८ वैशाख २०८१ शनिबार
समाज

सन्तोष साह : सिरहादेखि बीबीसी मास्टर सेफ यात्राका आरोह अवरोह

सायद एसएलसी परीक्षा उत्तिर्ण भएको भए सन्तोष साहको जीवनले नयाँ मोड लिने थियो। तर उनले आफ्नो शैक्षिक जीवनमा त्यो सपना पुरा गर्न पाएनन्। घरको आर्थिक अवस्थाका कारण उनलाई सानै उमेरमा दवाव पनि थियो। परीक्षाका लागि अर्को वर्ष कुर्ने समय उनीसँग थिएन। त्यसैले उनी १५/१६ वर्षकै उमेरमा सिरहाको कर्जन्हाबाट भारततर्फको यात्रा तय गर्न विवश भए। यही यात्राले उनलाई आज चर्चित 'सेफ' बनाएको छ।  

अहिले साह बीबीसी मास्टर सेफको फाइनल राउन्डमा पुगेका छन्। फाइनल राउन्डको टप ६ मा पर्नु नै आफ्नो लागि एउटा सफलता भएको उनले बताए। लन्डनका सेलिब्रेटी सेफ साहको यो यात्रा निकै रोमाञ्चक छ।

'एसएलसी परीक्षा पास गर्न पनि सकिएन। त्यसपछि अर्को परीक्षाको लागि एक वर्ष कुर्नु पर्ने भयो। तर म त्यसो गर्न सक्ने अवस्थामा थिइन', साह भन्छन्, 'अनी म साथीहरुसँगै गुजरातको अहमदावाद पुँगे।'

अहमदावादमा उनले एउटा रेष्टुरेन्टमा काम पाए। उनको काम थियो, भाँडा माझ्ने। 'गाउँका साना होटल देखेको मलाई त्यहाँ भाँडा माझ्नेको पनि सुपरभाइजर देख्दा अचम्म लाग्यो', उनले भने, 'करिब ३ महिनापछि हेड सेफलाई भने मलाई पनि खाना पकाउन मन छ। मेरो कुरा उनले मानेर चान्स दिए।'

उनी आफ्नो परिकारमा 'कला, संस्कृति र बाल्यपन' ले प्रभाव पार्ने बताउँछन्। 'सानो छँदा आमाले एकातर्फ चुल्होमा खाना पकाउनु हुन्थ्यो। त्यसमा हाम्रो गाउँका खाने कुरा हुन्थे,' उनले भने, 'आमा विरामी हुँदा म पकाउँथे। यसले पनि मलाई प्रभाव पारेको छ।'

हेडसेफले दिएको चान्सलाई उनले मिस गरेनन्। जति सकिन्छ उनले त्यहाँ सिके। साह यत्तिमा सिमिति भएनन्। उनले भान्सामा प्रवेश पाउना साथ तय गरिसकेका थिए, 'अबको मेरो भविष्य यही हो।' त्यसैले त उनी लागिरहे। सोमबार नागरिक न्यूजसँग कुरा गर्दै उनले भने, 'व्यवहारिक र सैद्धन्तिक ज्ञान बढाउन तर्फ म लागे। होटलमा काम गर्दै अग्रेंजी भाषा सिके। अर्कोतर्फ होटल म्यानेजमेन्ट कोर्ष गर्न थाले। यसले व्यवसायिक जीवनमा धेरै सहयोग गर्यो।'

