१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सोती घटना: पाँचजनालाई धरौटीमा छोड्न उच्च अदालतको आदेश

उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्त मध्येका पाँचजनासँग जनही एक–एक लाख रुपैयाँ धरौटी माग गरेको छ। मुख्यन्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक्तमध्ये भीमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा एक–एक लाख धरौटी माग गरेको हो।

यसअघि सोती घटनाका विषयमा तत्कालीन मुख्यन्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच अभियुक्त मध्येका छ जनालाई थुनामै राखेर कारबाही प्रक्रिया अघि बढाउने वा जमानत वा तारेखमा राख्ने सन्दर्भमा राय बाझिएको थियो। असोज २५ गतेको संयुक्त इजलासमा तत्कालीन मुख्यन्यायाधीश चुडालले सर्वजित भनिने सवीन पुनसहित भिमबहादुर बुढा, डिल्ली घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनलाई साधारण तारेखमा छोड्नुपर्ने राय पेश गरेका थिए भने न्यायाधीश सुदर्शनदेव भट्टले उनीहरुलाई जिल्ला अदालत रुकुम पश्चिमले थुनामा राख्ने गरी गरेको आदेश सदर गर्नुपर्ने लिखित राय पेश गरेका थिए।

‘संयुक्त इजलासको राय बाझिदा एकल इजलासमा पेश गर्नुपर्ने कानुनी व्यवस्था छ, उच्च अदालतका रजिष्ट्रार माधवप्रसाद आचार्यले भने, ‘माननीय मुख्यन्यायाधीशज्यूको एकल इजलासले छ जनामध्येका एक सवीन पुनलाई थुनामै राख्न र बाँकी पाँच जनालाई धरौटीमा छोड्न आदेश दिएको छ।’ मुख्यन्यायाधीशले आफूले गरेको आदेश समर्थनका लागि सर्वोच्च अदालतको निवेदन प्रतिवेदन शाखामा पेश गर्न भनिएको छ।

मुख्यन्यायाधीश सुवेदीको एकल इजलासले घटना विवरण कागजमा प्रतिवादी सवीन पुनले भेरी नदी पार गरेर भागिरहेका व्यक्तिलाई नियन्त्रणमा लिएको, प्रतिवादी पुनले आफू नदीमा गएको र भंगालो पार गरी भागिरहेका मानिसहरुलाई समातेर प्रहरीको जिम्मा लगाएको कुरा स्वीकार गरेकाले जिल्ला अदालत रुकुम पश्चिमको आदेश मिलेको ठहर गरेको छ।

मुख्यन्यायाधीश सुवेदीको एकल इजलासबाट अन्य पाँचजनाले घटना हुँदाका बखत आफूहरु ढुंगाखानीमा काम गरिरहेको र घटनास्थलमा उपस्थित नभएको, उनीहरु अदालतमा स्वयं उपस्थितभै बयान दिएको र अन्य तत्काल प्राप्त प्रमाणबाटसमेत उनीहरु घटनास्थलमा थिए भन्ने पुष्टि नभएको आधारमा पछि ठहरेबमोजिम हुनेगरी हाललाई जनही एक–एक लाख धरौटीमा छोड्न आदेश भएको छ।

गत जेठ १० गते रूकुम पश्चिमको सोतीमा जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित गणेश बुढामगर, संजीव विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम चौरजहारी–१ का टिकाराम नेपालीको हत्या भएको थियो। घटनामा भेरी नगरपालिका–४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशिष विक, सुदिप खड्का, भेरी नगरपालिका–३ का विभाग पुन, इन्द्रगंज शाही, भेरी नगरपालिका–१३ का भोला विसी, भेरी नगरपालिका–११ का गोविन्द सुनार, भेरी नगरपालिका–३ का महेश कार्की, सल्यानको कुमाख गाउँपालिका–४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी गाउँपालिका–४ का सुनिल सुनार घाइते भएका थिए। पीडित पक्षले अन्तरजातीय विवाह गर्न आफ्नी प्रेमिका लिन गएका नवराजसहितका छ जनाको सामूहिक हत्या भएको दाबी गर्दै आएका छन्।

प्रकाशित: १३ मंसिर २०७७ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App