१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आइसियु नपाएर टिचिङ अस्पतालका लेखाअधिकृतको निधन

अरुका लागि बेड मिलाउने राजाराम आफैँले भने सुविधा नपाएर मृत्युवरण गर्नुपर्‍यो

‘१३० पटक बढी रक्तदान गरेर सयौंको जीवन दानदिनुभयो। २०-२५ वर्षदेखि त्रिविवि शिक्षण अस्पतालमा लेखापालकारुपमा कार्य गर्दा साथीभाइको मात्र होइन गरिब र असाहयको उपचारमा सधैं सक्रिय हुनुभयो। तलवभत्ता पनि दिनदुःखीको उपचारमा सहयोग गर्ने तपाईंले नै त्रिविवि शिक्षण अस्पतालमा ८/८ घण्टा र अन्यत्रको अस्पतालमा पनि आइसियू र भेन्टिलेटर नपाएर देह त्याग गर्न बाध्य भएको सुन्दा धेरै दुख लागेको छ। हार्दिक श्रद्धाञ्जली प्रिय दाइ !’

धादिङका व्यवसायी प्रकाशकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। श्रेष्ठका लागि मात्र होइन धादिङ र त्यस आसपासका लागि मात्र होइन त्रिविवि शिक्षण अस्पतालमा उपचारका लागि पुग्ने जो कोहीलाई पनि सहयोग गर्न सक्रिय हुने नाम थियो राजाराम इटनी।

स्वास्थ्य उपचारका लागि आम जनताको भरोसा केन्द्र त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जमै लेखा अधिकृतमा कार्यरत इटनीले भने आफू कार्यरत अस्पतालमा उपचार नपाएर ज्यान गुमाउनु प¥यो भन्दा सायद कसैले पत्याउला ? तर, सोमबार राति भयो त्यस्तै।

२५ वर्षदेखि त्रिविवि शिक्षण अस्पतालमा साथीभाइ र अप्ठ्यारोमा परेकाहरूको उपचारमा सहयोगी बन्दै आएका राजाराम इटनी आफैंले भने उपचारका लागि बेड पाएनन्। शिक्षण अस्पतालको आर्थिक प्रशासनमा (हाल लेखा अधिकृत) कार्यरत भए पनि आफ्नो गृहजिल्ला धादिङका लागि मात्र होइन अफ्ठेरो प¥यो भनेर सम्झने जो कोहीलाई सहयोग गर्ने इटनीका लागि सोमबार राति सोही अस्पतालमा बेड मिलाइदिने कोही भएन। स्वासप्रस्वासमा समस्या भएपछि राति इमर्जेन्सी सेवा लिन इटनी अस्पताल पुगे। शरीरमा अक्सिजन लबेल ४५ भन्दा कम र बेहोस अवस्थामा उपचारका लागि अस्पताल पुगेका उनलाई भेन्टिलेटरसहितको आइसियू चाहिने चिकित्सकहरूले बताए। तर, अस्पतालमा भेन्टिलेटरसहितको आइसियु खाली नभएको डिउटी चिकित्सकले जानकारी दिए। इटनीको विग्रदो स्वास्थ्य अवस्था र चिकित्सकले पनि भेन्टिलेटरसहितको आइसियूको व्यवस्था गर्न सुझाएपछि उनका आफन्तले उनलाई राति नै करुणा अस्पताल पु¥याए। कोरोना भाइरस संक्रमितको उपचारका लागि छुट्याइको कोभिड वार्ड र जनरलतर्फ पनि एक÷एक भेन्टिलेटरसहितको आइसीयु अस्पतालमै खाली थियो।

त्रिपुरासुन्दरी –२ धादिङ स्थायी घर भएका इटनी उपचारका लागि राति अस्पताल आएपनि थप उपचारका लागि आइसियू अभावले बाहिर पठाएको डिउटी अफिसरले बिहान ब्रिफिङ गरे। तर, आइसियू इन्चार्ज डा. सुवास आचार्यले कोभिड र ननकोभिड दुबैतिर एकएक भेन्टिलेटरसहितको आइसियु खाली रहेको जानकारी गराएका थिए। त्यसपछि अस्पताल प्रशासनले इटनीको उपचार शिक्षण अस्पतालमै गराउने गरी आर्थिक प्रशासन प्रमुख लेखाअधिकृतलाई लिन करुणा अस्पताल पठाएका थिए। जुन बेला ५४ वर्षे इटनीको भेन्टिलेटरसहितको आइसीयु खोज्दाखोज्दै उपचारमा ढिलो हुँदा मंगलबार बिहान करुणा अस्पतालमा निधन भइसकेको थियो।

अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले आफ्ना लेखाअधिकृत इटनी राती ३÷४ बजेको समयमा बेहोस अवस्थामा अस्पताल आइपुगेको बताए। डिउटीमा रहेका चिकित्सकहरुले डिट्रोभेसन गरेर आइसियू खोजी भएपनि नातेदार र आफन्तहरू आत्तिएर अर्को अस्पतालमा उपचारका लागि लगेको डिउटी अफिसरले बिहान ब्रिफिङ गरेको बताउँदै डा. काफ्ले भने, ‘त्यसपछि एकाउन्ट चिफलाई लिन पठाउँदा उहाँको निधन भइसकेको रहेछ।’

राति, त्यसमा पनि ‘कम्युनिकेसन ग्याप’ (सूचनाको खाडल) भएको जनाउँदै काफ्लेले थपे,‘असजिलो समयमा आउनुभयो, जुनियर डाक्टरहरूले निर्णय लिनसक्नु भएन। आफन्त पनि आत्तिएर बाहिर लैजानु भएछ।’ रेड एरियामै राखेर पनि थप उपचार गर्न सकिने थियो भन्दै उनले थपे, ‘बिहान हुँदा त हामी सबै मिलेर एउटा प्रबन्ध गर्न सक्ने थियौं।’

