७ वैशाख २०८१ शुक्रबार
समाज

सम्झना २०२०: वैदेशिक रोजगारीमा अँध्यारो वर्ष

मलेसियाबाट बिहीबार फर्केका श्रमिक । तस्बिर : रुद्र खड्का/नागरिक

तनहुँ, खैरेनीटारका दिलबहादुर परियार ५ महिनादेखि समस्यामा छन् । कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट सात महिनामै घर फर्कन बाध्य उनी यतिखेर कर्जा तिर्न नसकेर समस्यामा परेका हुन् ।  

‘रोजगारीका लागि दुवई जानुअघि ८० हजार रुपैयाँ ऋण लिएको थिएँ,’ उनले भने, ‘ऋण चुक्ता गर्न नपाउँदै रोजगारी गुमाउनुपर्दा आर्थिक संकट आइलागेको छ ।’ उनले विदेश जानुअघि लिएको ऋण बढेर यतिखेर एक लाख रुपैयाँभन्दा बढी भएको छ ।  

रामेछाप, मन्थलीका शिव पुर्जालाई पनि यतिखेर के गरौं र कसो गरौं भइरहेको छ । कोरोना महामारीले वैदेशिक रोजगारीमा समस्या निम्त्याएपछि उनी चार महिनाअघि घर फर्किएका हुन् । उनले पनि वैदेशिक रोजगारीमा जाँदा लिएको कर्जा चुक्ता हुन नपाउँदै घर फर्कनु परेको बताए ।  

‘एकातिर अघिल्लो वर्ष लिएको कर्जा चुक्ता गर्न पाएको छैन भने अर्कोतर्फ चार महिनादेखि कुनै काम नपाएर बेरोजगार छु,’ उनले भने, ‘यतिखेर दैनिक गुजारा चलाउन पनि समस्या भइरहेको छ ।’ 

कोरोना महामारीपछि विदेशमा रोजगारी गुमाएर फर्कनेको संख्या दिनप्रतिदिन बढ्न थाले पनि सरकारले अझै रोजगारीको प्रबन्ध मिलाउन सकेको छैन । जसले गर्दा विदेशबाट फर्केका ठूलो संख्याका युवा बेरोजगार भएर बस्न बाध्य छन् । 

कोरोना महामारीका कारण साउदी अरेबियाबाट फर्केका उनले घर फर्केपछि रोजगारीका लागि विभिन्न निकाय चाहारे पनि सुहाउँदो काम नपाएको गुनासो गरे । ‘साउदीमा रहँदा घरमा रङ लगाउने काम गर्थें,’ उनले भने, ‘यहाँ पनि त्यस्तै काम खोजिरहेको छु । तर अहिलेसम्म फेला परेको छैन ।’ काम नपाएर बेरोजगार हुँदा छोराछोरीको विद्यालयको शुल्क तिर्न पनि निकै समस्या परेको उनको भनाइ छ ।  

कोरोना महामारीपछि रोजगारी गुमाएर फर्केकामध्ये आर्थिक संकटमा परेका यी दुई उदाहरण मात्र हुन् । महामारीका कारण एकातिर कैयौं नेपालीले विदेशमा रोजगारी गुमाउनु पर्‍यो भने अर्कोतर्फ विदेशमा रोजगारी गुमाएर फर्केपछि पनि बेरोजगार नै बस्नुपरेको छ । त्यति मात्र नभई कोरोना महामारीकै कारण सन् २०२० पूरै वर्ष वैदेशिक रोजगारीमा जान नपाउँदा लाखौं युवा बेरोजगार भए ।

वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि नेउपानेका अनुसार यो वर्ष (मंसिरसम्म) नयाँ र पुराना गरी करिब ३५ हजार युवायुवती श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । ‘यीमध्ये पनि २५ हजारजति त पुनः श्रम स्वीकृति लिने हुन्,’ उनले भने, ‘केही महिनायता पुनः वैदेशिक रोजगारीमा जाने क्रम बढ्न थालेको छ । त्यसैले गर्दा वैदेशिक रोजगारी पुनः पहिलेकै गतिमा आउला कि भन्ने अपेक्षा गर्न सकिन्छ ।’ 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार हालसम्म भारतबाहेक तेस्रो मुलुकबाट १ लाख ५० हजारभन्दा बढी युवा घर फर्किएका छन् । कोरोना महामारीपछि भारतबाट करिब पाँच लाख घर फर्किएको अनुमान छ । स्वदेशमा रोजगारी नपाएपछि भातरबाट फर्केका भने पुनः उतै जान थालेका छन् । 

