आठ महिनाअघि सुनसरीको झुम्का कारागारबाट भागेका ४२८ जना कैदीबन्दी अझै फरार रहेका छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीमध्ये एक हजार ३६८ जना कैदीबन्दी भने सम्पर्कमा आइसकेका छन्।
झुम्का जेलबाट एक हजार सात सय ९६ जना भागेका थिए। जसमध्ये ५० जनाको हाराहारीमा भारतीय कैदीबन्दी रहेका जेलर सुभाष लामिछानेले जानकारी दिए।
कतिपयलाई गाउँले र चिनजानका व्यक्तिहरुकोे सम्पर्कबाट पक्राउ गरिएको उनले बताए। उनले भने,‘भारत गएका कैदीबन्दीलाई फर्काउन गाह्रो भएता पनि नेपालका भने क्रमशः एकपछि अर्को पक्राउ पर्दै छन्।’
सुरुवाती चरणमा प्रहरीले भागेका सबैजसो कैदीबन्दीका आफन्तको नम्बर पत्ता लगाएर जिल्ला प्रहरी कार्यालयमार्फत फोन गरेको थियो। ‘हामीले कैदी बन्दी फर्काउन लगभग एक हजार २ सय फरार रहेका बेला सवैका आफन्तलाई फोन गरेपछि धेरै फर्किएर आए,’ उनले भने, ‘त्यसपछि पनि हामीले निरन्तर रूपमा निगरानी गर्दै आएका छौँ।’
भागेका कैदीबन्दीको गुनासोबारे प्रायः गाउँबाट सूचना पर्याप्त आउने गरेको उनले बताए। सहरी क्षेत्रबाट भने सूचना कम आउने गरेको उनको भनाइ छ।
तोकिएको समयभित्र नफर्किने कैदीबन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम कारबाही हुनेछ।
झुम्का कारागारको ‘ए’ र ‘बी’ कारागारमा अहिले एक हजार छ सय हाराहारी कैदीबन्दी रहेका छन्।
प्रकाशित: ३१ वैशाख २०८३ १८:४२ बिहीबार





