coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रुखबाट खसेका बमलाई दक्षिण कोरियाबाट सहयोग

रुखबाट खसेर घाइते भएका वीरेन्द्र बमलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले पठाएको आर्थिक सहयोग हस्तान्तरण गर्दै वडाध्यक्ष सुरेश मानन्धरलगायत। नगेन्द्र उपाध्याय/नागरिक

दैलेखको गुराँस गाउँपालिका–५ बडाखलाका २८ वर्षीय वीरेन्द्र बम गत चैतमा बाख्राका लागि डाले घाँस काट्न जंगल गएका थिए। घाँसको डालो काट्न नपाउँदै उनी रुखबाट खसे। त्यसयता उनको बोली फुटेको छैन्।

तल्लो शरिर चल्दैन्। धनरुपाले श्रीमानको उपचारका भएको सम्पत्ती बेचिन्। त्यतिले नपुगेर १० लाख रुपैयाँ ऋण लागेको छ। वीरेन्द्रको अझै बोली फुटेको छैन्। दिसा–पिसाव शरिरमै हुन्छ।

श्रीमानको उपचारका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोठा भाडामा लिएकी छन्। आर्थिक अभावमा अघिल्लो महिना हुने भनिएको पिसाव नलीको अप्रेशन एक महिनापछि सार्नु प¥यो। बम परिवारको आम्दानीको मुख्यस्रोत खशी–बाख्रा हो।

कालिकोटबाट बसाई सरेर आएदेखि उनको परिवार बडाखालमा बाख्रापालन गर्छ। ‘श्रीमान रुखबाट खसेर घाइते भएपछि उपचारका लागि बाख्रा विक्री गरें,’ धनरुपाले भनिन्, ‘सम्पत्ती सकियो, श्रीमानलाई अझै सन्चो भएको छैन्।’

धनरुपालाई अहिले वीरेन्द्रका लागि दैनिक औषधिको जोहो गर्नै समस्या छ। साहुबाट लिएको ऋणको सावा त के ब्याज पनि तिर्न सकेकी छैनन्। ‘श्रीमानलाई सन्चो भइदिए त कमाएर ऋण निरौंला,’ उनले भनिन्, ‘अझै कति खर्च र समय लाग्ने हो थाहा छैन्।’

रुखबाट खस्दा वीरेन्द्रको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो। नेपालगञ्ज मेडिकल कलेजमा चार महिनाको उपचारपछि केही सन्चो भएको छ। ‘एउटा आँखा देख्नुहुन्न, कान पनि कम सुन्नुहुन्छ,’ धनरुपाले भनिन्, ‘बोली फुटिदिएको भए ठूलो सन्तोष मिल्थ्यो।’ वीरेन्द्रलाई सौचालय लिन, खाना सुवाउन, एक ठाउँबाट अर्को ठाउँमा सार्न सहाराको आवश्यकता पर्छ। पहाड (दैलेख)मा यो समस्या हुने भएपछि बम दम्पत्ती कोठा भाडामा लिएर वीरेन्द्रनगरमा बसेका हुन्।

‘अव सम्पत्ती पनि सकियो, ऋण पनि साहुले पत्याउन छोडे,’ उनले भनिन्, ‘उपचारमा झन ठुलो समस्या भइरहेको छ।’ चिकित्सकले अझै केही महिना निगरानीमा राखेर उपचार गर्नुपर्ने बताएका छन्। कोरोना संक्रमणका कारण वीरेन्द्रको उपचारमा पनि समस्या भइरहेको छ।

आर्थिक अभावमा उपचारमा समस्या भइरहेको थाहा पाएपछि दक्षिण कोरियामा कार्यरत नेपालीहरुले बम परिवारलाई एक लाख सात हजार रुपैयाँ सहयोग गरेका छन्। शुक्रबार वीरेन्द्रनगर नगरपालिका–९ स्थित कोठा भाडामा बस्दै आएका बमको परिवारलाई वडाध्यक्ष सुरेश मानन्धरले दक्षिण कोरियाबाट पठाएको उक्त रकम हस्तान्तरण गरे। ‘दक्षिण कोरियामा रहेका नेपालीहरुले पठाएको आर्थिक सहयोगले अर्को महिना पिसान नलीको अप्रेशनका लागि पुग्ने भयो,’ धनरुपाले भनिन्, ‘सम्पत्ती बाँकी छैन्, अझै सहयोगको खाँचो छ।’

दक्षिण कोरियामा कामका लागि गएका नेपाली युवाहरुले बेलाबेलामा दुःखमा साथ दिँदै आएका छन्। बमका लागि रकम संकलन अभियानमा संलग्न ललित सारु मगरले सुर्खेतको एवान एजुकेशन सेन्टरमा अध्ययन गरेर दक्षिण कोरियामा गएका पूर्ण बुढा, रितु रिजाल, लोकेश वलीलगायतले रकम संकलन अभियान सञ्चालन गरेको बताए।

वडाध्यक्ष मानन्धरले दक्षिण कोरियामा पसिना बनाइरहेका नेपालीहरुले नेपालमा दुःख पर्दा नियमित सहयोग गर्ने गरेको बताए। उनले घाइते बमको उपचारका लागि वडा कार्यालयमार्फत पनि सहयोग गर्ने बताए।

प्रकाशित: २४ आश्विन २०७७ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App