अघिल्लो वर्ष नयाँ १ लाख ९० हजार ४ सय ५३ सहित श्रम स्वीकृति लिएर कुल ५ लाख ५८ हजार ८ सय ८६ जना वैदेशिक रोजगारीमा गएका थिए । निर्देशक नेउपानेले यतिखेर स्वदेश फर्केकालाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहसँग समन्वय गरिरहेको बताए । ‘यति मात्र नभई वैदेशिक रोजगारीलाई सहज बनाउन गन्तव्य मुलुकमा रहेका राजदूतावाससँग मागपत्र प्रमाणित गर्न समन्वय गरिरहेका छौं,’ उनले भने ।  

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ सन् २०२० वैदेशिक रोजगारीको क्षेत्रमा अहिलेसम्मकै सबभन्दा बढी क्षति पुगेको वर्ष भएको बताए । ‘सन् २००८ मा मलेसियामा आर्थिक मन्दी आउँदा वैदेशिक रोजगारीको क्षेत्रमा केही समस्या आएको थियो,’ उनले भने, ‘तर, सन् २०२० श्रमिक र व्यवसायीका लागि निकै कष्टकर बन्न पुग्यो ।’  

सन् २०२० मा म्यानपावर व्यवसायीको पहलका कारण विदेशमा कैयौं श्रमिकको रोजगारी गुम्न नपाएको उनको दाबी छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा समस्या सिर्जना भएको उल्लेख गर्दै उनले म्यानपावरले राखेको धरौटी केही समयका लागि भए पनि सरकारले फिर्ता गर्नुपर्ने माग गरे । ‘यस्तो बेलामा म्यानपावरले राखेको नगद धरौटीमध्ये कम्तीमा ५० प्रतिशत दुई वर्षका लागि फिर्ता दिँदा न्याय हुन्छ,’ उनले भने, ‘यदि सरकारले अझै पनि बेवास्ता गर्ने हो भने वैदेशिक रोजगारीमा तत्काल सुधार हुन कठिन छ ।’ म्यानपावर सञ्चालनका लागि व्यवसायीले कम्तीमा ५० लाखदेखि दुई करोड रुपैयाँसम्म नगद धरौटी राखेका छन् ।  

कोरोना महामारीपछि विदेशमा रोजगारी गुमाएर फर्कनेको संख्या दिनप्रतिदिन बढ्न थाले पनि सरकारले अझै रोजगारीको प्रबन्ध मिलाउन सकेको छैन । जसले गर्दा विदेशबाट फर्केका ठूलो संख्याका युवा बेरोजगार भएर बस्न बाध्य छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार हालसम्म भारतबाहेक तेस्रो मुलुकबाट १ लाख ५० हजारभन्दा बढी युवा घर फर्किएका छन् । कोरोना महामारीपछि भारतबाट करिब पाँच लाख घर फर्किएको अनुमान छ । स्वदेशमा रोजगारी नपाएपछि भातरबाट फर्केका भने पुनः उतै जान थालेका छन् ।  

सरकारले चैतदेखि असारसम्म वैदेशिक रोजगारीबाट फर्कनेलाई रोक लगाएको थियो । असारपछि महिला, गर्भवती तथा बिरामीलाई घर फर्कन दिएको सरकारले असोज १५ पछि बिनारोकटोक सबैलाई घर फर्कन दिइरहेको छ । केही दिनदेखि हवाई कम्पनीले नियमित उडान सुरु गरिरहेका छन् । हवाई कम्पनीले हवाई उडान सुरु गरेपछि विदेशबाट फर्कको संख्या वृद्धि भइरहेको अधिकारीहरू बताउँछन् ।  

