७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना अँध्यारोमा प्रविधिको उज्यालो

भिडियो कलमार्फत श्राद्धकर्म गराउँदै लक्ष्मीनारायण मन्दिरका पुजारी केशवप्रसाद ढकाल।

कोरोना कहर हुँदैनथ्यो त मदन पुरस्कार समर्पण समारोह साहित्यकार र अनुरागीले खचाखच भव्य हलमा सम्पन्न हुन्थ्यो। कोरोना कहरबीच पुरस्कार समर्पणका लागि आइतबार पाटनढोकास्थित सुनसान हलमा भर्चुअल माध्यमबाट आयोजित कार्यक्रमको प्रभाव पनि कम्ता रहेन। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ‘तमसोमा ज्योतिर्गमय’ भन्दै पानसमा दीयो बालेर सुरु गरेको भर्चुअल कार्यक्रमले कोरोनाको अँध्यारोमा उज्यालो छर्ने काम ग¥यो। यस पटक जगदम्बा श्री प्राप्त गरेकी शान्ति ठटालले सिलिगुडीबाट दिएको मन्तव्य होस् या मदन पुरस्कार प्राप्त गरेका चन्द्रप्रकाश बानियाँले पोखराबाट व्यक्त गरेका भावना प्रविधिको माध्यमबाट एकआपसमा जोडिए।  

सर्वसाधारणको भौतिक उपस्थिति नरहे पनि इन्टरनेटमार्फत देशविदेशमा रहेका थुप्रैले कार्यक्रममा सहभागिता जनाए। गुठीका अध्यक्ष दीक्षितले प्रविधिको सहयोगमा सम्पन्न प्रवचन र मन्तव्य कार्यक्रमले अप्ठेरो अवस्थामा पनि अगाडि बढ्न सकिन्छ भन्ने सन्देश दिएको बताए। कोभिडका कारण अलग्गिएको समाज भर्चुअल माध्यमबाट जोडिँदै गएको छ। विद्यालयको पठनपाठन, सरकारी र गैरसरकारी संस्थाका बैठकमात्र हैन, गीत–संगित, पुस्तक विमोचनदेखि श्राद्धकर्मसमेत प्रविधिको माध्यमबाट हुन थालेको छ।  

भारतीय प्राध्यापक जगदीश्वर चतुर्वेदी अहिलेको समयमा भर्चुअल संसार ‘रियल’ बन्दै गएको बताउँछन। भर्चुअल पद्धति र प्रविधिलाई बेवास्ता गरेर मान्छे बाँच्न नसक्ने उनको बुझाइ छ। सामूहिकरूपमा कुराकानीका लागि प्रयोग गरिने ‘जुम’ लगायत विभिन्न एप्सको प्रयोगले समाजका हरेक क्षेत्र जोडिँदै गएको उनी बताउँछन्। ‘अब भर्चुअल माध्यमबाट हुने कुराकानी लोकल, ग्लोबल हुँदै युनिभर्सल भएको छ,’ उनी भन्छन्, ‘यसले समाजको दायरालाई फराकिलो बनाएको छ।’

प्राध्यापक चर्तुेवदीको बुझाइसँग सहमत छिन्, सामुदायिक आत्मनिर्भर केन्द्रकी क्याम्पेन म्यानेजर कल्पना कार्की पनि। कोभिडले सामूहिक रूपमा मानिसको भौतिक उपस्थितिलाई अलग्याउँदै गएको अवस्थामा प्रविधिमार्फत आफू समाजसँग जोडिन सफल भएको उनको बुझाइ छ। ‘कोभिडपछिमात्र दुई दर्जनभन्दा बढी पटक जुम मिटिङमा सहभागिता जनाइसकेकी छु,’ उनले भनिन्, ‘जुमले टाढा र उपेक्षित रहेकालाई नजिक ल्याउन थालेको छ।’ सुरुमा कोभिडको बाध्यताले प्रयोगमा ल्याइएको प्रविधि अहिले समाजको हरेक क्षेत्रमा बरदान साबित हुदै गएको उनले सुनाइन्।  

