५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

फुङ्लिङमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्न ७५ रोपनी जग्गा अधिग्रहण

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले निर्माण गर्ने फोहोर मैला व्यवस्थापन केन्द्रका लागि नगरपालिकाको वडा नं ३ (साविक वडा नं २)को करिव ७५ रोपनी जग्गा अधिग्रहण गरिएको छ।  

जग्गा मुआब्जा निर्धारण समितिको निर्णय अनुसार ७४ रोपनी, १२ आना, १ पैसा १ दाम बराबरको जग्गा अधिग्रहण गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जानकारी दिए। उनका अनुसार हेमबहादुर पालुङ्वा, शुखमाया लिम्बूनी, सूर्यबहादुर लिम्बू र कैलाश लिम्बूको नाममा रहेको १२ कित्ता जग्गा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि अधिग्रहण गरिएको हो।  

प्रशासन कार्यालयले निर्धारित मुआब्जा बुझ्नका लागि जग्गाधनी प्रमाण पूर्जा, तिरो तिरेको रसिद र नेपाली नागरिकताको प्रमाण–पत्रको छायाँप्रति संलग्न राखि निबेदन पेश गर्न जग्गाधनीलाई असोज २४ गतेका मितिबाट १५ दिनको समय दिएको छ। मुआब्जा बुझ्नका लागि भने फुङ्लिङ नगरपालिकामा निबेदन दिनुपर्ने हुन्छ।  

प्रजिअ चापागाँईका अनुसार अधिग्रहण हुने जग्गाको मूल्य प्रति रोपनी ८८ हजार रुपैयाँ कायम गरिएको छ। फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि चालू आर्थिक वर्षमा नेपाल सरकारले १ करोड तथा नगरपालिका आफैंले ७० लाख रुपैयाँ बजेट बिनियोजन गरेका छन्। अहिले सम्म नगरपालिकामा अस्थायी प्रकृतिको मात्र फोहोर मैला व्यवस्थापन केन्द्र रहेको छ।

प्रकाशित: २४ आश्विन २०७७ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App