६ वैशाख २०८१ बिहीबार
समाज

डा. केसीको जीवन रक्षा गर्न पूर्वप्रधानमन्त्रीहरूको माग

अनशनको २४औं दिन

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै मंगलबार सडकमा ओर्लिएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका आवासीय चिकित्सक। तस्बिर: केशवराज थाेकर/नागरिक

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न पूर्वप्रधानमन्त्रीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। अनशनको २३औं दिन पुग्दा समेत केसीसँग वार्ता र उनको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चासो नदेखाएपछि पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा नै वार्ताबाट केसीका माग सम्बोधन गर्न र जीनव रक्षाका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै आएको छ। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले अविलम्ब वार्ता गरी माग पूरा गर्न कति पनि ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन्। उनले सरकारले यस विषयलाई खेलाचीका रुपमा लिए गम्भीर दुष्परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन्। सरकारले २०७५ साउनमा केसीसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या उत्पन्न भएको भन्दै देउवाले तत्काल वार्तामा बसी माग पूरा गर्न आग्रह गरेका छन्। तर प्रधानमन्त्री ओली भने आफैंले गरेको सो सहमति र अनशनप्रति मौन छन्। केसी चिकित्सा शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्य र सरकारले विगतमा आफूसँग गरेका सम्झौता तत्काल कार्यान्वयन माग राखेर अनशनमा बसेका हुन्।

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री खनालले पनि डा. केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारलाई आग्रह गरेका छन्। केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बन्दै गएको बताउँदै खनालले माग पूरा गरी अविलम्ब अनशन तोडाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतासँग सम्बन्धित माग राखेर केसी अनशन बसेको २३औं दिन पुग्दा पनि सरकारले माग सम्बोधन गरी उनको जीवन रक्षाका लागि पहल नगरिरहेको अवस्थामा खनालले मुख खोलेका हुन्।

यसैगरी नेकपाका अर्का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले पनि अनशनरत डा. केसीको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। केसीको जीवन रक्षालाई प्राथमिकतामा राखेर तत्काल अनशन अन्त्य गर्ने वातावरण तयार पार्न उनले सरकारलाई आग्रह गरेका हुन्। समस्या समाधानका लागि विगतमा सरकार र केसीबीच भएका सम्झौता कार्यान्वयन गर्नुपर्नेमा नेपालको जोड छ।

सत्तारुढ नेकपाकै वरिष्ठ नेताहरुका साथै नेपाली कांग्रेस, राप्रपा, साझा पार्टीले संस्थागत रुपमा र नागरिक समाजका विभिन्न तह र तप्काबाट पनि वार्ताका माध्यमबाट समस्या समाधान खोज्न र केसीको जीवन रक्षाका लागि ध्यानाकर्षण गराउँदा पनि सरकार मौन रहनु उदेक भएको छ।

त्यस्तै पूर्वप्रधानमन्त्री डा. भट्टराईले डा. केसीसँग वार्ता गर्न सरकारले चासो नदेखाएको भन्दै आक्रोश पोखेका छन्। केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको सरकारले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ भन्दै उनले प्रश्न गरेका छन्। उनले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै यो सरकारको आपराधिक उपेक्षा (क्रिमिनल नेग्लिजेन्स) भएको गम्भीर आरोप लगाएका छन्। उनले सरकारलाई तत्काल वार्तामा बस्न आग्रह गर्दै भनेका छन्, ‘तुरुन्त वार्ता गर ! समाधान खोज ! डा. केसी बाँच्नुपर्छ। मूर्खदेखि दैव डराउँछ भनिन्छ ! कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ ! सबै चेतौं !’

