८ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपामा खगेन्द्रको इन्कारी पत्र: प्रहरीमा भ्रष्टाचारसम्बन्धी विषय उठाएपछि आफूमाथि प्रहार भइरहेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादमा आफ्नो आवाज नरहेको दाबी गर्दै पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। उनको दाबीपछि अब छानबिन समितिले अडियोको सत्यता परीक्षण र स्वतन्त्र प्रमाण संकलनलाई प्राथमिकता दिएको छ।

सुनार र एक महिलाबीचको भनिएको संवाद सार्वजनिक भएपछि रास्वपाले घटनाबारे आन्तरिक छानबिन अघि बढाएको थियो। अनुशासन आयोगले गठन गरेको समितिसमक्ष सुनारले विवादित अडियोमा सुनिएको बोली आफ्नो नभएको जिकिर गरेका हुन्।  

छानबिन समितिका संयोजक तथा आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सुनारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्नो प्रतिवादसँग मिल्दोजुल्दो विवरण लिखित पत्रमा पनि उल्लेख गरेका छन्।

सुनारले यसअघि सार्वजनिक अडियो कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरी तयार पारिएको दाबी गरेका थिए। प्रहरीमा भ्रष्टाचारसम्बन्धी विषय उठाएपछि आफूलाई लक्षित गरेर प्रहार भइरहेको उनको जिकिर छ। उनले सार्वजनिक भएका आरोपहरू झुटा रहेको दाबीसमेत गरेका छन्।

सुनारको इन्कारीले मात्रै विवादको टुंगो नलाग्ने भएपछि समितिले अडियोको स्रोत र प्रामाणिकता जाँच्ने प्रक्रिया अघि बढाएको छ। समितिले सम्पादन गर्नुअघिको अडियो प्राप्त गरेको र विवादसँग जोडिएकी भनिएकी महिलाको अन्तर्वार्ताको अडियो उपलब्ध गराउन पत्राचार गरेको जनाएको छ।

संयोजक भट्टराईका अनुसार प्राप्त अडियोको आन्तरिक परीक्षण गरिनेछ। आवश्यक परे प्राविधिक जाँचका लागि सम्बन्धित निकायको सहयोग लिइनेछ। त्यसपछि सुनारसँग थप सोधपुछ गर्ने समितिको तयारी छ।  

यस प्रकरणमा सुनारको दाबी र सार्वजनिक सामग्रीबीचको वास्तविकता स्थापित गर्न अडियोको प्राविधिक परीक्षण महत्त्वपूर्ण हुने देखिएको छ। छानबिन समितिले भने अहिलेसम्मको प्रक्रियाबाट अन्तिम निष्कर्षमा पुगिनसकेको जनाएको छ।  

विवाद सार्वजनिक भएपछि रास्वपाले अनुशासन आयोगलाई छानबिन गर्न निर्देशन दिएको थियो। छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन पनि पार्टीले निर्देशन दिएको छ।  

अब छानबिनको मुख्य प्रश्न अडियोमा सुनिएको आवाज कसको हो र त्यसको प्रामाणिकता कसरी पुष्टि हुन्छ भन्ने हो। अन्तिम निष्कर्ष भने प्राविधिक परीक्षण, उपलब्ध प्रमाण र थप सोधपुछपछि मात्रै आउनेछ।

प्रकाशित: ८ कार्तिक २०८३ १५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App