निर्देशक काफ्लेले बेड खाली देखिए पनि भेन्टिलेटरसहितका उपकरण विग्रएका र त्यसको समयमा मर्मत गर्न पनि नसकिएको बताए। चिसोसँगै संक्रमण दर बढ्दै जाँदा गम्भीर प्रकृतिका बिरामीको संख्या बढ्दै गएको र अस्पतालमा कार्यरत पाँच सय कर्मचारीमा संक्रमण देखिएको भन्दै आगामी दिनमा उपचारको प्रबन्ध मिलाउने कुरा अझै चुनौतिपूर्ण रहेको उनले बताए। ‘हामीले अस्ति मात्र  जुम मिटिङ गरेर आफ्ना स्टाफहरू उपचार गर्न कहाँ जाउन्, जसरी पनि गर्नुपर्छ भनेका छौं,’ उनले भने, ‘भोलि मलाई पर्दापनि डाक्टर भएर होइन बिरामी नै भएर आउने हो। हामीलाई चुनौती छ।’

केहीदिन देखि ज्यान दुख्ने र हल्का ज्वरो आएपछि घरमै आराम गरेका इटनीलाई सोमबार राति स्वासप्रस्वासमा कठिनाइ भएपछि राति साढे १२ बजे शिक्षण अस्पताल पु¥याइएको उनका भाइ नवराजले जानकारी दिए। ‘दाइलाई स्वासप्रस्वासमा समस्या देखिएर अचेत जस्तै बन्नुभएको थियो,’ उनले भने, ‘डिउटिमा रहेका चिकित्सकहरूले भेन्टिलेटर चाहिन्छ हामी कहाँ छैन भन्नुभयो। हामीले दाइ त्यहाँकै कर्मचारी भएकाले पनि धेरै अनुनयबिनय ग¥यौं तर पाइएन।’

सबै बिरामी गम्भीर रहेकाले भेन्टिलेटरसहितको आइसियू दिनै नसक्ने दोहो¥याएपछि राती काठमाडौंका धेरै अस्पतालमा प्रयास ग¥यौं बल्ल चुनिखेलमा रहेको करुणा अस्पतालले छ भनेपछि उपचारका लागि त्यहाँ पु¥याएको उनले सुनाए। त्यहाँ पुग्दा करिव चार बजिसकेको जानकारी दिंदै उनले भने, ‘अक्सीजनको मात्र घटेर कार्वनडाइअक्साइड शरीरमा धेरै भइसकेको रहेछ। डाक्टर प्रयास त गर्नुभयो तर ठिक भएन। सवा छतिर उहाँको निधनभयो।’

हजारौ व्यक्तिका लागि बेड, आइसियु र भेन्टिलेटरको प्रबन्ध गरेर अरुको ज्यान जोगाउन सधैं सक्रिय रहे पनि आफैंले काम गरिरहेको अस्पतालमा समयमा भेन्टिलेटर पाएको भए दाइ निधन नहुने भाइ नवराजको गुनासो छ।

‘उहाँले अरुका लागि त गर्नुभयो तर उहाँकै लागि चाहिँ अस्पतालले बेड दिएन,’ उनले भने, ‘टिचिङ पुगेको केही समयमै भेन्टिलेटरमा राखेर उपचार गर्न पाएको भए दाजु बित्नुहुन्न थियो कि ?’

देशकै ठूलो अस्पतालले भिभिआइपी, भिआइपीका लागि आइसियूसहितका बेड छुट्याएर राख्ने तर आफ्नै कर्मचारीले उपचार नपाउनु दुखद भएको उनले बताए। ‘दाइले २५ वर्ष सेवा गरेको अस्पतालमा उपचार नपाउनु होला भन्ने हामीलाई लागेको थिएन,’ उनले भने, ‘उहाँको त उपचार भएन भने सर्वसाधारण अब उपचारका लागि कहाँ जाने ?’

प्रतिनिधिसभाका पूर्व सांसद एबं नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीले त्रिविवि सेवा पास गरेर २५ वर्षभन्दा बढी महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा कार्यरत लेखाअधिकृत आफैंले काम गरेको हस्पिटलमा बेड नपाएर  इमजेन्सीबाट निस्किएर उपचार नपाएर मर्न पर्नु जस्तो लाजमर्दो कुरा केही नभएको बताए।

‘सरकारको नालायकीले सर्वसाधारण र पहुँच नभएकाले त उपचार पाएनन् नै तर त्रिविवि शिक्षण अस्पतालले आफ्ना कर्मचारीको पनि उपचारमा गम्भीर नदेखिनु दुखद भयो,’ अधिकारीले भने,‘हजारौको उपचारको प्रबन्ध गर्ने व्यक्तिले नै उपचार नपाई मर्नु परेपछि कसलाई विश्वास गर्ने, उपचारका लागि सर्वसाधारण अब कहाँ जाने ? के गर्ने विश्वास गर्ने ठाउँ नै भएन।’

इटनीको शव मंगलबार शिक्षण अस्पताल ल्याइएको र अमेरिकामा रहेका छोरा बिहीबार आएपछि मात्र उनको सतगत गर्ने तयारी भइरहेको भाइ नवराजले जानकारी दिए। ‘५÷६ घण्टाकाबीचमा सबै कुरा भएकाले उहाँको कोरोना परीक्षण पनि हुन पाएन,’ उनले भने, ‘पारिवारको परार्मसमा छोरो (राजारामको) के कसरी अन्त्यष्टी गर्ने भन्ने निर्णयमा पुग्छौं।’

प्रकाशित: १९ कार्तिक २०७७ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App