रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढीका कारण नेपाली पर्यटन क्षेत्रमा ठूलो असर परेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न पर्यटन कम्पनीमार्फत गोसाइँकुण्ड तथा आसपासका क्षेत्रमा गएका २९१ जना विदेशी पर्यटकसहित ३८४ जना यात्रु सम्पर्कविहीन छन् ।
९३ जना नेपाली नागरिक छन्। पर्यटन बोर्डको विवरणअनुसार विभिन्न १० वटा पर्यटन कम्पनीमार्फत यी यात्रुहरू उक्त क्षेत्रमा पुगेका थिए। सबैभन्दा धेरै ट्रेकर्स सोसाइटीमार्फत ९२ जना यात्रु रहेका थिए, जसमा ७७ जना विदेशी र १५ जना नेपाली छन्।
त्यस्तै सम्राट टुर्स एन्ड ट्राभल्समार्फत ७१ जना, लिफ होलिडेबाट ५५ जना, हिमालयन ग्लेसियरबाट ५२ जना र कैलाश जर्नीबाट ३१ जना यात्रु रहेको विवरणमा उल्लेख छ।

विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्सका ७१ यात्रुमध्ये ५९ जना भारतीय नागरिक र १२ जना नेपाली छन्। लिफ होलिडेका ५५ यात्रुमध्ये ४६ जना भारतीय र ९ जना नेपाली रहेका छन्। हिमालयन ग्लेसियरमार्फत गएका ५२ जनामध्ये ३७ जना गैरआवासीय भारतीय र १५ जना नेपाली छन्।
त्यस्तै फिस्टेल टुर्स एन्ड ट्राभल्समार्फत २७ जना, अल्पाइन इको ट्रेकमार्फत २० जना, काठमाडौँ होलिडे टुर्स एन्ड ट्राभल्समार्फत १७ जना, रिचा टुर्स एन्ड ट्राभल्समार्फत १२ जना तथा एक्सप्लोर भ्याकेसनमार्फत ७ जना यात्रु रहेको विवरणमा उल्लेख छ।
विदेशी यात्रुमध्ये भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकालगायतका नागरिक तथा अन्य देशका नागरिक रहेको विवरणले देखाउँछ। केही यात्रुको राष्ट्रियता भने अझै पुष्टि हुन बाँकी रहेको जनाइएको छ।
भीषण बाढीका कारण रसुवा–नुवाकोट सडकखण्डमा यातायात तथा सञ्चार सम्पर्क प्रभावित भएका बेला ठूलो संख्यामा पर्यटक तथा यात्रु सम्पर्कविहीन भएपछि उद्धार र खोजी कार्य थप चुनौतीपूर्ण बनेको छ।
प्रकाशित: १० भाद्र २०८३ १७:२३ बुधबार





