८ वैशाख २०८१ शनिबार
समाज

चेपाङ बालबालिकालाई विद्यालय पोशाकसहित राहत सामग्री

नागरिक समाचार प्रभाव

चेपाङ बालबालिकालाई विद्यालय पोशाकसहित राहत सामग्री वितरण गरिँदै। तस्बिर : नागरिक

व्यास नगरपालिका ९ ठाँटीचौरको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका चेपाङ बालबालिकालाई विद्यालय पोशाकसहित राहत सामग्री वितरण गरिएको छ। एक साता अगाडी नागरिकन्यूजमा ‘जाडोमा पनि खालीखुट्टा विद्यालय जान बाध्य चेपाङ बालबालिका’ शिक्षकको समाचार हेरेपछि विभिन्न व्यक्तिहरुले चेपाङ बालबालिकालाई सहयोग गरेका हुन्।  

काठमाडौंको तारेकेश्वर नगरपालिका ९ स्थित पाँचकन्या जागरण मञ्चका अध्यक्ष उज्जवल शाली अधिकारीले समाचार पढेपछि ११ जना बालबालिकालाई एकएक सेट विद्यालय पोसाक उपलब्ध गराए। अधिकारीले पठाएको रकमले सुइटर, सर्ट, पाईन्ट, जुत्ता र मोजा ११ जना बालबालिकालाई एक÷एक सेट वितरण गरिएको हो। त्यस्तै कालिगण्डकी बहुप्राविधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलले दश मिटर म्याट उपलव्ध गराए। नेपाल रेडक्रस सोसाइटी कलेस्ती उपशाखा सभापति बावुराम खनालले अधिकारी र पौडेलले उपलब्ध गराएको विद्यालय पोशाक र म्याट प्रदान गरे।  

त्यस्तै व्यास ९ माझफाँट निवासी सावित्रा जिसिले विद्यार्थी बालबालिकाको लागि ११ वटा व्लाङ्केट, व्यास ९ की रमा जिसीले प्रति विद्यार्थी एक जोर हाईनेक र ट्राउजर हस्तान्तरण गरेका हुन्।

खालीखुट्टा विद्यालय जानुपर्ने बाध्यता भएपनि अब भने जुत्तासहित नयाँ पोशाक लगाएर विद्यालय जान पाइने लक्ष्मी आधारभूत विद्यालय कक्षा ३ मा पढ्ने बेलकुमारी चेपाङले बताइन्। ‘चिसोका कारण विद्यालय जान समस्या भएपनि अब भने न्यानो कपडा लगाएर नियमित स्कुल आउछौँ,’ उनले भनिन्।

काठमाडौंको तारेकेश्वर नगरपालिका-९ स्थित पाँचकन्या जागरण मञ्चका अध्यक्ष उज्वल शाली अधिकारीले बालबालिका खालीखुट्टा विद्यालय गएको समाचार पढेपछि ११ जना बालबालिकालाई एक सेट विद्यालय पोशाक वितरण गरेको बताए। ‘यस्तो जाडोमा खालीखुट्टा विद्यालय जानुपर्ने बाध्यता देखेपछि सहयोग गर्न मन लाग्यो,’ अधिकारीले भने।  

चिसोको समयमा केटाकेटीलाई न्यानो कपडा दिएर सहयोग पुगेको धनमाया चेपाङले बताइन्। ‘यस्तो चिसामा पनि लगाउने सुइटर थिएन अब भने जाडोबाट राम्रोसंग छोराछोरीलाई जोगाउन सकिने भयो,’ उनले भनिन्।  

चितवनबाट बसाई सरेर गत फागुनमा व्यास ९ बडहरेमा आएका चेपाङ समुदायका ५ परिवार  का बालबालिका स्थानीय लक्ष्मी आधारभूत विद्यालयमा पढ्दै आएका छन्। नर्सरीबाट ३ कक्षासम्म ११ जना चेपाङ बालबालिका स्थानीय लक्ष्मी आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका छन्।

यो पनि पढ्नुहोस्

जाडोमा पनि खालीखुट्टा विद्यालय जान बाध्य चेपाङ बालबालिका

प्रकाशित: २३ मंसिर २०७७ ०२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App