१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

न्यायको लागि दीप प्रज्वलन

गत हप्ता रौतहटको वृन्दावन नगरपालिका ४ मा सामूहिक बलात्कार गरी हत्या गरिएकी किशोरीको न्यायको लागि रौतहटको विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ। रौतहटको प्रशासनिक सदरमुकाम गौर तथा आर्थिक सदरमुकाम गरुडा लगायत अन्य ठाउँमा युवाहरुले मंगलवार अबेर साँझ स्वतः स्फुर्त रुपमा बलात्कारपछि हत्या गरिएकी किशोरीको न्यायको माग गर्दै दीप प्रज्वलन गरिएको हो।

गढीमाई नगरपालिका वडा नम्बर १ समनपुरका सिताराय साहकी करिब १६ वर्षकी छोरी सन्झाकुमारी साह वृन्दावन नगरपालिका वडा नम्बर ४ हर्दिया पल्टुआस्थित मामाघरमा रहँदै आएकी थिइन्। बिहान खाना खाएर घाँस काट्न गएकी किशोरी साँझसम्म नफर्केपछि आफन्तहरुले खोजी सुरु गरेका थिए। सोही क्रममा उखुखेतमा अद्र्धनग्न अवस्थामा किशोरीको लास फेला परेको थियो।

घटनाको सम्बन्धमा प्रहरीले करिब एक दर्जन मानिससित सोधपुछ गरेको भए पनि पक्राउ गरेको भनी बताएको छैन। घटनाको एक हप्ता हुन लाग्दा पनि अपराधी फेला नपरेको भन्दै रौतहट युवा पिढीले घटनाको निष्पक्ष छानबिनको माग गर्दै अराधीहरुलाई तुरन्त कारबाही गर्न गृह प्रशासनसँग माग गरेको छ।

रौतहट युवा पिढीका शशिकान्त साहले बलात्कार र हत्याजस्तो जघन्य अपराध गर्नेलाई कुनै किसिमको सहानुभूति राख्न नहुने बताउँदै अपराधीलाई पक्राउ गर्न पनि ढिलो गर्न नहुने बताएका छन्। जिल्लाको विभिन्न भागमा दीप प्रज्वलन गरी रौतहटका युवाहरुले न्यायको खोजी गरेको साहले बताएका छन्।  

विभिन्न संघसंस्थाले पनि अपराधीलाई पक्राउ गरी हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्। 

प्रकाशित: २१ आश्विन २०७७ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App