७ वैशाख २०८१ शुक्रबार
समाज

असईको घाटी रेटेर हत्या, जवानको अवस्था अझै अज्ञात

तस्करले हत्या गरेको आशंका

घटनास्थल बनकट्टी घाट। तस्बिर: पुष्पराज जोशी/नागरिक

गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ। उनको हत्या तस्कर समूहले गरेको प्रहरीको अनुमान छ। उनको शव आइतबार बिहान मोहना नदीमा फेला परेको हो। प्रहरीका अनुसार तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका–बनकट्टी घाटमा तस्कर समूहले शनिबार राति उनको हत्या गरेको हो। विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ।

घटनास्थलको प्रकृति हेर्दा विक र साउदलाई तस्कर समूहले घेराबन्दी गरेर आक्रमण गरेको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए। ‘उखुबारीको छेउमा रहेको बाँझो खेतमा लछारपछार भएजस्तो देखिएको छ। छेउमै प्रहरीको एउटा जुत्ता पनि फेला परेको छ। त्यसको करिब ५० मिटर पर स्लिपिङ ब्याग र चप्पल भेटिएको छ। त्योभन्दा ५० मिटर दक्षिणतर्फ खेतमै रगत देखिएको र हत्या गरेर शव मोहना नदीमा फालिएको देखिन्छ’, उनले भने। रगत देखिएको नजिकै फुटेको अवस्थामा मोबाइल पनि भेटिएको छ। असई विकले बोकेको एक थान हतियार र गोली फेला परेको छैन। प्रहरी जवान साउदको खोजी भइरहेको ती प्रहरीले बताए।

असई विक अस्थायी प्रहरी पोस्टको इन्चार्ज भएर तीन महिनाअघि जुगेडा पुगेका थिए।

घटनास्थल नेपाल र भारत दुवैतर्फका तस्करको ट्रान्जिट प्वाइन्ट रहेको स्थानीयले बताएका छन्। ‘गोरुगाडामा भारतबाट सामान ल्याएर उखुबारी छेउमा राख्ने र त्यहाँबाट नेपालतर्फका तस्करले सामान लैजाने गर्छन्। यहाँ रातभर मानिस हिँडेको हिँड्यै गर्छन्’, एक स्थानीयले भने। यो नाका भएर भारतमा मटर, भटमास तथा दलहनको तस्करी हुने गर्छ। भारतबाट नेपालतर्फ चिनी, लुगाकपडा, सुर्तीजन्य पदार्थ, हार्डवेयरका सामग्री, इलेक्ट्रोनिक्स सामानको तस्करी हुन्छ। प्रहरीकै सेटिङमा नियमित तस्करी हुने गरेको स्थानीय बताउँछन्। जुगेडामा अस्थायी प्रहरी पोस्टका साथै सशस्त्र प्रहरीको बिओपी छ। तीन महिनाअघि अस्थायी प्रहरी पोस्टको इन्चार्ज भएर आएका असई विकले तस्करीमा कडाइ गरेका कारण उनको हत्या भएको स्थानीय प्रताप बिष्ट बताउँछन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रतीक बिष्टले साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएका मध्ये असई विकको धारिलो हतियारले हत्या गरेको अवस्थामा नदीमा शव फेला परेको बताए। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तम सुवेदीले तस्करले विकको हत्या गरेर शव नदीमा फालेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए। सुवेदी आफैं घटनास्थल पुगेका थिए। सन्दिग्ध ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए। अस्थायी प्रहरी पोस्ट जुगेडामा दुई महिलासहित दस प्रहरीको दरबन्दी छ।

प्रकाशित: ३ कार्तिक २०७७ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App