हुप्सेकोट गाउँपालिका-४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारी मार्फत ३५० खसीबोका बिक्री गरिएको छ।
यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो।
गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बेचेको सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले बताइन्। “असोज ६ गतेदेखि खसीबोका सङ्कलन र बिक्री सुरु गरेका थियौं। हालसम्म ३५० खसीबोका बेचेका छौं”, उनले भनिन्,“प्रतिकिलो जिउँदाे सरदर ५७० रूपैयाँसम्म बेचिएको छ।”
संस्था मार्फत वर्षभरि नै खसीबोका सङ्कलन तथा बिक्री गरिने भए पनि चाडपर्व लक्षित गरी बढी सङ्ख्यामा बिक्री भएको हो। “गत वर्षको दसैँमा १५ सय खसीबोका बिक्री गरिएको थियो, त्यसबापत करिब दुई करोड ५० लाखको कारोबार भएको थियो”, परियारले भनिन्,“यस वर्ष भने पहिले जति बिक्री भएन। दसैँपछि पनि बजारमा माग हुने हुँदा सोही अनुपातमा कारोबार हुने अनुमान गरेका छौं।”
गाउँमा उत्पादित खसीबोका बजारसम्म पुर्याउन सहकारीले ११ वर्षदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ। कृषकहरूले भनेको समयमा बिक्री गर्न र उत्पादन अनुसार मूल्य नपाउने समस्या भएपछि सहकारीले सङ्कलन केन्द्रको स्थापना गरेर कृषिउपजको बजारीकरण गर्दै आएको छ।
यसरी सहकारीले घरबाट नै खरिद गरेर बजारीकरण गरिँदा आम्दानी र कारोबारमा सहज भएपछि स्थानीय कृषकहरू खुसी भएका छन्। पहिले व्यापारीले भनेअनुसार बिक्री गर्ने बाध्यता रहेकामा केही वषृदेखि सहकारीमार्फत बिक्री गर्दा बजारको चिन्ता नभएको र बजारमूल्य पनि पाएको कृषक शर्मिला विश्वकर्माको भनाइ छ। “सहकारीले घरमै आएर खसीबोका जोखेर खरिद गर्ने हुँदा बिचौलियाबाट ठगिने समस्यासमेत हटेको छ”, उनले भनिन्।
यहाँ शेयर सदस्यबाहेक अन्य कृषकहरूको पनि खसी बोका खरिद गर्ने गरिएको छ। ठूला व्यापारीदेखि स्थानीयसमेत खसीबोका लिन सहकारीमा आउने गरेका छन्।
हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रापालक कृषकहरूको सङ्ख्या उल्लेख्य रहेकाले यहाँबाट बर्सेनि सयौँ खसीबोका काठमाडौँ, पोखरा लगायत सहरमा निर्यात गर्ने गरिएको छ। यहाँका बाख्रापालन गर्ने कतिपय महिलाले विदेश गएका श्रीमानले भन्दा बढी आम्दानी गर्ने गरेका छन्।
प्रकाशित: १५ आश्विन २०८२ ०८:४० बुधबार