विज्ञान र आधुनिक कर्ममात्र हैन, परम्परागत कर्ममा पनि प्रविधि सहायोगी बनेको छ। ‘जजमानको आग्रहमा भिडियो कलमार्फत श्राद्धकर्मसमेत गराएको छु,’ काठमाडौं मूलपानीस्थित लक्ष्मीनारायण मन्दिरका पुजारी केशवप्रसाद ढकालले भने, ‘कोरोना समयमा हाम्रो कर्ममा यसले झनै सहयोग पु¥याएको छ।’  

कतिपयका लागि प्रविधि आम्दानीको माध्यम पनि बन्न थालेको छ। भर्चुअल बैठकमा सहभागिता जनाएर आफ्ना विचार व्यक्त गर्ने कतिपयले त ई–सेवालगायत विभिन्न माध्यमबाट पारिश्रमिकसमेत पाउन थालेका छन्। प्रसिद्ध तबलावादक अच्युतराम भण्डारीसँग जुमको माध्यमबाट भारतमा रहेका विभिन्न विद्यालयमा संगित सुनाउन थालेको अनुभव छ। ‘मैले पशुपतिनाथ नजिकको घरबाट बजाएको तबलाको धुन बनारसमा रहेको संगित विद्यालयमा गुन्जन थालेको छ,’ उनले भने, ‘यसरी बजाएबापत निश्चित पारिश्रमिक पनि पाउन थालेको छु।’ केही दिनअघि काठमाडौं कपनमा आयोजित कार्यक्रममासमेत घरबाटै तबला बजाएर सुनाएको उनले बताए। प्रविधिका माध्यमबाट हुने भेटघाट, बैठक, कुराकानी सजिलो र कम खर्चिलो हुन थालेको कतिपयको बुझाइ छ। यसबाट विश्वभरिका विभिन्न विधाका विज्ञलाई जोड्न सकिने, समयको बचत हुनेलगायतका फाइदा हुन्छ।  

नेपालमा कोभिड संक्रमण सुरु हुनुअघि नै फेसबुक, स्काइप, भाइबर, युट्युब, लोडसेडिङलगायत एप्स बढी प्रचलनमा आइसकेका हुन्। यसबाहेक शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदलगायत विधामा पनि एप्सको प्रयोग बढेको छ। कोभिडपछि भने जुम, गुगल मिटलगायत एप्सले समग्र समाजलाई जोड्ने काम गरेका छन्। यसले विभिन्न कुनाबीचको दूरी मेटाएको छ।  

योग कक्षा सञ्चालन गर्न भौतिक उपस्थिति आवश्यक हुन्छ भन्ने छैन। भारतीय योग गुरु रामदेवलाई टेलिभिजनको पर्दा वा कम्प्युटर स्क्रिनमा हेरेर योग सिक्ने ठूलो जमात छ। कोरोना कालमा काठमाडौं रातोपुलकी योग शिक्षिक सरिता रेग्मीलाई अनलाइन योग कक्षा चलाउन भ्याइनभ्याइ छ। कोरोनाअघि उनी कक्षा चलाउन विभिन्न स्थानमा मोटरसाइकलमा ओहोरदोहर गर्थिन् भने अहिले आफ्नै बैठक कक्षबाट कक्षा सञ्चालन गर्छिन्। यहाँसम्मकी उनले कोभिड संक्रमितलाई समेत आफ्नो सेवा दिन सकेकी छिन्। अनलाइन माध्यम हुँदैनथ्यो भने यो सम्भव थिएन। वास्तवमा योग गर्नेका लागि भर्चुअल र रियलको बीचमा खासै अन्तर छैन। ‘मैले मेरा पुराना योगी– योगिनीलाई मात्र होइन, नयाँलाई पनि अनलाइन कक्षा दिएँ,’ उनले भनिन्, ‘सबैले यसलाई उत्तिकै आत्मसात् गर्नुभएको छ।’

प्रकाशित: ५ कार्तिक २०७७ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App