके हित करैछै, गरिबके देखैबाला कोई नै (दैलोको सरकार पनि धनीकै लागि आयो, गरिबलाई हेर्ने कोही भएन)।’ सुकुमबासी उनी घर उजाडिएको भन्दा पनि व्यवस्थापन बेगर दैलोको सरकारले छाप्रो भत्काइदिएकोमा दुःखी छिन्। ‘उजारैएकै छेलै त जाड जाई दैतियै (हाम्रो छाप्रो भत्काउनु नै थियो भने शीतलहर हटेपछि भत्काउँदा हुन्थ्यो नि)’ उनी भन्छिन्, ‘विकासके बास्ते हमर घरे बलाय छेलै त अखनीतक कोनो काज सुरु किया नै भेलै (विकासमा हाम्रो छाप्रो नै अवरोध थियो भने अहिलेसम्म काम सुरु किन भएन) ?’  

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जिल्लाका १७ वटै स्थानीय तहलाई शीतलहरबाट प्रभावितको लागत राखेर आवश्यक राहत वितरण गर्न भनेका छन्। प्रजिअ कँडेलले प्रशासन कार्यालयमा आउने विपन्न व्यक्तिलाई मनकारीबाट प्राप्त कम्बल ओढाएरै पठाइरहेका छन्।

गरिबको सहारा ‘गाँती’ र ‘घुर’

‘गाँती’ टाउको, कान र शरीर छोपिने गरी घाँटीको पछाडि गठरी लगाइदिएर बाँधिने कपडा हो। गाँतीले बालबालिकाको घाँटी कसिने जोखिम रहन्छ। आगो ताप्न घुरमा बस्दा गाँतीको टालो लत्रिएर आगोमा पर्दा आगलागीबाट शरीर जल्ने खतरा पनि त्यत्तिकै हुन्छ। तापनि जाडो छल्न मधेसको ग्रामीण भेगमा बालबालिकालाई गाँती बाँधिदिने चलन अझै छ। जाडो छल्न न्यानो कपडा चाहिन्छ। हुनेखानेले बाक्लो लुगाफाटोले शरीर न्यानो बनाउँछन्। तर हुँदा खानेहरूका बालबालिका गाँती बाँधेर शरीर न्यानो बनाउँछन्। उनीहरूका लागि शीतलहर ‘कहर’सरह नै हुन्छ।

विशेषगरी विपन्न, गरिब समुदायका व्यक्तिले छोराछोरीलाई गाँती बाँधिदिने गरेका छन्। गाँतीले केही हदसम्म उनीहरूलाई कठ्याङ्ग्रिँदो चिसोबाट जोगाउँछ। गाँतीले बालबालिकाको जीवन कष्टपूर्ण मात्र होइन, जोखिमपूर्ण पनि बनाएको छ। तापनि उनीहरूलाई बाँधिने गाँतीको सट्टा ज्याकेट, टोपीलगायत न्यानो लुगाको व्यवस्था गर्न स्थानीय सरकारले चासो देखाएको देखिन्न।  

गरिबीका कारण पर्याप्त न्यानो लुगा नहुनेहरू विकल्पको रूपमा घुर बालेर ज्यान जोगाउने प्रयास गर्छन्। तर त्यही घुर विपन्नहरूका लागि ज्यानमारासमेत साबित भइरहेको छ। मधेसको विपन्न बस्तीमा बर्सेनि आगो ताप्न बालिने घुरमा जलेर मानिसले ज्यान गुमाउँदै पनि आएका छन्।  

जाडोबाट जोगिन बालेको घुरबाट आगो सल्केर घरमा फैलिँदा गत बुधबार मिर्चैया नगरपालिका–७ का ८ वर्षीय बालकको मृत्यु भयो। मोहम्मद रफिक राइनको घरमा बालेको घुरबाट सल्केको आगोमा जलेर ८ वर्षीय उनका छोरा जाबिर राइनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए। घुरबाट फुसको छानो भएको घरमा आगो सल्किँदा सुतिरहेका उनी ओछ्यानमै जलेका थिए। रफिकका चार छोराछोरीमध्ये मृतक जाबिर जेठा हुन्। खरको छानो भएको उनको फुसको छाप्रो पूर्णरूपमा जलेको छ। घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा सबै जलेर नष्ट भए।  

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंसिर २८ गते कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो जाडोबाट जोगिन बालेको घुरबाट जलेर गम्भीर घाइते भए। काठमाडौं कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो। जाडोबाट जोगिन बालेको घुरबाट जलेर भगवानपुर गाउँपालिका–१ का उदयकुमार यादव, कविताकुमारी यादव, सिर्जनाकुमारी यादव, अनुष्का यादव र सुखीपुर नगरपालिका–५ का पिंकी मण्डल घाइते भएका थिए। घाइतेको अहिले पनि उपचार भइरहेको छ।

प्रकाशित: ४ माघ २०७७ ००:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App