६ कार्तिक २०७७ बिहीबार
समाज

धादिङका पहिरोपीडित: न बस्ने घर, न सर्ने भर

१ र २ उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नं. ३ केराबारी टोलमा गएको पहिरो र जोखिममा रहेका घर ।तस्बिर: सरिता/नागरिक

जब हावाहुरीसहित पानी पर्न सुरु हुन्छ, तब खनियाबास गाउँपालिका वडा नं. ३ सिंगङगाउँको केराबारी टोलका ७२ वर्षीय थर्चिन तामाङको मुटु काँप्न थाल्छ । चिराचिरा परेको जमिन तलबाट भासिँदै बस्तीमा पुगेपछि दुई महिनादेखि उनको परिवार बिचल्लीमा परेको छ । भएको जग्गाजमिनमा लगाएको धानखेती, कोदोबाली पनि पहिरोले पुरेपछि परिवार सुकुमबासीजस्तै बनेको छ ।

२०७२ सालको भूकम्पले उनको घर बस्नै नमिल्ने गरी भत्कायो । सरकारले दिएकोे अनुदानले बल्लबल्ल घर ठड्याए तर पहिरोको डरले नयाँ घरमा धेरै समय बस्न पाएनन् । ‘तलबाट खस्दै गरेको पहिरोले सबै जग्गाजमिन पु¥यो, घर पनि कुन दिन बगाउने हो, पत्तो छैन’, उनले भने, ‘दुई महिनादेखि नौजनाको परिवारले त्रिपालको भरमा डराईडराई रात बिताउनुपरेको छ ।’ तामाङ परिवार दुई महिनादेखि अर्काको जग्गामा तीन हजार रुपैयाँ भाडा तिरेर त्रिपालको भरमा रात कटाइरहेका छन् ।

गत वर्षको पहिरोले धानबाली लगाएको खेत बगायो, यसपालि कोदोबाली बग्यो ।

‘जोखिम मोलेर घरमै बसौं भने पहिरोले लैजाला भन्ने डर छ, अरुको जग्गामा भाडा तिर्न पनि सक्ने अवस्था छैन’, तामाङले भने, ‘खाने अन्न छैन, कमाइ पनि केही छैन कसरी गुजारा चलाउनु ?’ पहिरोको जोखिमबारे सम्बन्धित निकायमा गुनासो गर्दा त्रिपाल र केही राहत दिएर टारिदिने गरेको उनले सुनाए ।

पहिरोले चिराचिरा परेको जमिनमा बस्दै आएका केराबारीवासी रात पर्नासाथ सुरक्षित बासको खोजीमा निस्कन्छन् ।

छिमेकी बमबहादुर तामाङको पनि अवस्था उस्तै छ । घर चिराचिरा परेको छ, शौचालय, कुखुराको खोर चर्किएर भासिएको छ । जब पानी पर्न थाल्छ अनि सुरक्षित बासको खोजी गर्नुपर्छ । दिनमा घरमा नै बस्ने र रात पर्ने बित्तिकै सपरिवार अन्यन्त्रै बस्न जाने गरेको बमबहादुरले बताए ।

पहिरोको जोखिमका कारण बमबहादुरको आठजनाको परिवार साँझ पर्नेबित्तिकै खाना खाएर बस्ने बासको जोहोमा निस्कन्छ । ‘पहिरोको डरले रातमा आफन्तको घरमा बास हुन्छ, दिनमा चाहिँ आफ्नै घरमा आएर बस्छौं,’ उनले भने, ‘पानी परेको बेला झनै डर हुन्छ, रातभर निदाउन सकिन्न ।’

चारैतिरबाट पहिरोले घेरेपछि केराबारी टोलका १० घरधुरीका ६७ जना विस्थापित भएका छन् । तीमध्ये पाँच वर्ष मुनिका चार बालबालिका र १० जना वृद्धवृद्धा छन् । भूकम्पपछि चिराचिरा बनेको जमिन बिस्तारै पहिरिन थालेपछि जोखिम झनै बढेको छ । चारैतिर पहिरोले घेरेपछि सुरक्षित स्थानमा सर्न पनि समस्या भएको स्थानीयले बताए । सुरक्षित बस्ने घर पनि छैन, सुरक्षित ठाउँमा सर्ने भर पनि छैन । बालबालिका र वृद्धवृद्धालाई झनै समस्या हुने गरेको छ । हिँड्न नसक्ने भएका कारण जोखिम मोलेरै असुरक्षित रुपमा बस्न बाध्य छन् ।

केही भाडाको जग्गामा त्रिपाल टाँगेर बसिरहेका छन् भने केही जोखिम मोलेर असुरक्षित ठाउँमा नै बस्न बाध्य छन् । ‘घर, जग्गाजमिन सबै पहिरोको जोखिममा छ, दुईवटा भैंसी भने त्यही बाँधिदिन्छौं,’ स्थानीय परशुराम तामाङले भने, ‘हामी सपरिवार भने दुई महिना भयो, घर छाडेर त्रिपालको भरमा रात बिताउँदै आएका छौं ।’ घाम लागे खुसी हुने र पानी पर्न थालेपछि भागाभाग चल्ने गरेको उनले बताए ।

केराबारी टोलजस्तै भूकम्पका कारण भत्किएका उत्तरी धादिङका विभिन्न बस्तीहरु पहिरोको उच्च जोखिममा छन् । भूगर्भविद्ले नै ती स्थानमा बस्न उपयुक्त नभएको र बस्ती स्थानान्तरण गर्नुपर्छ भनेर सिफारिस गरेको वर्षौं बितिसकेको छ । तर जोखिमयुक्त बस्तीहरू सार्न सम्बन्धित निकायबाट पहल नहुँदा ज्यानको बाजी लगाएर बस्नुपर्ने अवस्था उत्पन्न भएको छ । हरेक वर्षको वर्षा सुरु भएपछि बस्तीमाथिको पहिरो हेरेर ज्यानलाई जोगाउनुपर्ने अवस्था रहेको स्थानीयले बताए । यसपालि पनि वर्षायाम सुरु भएदेखि नै पहिरोको जोखिम निम्तिएको छ ।

प्रकाशित: ९ आश्विन २०७७ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App