१६ चैत्र २०८० शुक्रबार
समाज

विस्तार गरिँदै जुम्ला विमानस्थल

सदरमुकाम खलङ्गास्थित जुम्ला विमानस्थल विस्तारका लागि काम अघि बढेको छ। सो विमानस्थल विस्तारका लागि सर्भेलगायत कार्य तीव्र बनाइएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए। उनले, ‘विमानस्थल चालू आवदेखि बहुवर्षीय आयोजनाका रुपमा विमानस्थल विस्तारको काम सुरु भएको छ।’ कर्णालीका हिमाली जिल्लाको विमानस्थलमध्ये जुम्ला विमानस्थल सबैभन्दा सहज विमानस्थल मानिएको छ।  

बढी चाप भएको भन्दै विमानस्थल विस्तारका लागि सङ्घीय सरकारले यो वर्ष रु एक करोड बजेट विनियोजन गरेको छ। सङ्घीय सरकारको शेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ। विस्तृत अध्ययनका लागि यो वर्ष रु १७ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ। प्राधिकरणको आफ्नै स्रोतबाट विमानस्थलमा ‘फायर सेड’ निर्माणको काम गत वर्षदेखि भइरहेको कार्यालय प्रमुख सिंहले बताए।    

जुम्लाबाट जहाजमा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएकाले लामो समयदेखि विमानस्थल विस्तारको माग गरिएको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताए। लामो प्रयासपछि विमानस्थल विस्तारको कामले गति लिएको नगर प्रमुख सेजुवालले बताए। जुम्लावासीको हवाई यात्रा सहज र गुणस्तरीय हुने विश्वास रहेको सेजुवालले बताए। जुम्ला विमानस्थलमा नियमितरुपमा १६ सिटे जहाज अवतरण हुने गरेका छन्। अहिले सीता, तारा र समिट एयरलाइन्सका साना जहाज चलिरहेकामा विमानस्थल विस्तार भएपछि अन्य निजी कम्पनीका ठूला जहाज पनि सञ्चालनमा आउने आशा गरिएको स्थानीयवासी हर्क शाहीले बताए। रासस 

प्रकाशित: ३ पुस २०७७ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App