५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

‘नागरिकता लिन दिनभरि कुर्नुपर्छ’

जिल्ला प्रशासन कार्यालयका सेवाग्राहीको भीड। तस्विर सौजन्यः नैनसिंह बोहरा

रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारीको रूपमा भर्खरै आएका बद्रीनाथ गैह्रैले सेवाग्राहीको गुनासो सुन्न सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम तयार गरे। यसको मूल ध्यये नै सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट सहज ढंगले छिटोछरितो सेवा पाए पाएनन् सो को जानकारी लिने र सोहीअनुसार दैनिक कार्य सम्पादन गर्ने नै थियो।

जसका लागि फाराममै आठवटा प्रश्न तयार पारिएको छ। उक्त फाराममा सेवा लिन लागेको समय, कर्मचारीले सेवाग्राहीलाई गरेको व्यवहार, सेवा लिन गरिएको प्रक्रिया, कार्यालयबाट राखेको अपेक्षासहितका प्रश्न उल्लेख गरिएको छ। हेर्दा प्रमुख जिल्ला अधिकारीले केही नयाँ काम गर्न खोजे पनि पुरानै तरिकाबाट काम हुँदा सेवाग्राहीको समस्या जस्ताको त्यस्तै भएको छ। ‘राहदानी नवीकरणको काम ढिलो गरी भयो,’ नैनसिंह बोहराले भने, ‘बाहिर बस्दा बस्दा झन्झट लाग्यो।’ उनले प्रशासन कार्यालयमा सेवाग्राहीको बाक्लो भीड र कार्यालयभित्र कर्मचारीको कुर्सी खाली भएको तस्बिरसमेत सामाजिक सञ्जालमा हालेका छन्। प्रतिभा पौडेल शुक्रबार सूचना हकसम्बन्धीको निवेदन लिएर जाँदासमेत सूचना नपाएको गुनासो गरिन्। ‘मैले प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिए,’ उनले भनिन्, ‘उहाँले उक्त निवेदन दर्तासमेत गर्न मान्नु भएन।’

नागरिकताको प्रतिलिपि लिन गएकी संगीता ओलीलाई दिनभरि लाग्यो। ‘नागरिकतामा हस्ताक्षर गर्न मात्र बाँकी थियो,’ उनले भनिन्, ‘हाकिम (प्रमुख) घाम तापिरहनु भएको थियो। मलाई अहिले जानु एक घण्टापछि आउनु भनेर पठाउनु भयो।’ एकघण्टा पछि जाँदा पनि हाकिम घाम तापेरै बस्नु भएको भन्दै उनले भनिन्, ‘पछि रिसाएर भने पछि काम बन्यो।’ जिल्ला प्रशासन कार्यालयमा सहज ढंगले सेवा नपाउँदा सेवाग्राहीहरू मारमा परेका छन्। सामान्य कामका लागिसमेत घण्टौं बस्नु पर्दा झन्झटिलो हुने गरेको सेवाग्राहीहरू गुनासो गर्छन्।

छिटोछरितो नभइ ढिलो गरी काम हुँदा हैरानी खेप्नु परेको वीपेन ओली बताउँछन्। ‘राहदानी लिन जाँदा झन्झटिलो प्रक्रियाले काम भयो,’ उनले भने, ‘प्रशासनले पैसा जम्मा गर्न नेपाल बैंकमा पठायो। बैंकले सीधैं जम्मा गर्न नमानेर कोष तथा लेखा नियन्त्रण कार्यालयमा जाऊ भन्यो।’ राहदानी बनाउने पैसा जम्मा गर्न यताउता दौडधुप गर्दागर्दै समयमै काम नभएको उनको भनाई छ। प्रमुख जिल्ला अधिकारी गैह्रैले चर्चामा आउन केही नयाँ कामको सुरुवात गरे पनि त्यो प्रभावकारी नभएको उनले बताए। प्रशासनको काम समयमै नसकिँदा अन्य कामसमेत प्रभावित हुने उनको भनाइ छ। ‘प्रशासनको काम सकेर अरु काम गर्ने योजना थियो,’ उनी भन्छन्, ‘एकैछिनको कामलाई दिनभरि लाग्दा अरु काम सबै रोकिए।’

यता प्रमुख जिल्ला अधिकारी गैह्रेले सेवाग्राहीहरूलाई काम सकेर मात्र पठाउने गरेको बताए। ‘अहिले सेवाग्राहीको भीडभाड छ। स्वभावैले पहिलाजस्तो त हुँदैन,’ उनी भन्छन्, ‘सेवाग्राहीको काम नसकिएकाले ४ बजे बन्द हुनुपर्ने कार्यालय ५ बजेसम्म खुला हुन्छ।’ कर्मचारीको अभाव नभएको र बिहानदेखि काम गर्दा पनि सेवाग्राही धेरै हुँदा काम केही ढिला भएको उनको भनाइ छ। सेवाग्राहीले भरेका सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम हेर्न नपाएको भन्दै उनले भने ‘उक्त फाराम मासिकरूपमा खोल्ने र कर्मचारीको बैठकबाट सम्बोधन गर्न मिल्नेसम्म सम्बोधन गर्ने योजनाले तयार पारिएको हो।’ कार्यालयबाट प्रवाह भइरहेको सेवाका सम्बन्धमा सेवाग्राहीको सन्तुष्टिको स्तर मापन गर्न र सेवा प्रवाहमा सुधार गर्न पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले उक्त फाराम बनाइएको थियो।

हाल जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा दैनिक करिब तीन सय बराबर सेवाग्राहीले सेवा लिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सशस्त्र र नेपाल प्रहरीको दरखास्त खुलेकाले पनि सेवाग्राहीको चाप बढेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जनाए।  

 

 

प्रकाशित: २४ कार्तिक २०७७ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App