नेपाली कांग्रेस, राप्रपा, साझा पार्टीले संस्थागत रुपमा र नागरिक समाजका विभिन्न तह र तप्काबाट पनि वार्ताका माध्यमबाट समस्या समाधान खोज्न र केसीको जीवन रक्षाका लागि ध्यानाकर्षण गराउँदा पनि सरकार मौन रहनु उदेक भएको छ। नेपाल चिकित्सक संघले केसीसँग वार्ता गरी माग सम्धोधन गर्न सरकारलाई दिएको७२ घण्टे अल्टिमेटम बुधबार सकिँदैछ। तर सरकारले वार्ता गरी माग सम्बोधन गर्न चाहेको देखिँदैन।

नागरिक समाजका अगुवा डा. पिताम्बर शर्मा, हरि रोका, डा. कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, डा. अरुणा उप्रेती, नारायण ढकाल, विमल निभा, डा. सुरेश ढकाल, डा. सरोज धिताल, सरिता तिवारी, धनकुमारी सुनार, कोमल भट्टराई, सुदीप श्रेष्ठ, सोमत घिमिरे र प्रकाश राईले डा. केसीका मागहरुप्रति ऐक्यबद्धता जाहेर गर्दै संयुक्त अपिल जारी गरेका छन्। ‘डा. केसीले उठाएका माग समाजवादउन्मुख लोककल्याणकारी राज्यको नारा दिएर सत्तासीन भएको दल र सरकारका लागि मार्गदर्शक र प्रेरणादायी हुने हामीले अपेक्षा राखेका थियौं,’ अपिलमा उल्लेख छ, ‘तर विडम्बना ! ती मागप्रति सरकार पूर्णतः उदासीन रहेको छ। सरकारले यस किसिमको अकर्मण्यता प्रदर्शन गरेर लोकतन्त्रमा रहनुपर्ने संवादको संस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रति समेत बेइमानी गरेको हामीले ठानेका छौं।’

भदौ २९ गते जुम्लामा अनशन थालेका केसी अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शड्ढयामा छटपटाइरहेका छन्। अनशन तत्काल नतोडाउने हो भने उनको ज्यान जोगाउन कठिन रहेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। समाजवादी अजेन्डा बोकेर नागरिकको आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनुपर्छ भन्दै अनशन बसेका केसी अहिले जीवनमरणको दोसाँधमा छन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अक्सिजन सपोर्ट दिइएको छ। अक्सिजनको सपोर्टमा राखिएका केसीलाई कुनै पनि बेला भेन्टिलेटरको आवश्यकता पर्न सक्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। जिउ गल्ने, चक्कर लाग्ने, धड्कन बढ्ने, मांसपेसी दुखाइलगायत समस्या डा. केसीमा देखिएका छन्। उनको रगतमा डब्लुबिसी, सुगर र पोटासियमलगायत तŒवको मात्रा पनि घट्दै गएको छ।

केसीसँग वार्ता गरी उनको जीवन रक्षा माग गर्दै त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका आवासीय चिकित्सकले आन्दोलन घोषणा गरेका छन्। उनीहरुले केसीका माग तत्काल सम्बोधन नगरे आकस्मिक र कोभिडबाहेक अन्य बिरामीको उपचार नगर्ने चेतावनी दिएका छन्।

शिक्षासचिवको टोलीले भेट्यो
यसैबीच चौतर्फी दबाब परेपछि अनशनरत डा. गोविन्द केसीलाई भेट्न शिक्षा, विज्ञान तथा प्रविधि सचिव गोपीनाथ मैनाली नेतृत्वको टोली मंगलबार शिक्षण अस्पताल पुगेको छ। टोलीले केसीलाई भेटेर मागबारे जानकारी लिएको र अहिलेको अवस्था महामारीका कारण जटिल रहेकाले अनशन तोड्न आग्रह गरेको छ। सरकारले औपचारिक वार्ताका लागि पहल नगरी शिक्षा सचिवको नेतृत्वमा अनौपचारिक टोली खटाएर अनशन तोड्न आग्रह गरेपछि केसीले आक्रोश पोखेका छन्। केसीले सरकारले औपचारिक वार्ता टोली बनाएपछि मात्र छलफल गर्न सकिने स्पष्ट पारेका छन्।

प्रकाशित: २१ आश्विन २०७७ ००:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App