साह खासमा भारतीय खानाका विज्ञ हुन् अर्थात 'इन्डियन सेफ' हुन्। उनले त्यही सिके र भान्सा त्यही बनाए। तर चर्चित प्रतियोगिता मास्टर सेफमा भने उनी नेपाली परिकार लिएर उपस्थित भए। किन उनलाई प्रश्न गरियो। 'पाँच वर्षदेखि मास्टर सेफमा जान तयारी गरिरहेको थिए। त्यसका लागि भारतीय खानाको तयारी थियो। तर पछि लाग्यो नेपाली परिकार किन नबनाउने ?', उनले भने, 'त्यसपछि दुई वर्षदेखि नेपाली खानाबारे अनुसन्धान गरे। खाना पकाउन सिके। हिमाल, पहाड र तराईका परिकारबारे जाने।' उनले यस अघिको सोमा सेलेब्रिटी सेफ एन्ड्रू वङलाई नेवारी खाना योमरी बनाएर देखाएका थिए। त्यसले नै उनलाई टप ६ मा पुर्याएको थियो।

उनी आफ्नो परिकारमा 'कला, संस्कृति र बाल्यपन' ले प्रभाव पार्ने बताउँछन्। 'सानो छँदा आमाले एकातर्फ चुल्होमा खाना पकाउनु हुन्थ्यो। त्यसमा हाम्रो गाउँका खाने कुरा हुन्थे,' उनले भने, 'आमा विरामी हुँदा म पकाउँथे। यसले पनि मलाई प्रभाव पारेको छ।'

भारतमा ९ सय तलबबाट उनले काम सुरु गर्दा हेड सेफको तलब १७ हजार हुन्थ्यो। उनले विस्तारै आफुलाई दक्ष बनाउँदै लगे। त्यहाँ रहँदा ३५ हजारसम्म आफ्नो पारिश्रमिक भएको साह बताउँछन्। सँगै नयाँ कुराका लागि उत्सुक साहलाई विदेश पुगेर भान्सामा काम गर्न मन लाग्यो। उनी एजेन्ट मार्फत मन्टेनेग्रो पुगे। तर त्यहाँ उनले सोचे जस्तो भएन। त्यै पनि जेनतेन एक वर्ष कटाए। मन्टेनेग्रोबाट नै भारतमा सेफको जागिर मिलाएर फर्किए। भारत आएपछि उनले एउटा फुड फेस्टिफल गरे। जसलाई भारतका टेलिभिजनले पनि कभर गरे। त्यही साँझ उनलाई कसैले फोन गरेर भन्यो, 'लन्डन जाने हो ?', उनले सहज उत्तर दिए 'लन्डन जान पाए को जाँदैन र।' त्यही रात ११ बजे ति व्यक्ति र साहको भेट भयो। एक पटक विदेश पुगिसकेका साहले सबै कागजपत्र तयारी गरेकै थिए। ति व्यक्तिले कामका लागि चाहिने कागजपत्र मिलाएपछि साहले दूतावासमा भिसाका लागि आवेदन दिए। उनको आवेदन स्वीकृत पनि भयो। उनी उडे लन्डन।  

लन्डनमा उनले त्यो रेष्टुरेन्टमा सोचे जस्तो भएन। सँधै अगाडि जाने चाहना राख्ने साहले डिशुम नामक चेन रेष्टुरेन्टमा काम गर्न थाले। उनले एक फ्रेन्च रेष्टुरेन्टमा पनि काम गरे। तर त्यो रेष्टुरेन्टमा अन्य ठाउँको भन्दा उनले आधा तलब पाउँथे। तर उनले काम गरे। यसको जवाफ छ उनीसँग। 'त्यहाँ सेलिब्रेटी सेफ थिए। नयाँ कुरा सिक्न पाइन्थ्यो यसैले त्यहाँ काम गरे,' उनले भने।

अब उनलाई लन्डनमा नेपाली रेष्टुरेन्ट खोल्ने इच्छा छ। अझ नेपाली रेष्टुरेन्टको चेन बनाएर त्यसलाई फ्रेन्चाइज दिने सपना रहेको उनी बताउँछन्। नेपाली खानाको बजार सानो भएका कारण यो खुम्चिनु परेको उनको बुझाई छ। तर यसलाई समय अनुसार बजारमा लैजाँदा माग बढ्ने उनी बताउँछन्।

 

 

 

 

प्रकाशित: ३० मंसिर २०७७ ०६:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App