ठूलो संख्याका युवा घरमै बेरोजगार भएर बस्दा समस्या थपिँदै जाने भएकाले जतिसक्दो चाँडो पुनः एकीकरण र कोभिडपछिको अवस्थालाई लक्षित गर्दै विशेष योजना ल्याउन माग गरिएको छ । श्रमविज्ञ तथा अधिवक्ता सोम लुइँटेलले मलेसिया समस्या सेलाउन नपाउँदै सुरु भएको कोरोना महामारीले निम्त्याएको समस्यामा सरकारले एकातिर उद्धार र अर्कोतर्फ पुनः एकीकरणलाई जोड दिनुपर्ने बताए ।  

साढे दुई वर्षअघि तत्कालीन सरकारले मलेसियामा कामदार पठाउने भेन्डर परिवर्तन गर्न खोज्दा करिब १६ महिना मलेसियामा रोजगारी रोकिएको थियो । मलेसियामा रोजगारी सुरु भएको केही महिनामै कोरोना महामारी फैलिएपछि वैदेशिक रोजगारी ठप्प हुन पुगेको थियो ।  

लुइँटेलले अझै पनि बेरोजगार युवाले स्वदेशमै रोजगारी पाउनसक्ने ग्यारेन्टी नभएकाले वैदेशिक रोजगारीमा समस्यामा परेका श्रमिकलाई कोरोनाले असर नगरेका क्षेत्रमा सार्न सक्नुपर्ने बताए । ‘होटल र पर्यटन क्षेत्रमा काम गर्ने श्रमिक समस्यामा परेका छन् भने कृषि, निर्माणजस्ता सेक्टरमा सार्न सरकारले पहलकदमी लिनुपर्छ,’ उनले भने ।

सरकारी अधिकारीहरूले वैदेशिक रोजगारीबाट फर्केकालाई विभिन्न कार्यक्रममार्फत रोजगारी दिने बताउने गरे पनि तत्काल त्यस्ता कुनै योजना ल्याउन सकेका छैनन् । सरकारले विदेशबाट फर्किएकालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भनिए पनि त्यो कर्जा कसरी प्राप्त गर्ने भन्नेबारे अहिलेसम्म अन्योल कायमै छ ।  

दुई वर्षअघि विदेशबाट फर्किएका युवालाई कृषिलगायत उत्पादनका काम गर्न सहुलियत कर्जा दिने कार्यक्रम घोषणा गरिएको थियो । अहिलेसम्म दुई सयले मात्र सहुलियत कर्जा पाएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यतिखेर ७ लाख रुपैयाँसम्मको सहुलियत कर्जा पाउन वैदेशिक रोजगारीबाट फर्किएका १८ हजार बढीले आवेदन दिएका थिए ।  

रेमिट्यान्स वृद्धि कायमै

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहँदा रेमिट्यान्स वृद्धि भने कायमै छ । राष्ट्र बैंकले पुस पहिलो साता प्रकाशित गरेको चालु आवको पहिलो चार महिना (साउन–कात्तिक) सम्मको विवरणअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा ७५.८ प्रतिशतले घटे पनि रेमिट्यान्स आप्रवाह ११.२ प्रतिशतले बढेको छ ।  

पछिल्लो चार महिनामा अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा रेमिट्यान्स ११.२ प्रतिशतले वृद्धि भएर तीन खर्ब ३७ अर्ब रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ । आव २०७६/७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।  

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा कोरोना महामारीपछि युवा विदेश जान नपाए पनि गन्तव्य मुलुकमा रहेकाले थप मेहनतका साथ काम गरेकाले रेमिट्यान्स नघटेको बताउँछन् । त्यस्तै कोरोना महामारीपछि हुन्डी कारोबार हुन नपाएको र श्रमिकले कमाएको रकम जथाभावी खर्च गर्न नपाउँदा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको उनले बताए । यो वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा आएको गिरावटले अर्को वर्षदेखि रेमिट्यान्स घट्नसक्ने अनुमान गरिएको छ ।  

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब ५० लाख युवा विदेश (भारतबाहेक) गएका छन् । तीमध्ये २५ देखि ३० लाख गन्तव्य मुलुकमै रहेको अनुमान छ ।

प्रकाशित: १७ पुस २०७७ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App