१२ कार्तिक २०७७ बुधबार
समाज

कोरोना कहरमा भारत जाने नेपालीको लावालस्कर, भन्छन्: यहाँ के खाएर बाँच्नु?

फाइल तस्बिर

साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सीताराम डगौंरा यतिबेला चिन्तामा छन्। धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि डेढ लाख ऋण काढेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतारामको सपना कोरोना कहरसँगै तुहिएको छ।

‘छोराले विदेशमा कमाएर एउटा ओत लाग्ने घरसम्म त बनाउँला भन्ने सोचेको थिएँ,’ सीतारामले दुखेसो पोखे, ‘छोरो केही दिनअघि रित्तो हात घर फर्कियो, अब दैनिक जिविकाको त कुरै भएन ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको छ।’

सीताराम पनि ५ वर्ष मलेसियामा काम गरेर केही वर्षअघि मात्र फर्किएका हुन्। ‘छोराले कमाउला र म घरको रेखदेख गरुँला भन्ने सोचेर बसिरहेको थिएँ,’ उनले भने, ‘बरु अब यहीँ केही काम पाइन्छ कि भनेर खोज्नुपर्ने भएको छ, तर हामीलाई रोजगारी कसले देला र?’

दैनिक गुजाराका लागि गाउँमा मजदुरी पाउनसमेत गाह्रो भइरहेको उनले बताए। ‘आफूसँग भएको जग्गामा केही आयमूलक व्यवसाय गरौँ छाडा गोरुले सखाप पार्छन्,’ उनले भने, ‘मजदुरी गर्न भारत जाऔँ त्यहाँ कोरोना बढेको समाचार दिनदिनै सुन्दा जानै मन लाग्दैन, मनभरि डर मात्र छ।’

उनको परिवारमा ५ सदस्य छन्। उनीहरूका लागि खर्च जुटाउन पनि जारी बन्दाबन्दीका कारण निकै समस्या भइरहेको उनले बताए।  

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिका–३ देखतभुलीका जितसिंह बडायकको परिवार पनि यतिबेला आर्थिक समस्याले पिरोलिएका छन्। रोजगारी गर्ने छोरो घरमा थन्किएर बस्नु परेपछि चिन्ता र तनाव बढेको छ।

‘म भारतको गुजरातमा होटलमा मजदुरी गर्न थालेको ८ वर्ष भयो, कोरोनाको डरले दुई महिनाअघि घर फर्किएका बडायकले भने, ‘अहिले यहाँ घरमा साबुन किन्ने खर्चसमेत छैन, सरकार, साबुन–पानीले हात धुन भन्छ त्यही साबुन कसरी जुटाउने भन्नेसम्मको समस्या आएको छ।’

होटलमा मजदुरी गरेर मासिक २५ हजार कमाउने गरेका बडाउकले गाउँ फर्किएपछि बेरोजगारी फारम भरे पनि कुनै कार्यक्रम नआएको बताए। ‘स्थानीय तहले बेरोजगार फारम भर्न त लगायो तर रोजगारी दिने कुनै छाँट देखिएन,’ उनले भने, ‘अब रोगसँग डराएर मात्र के गर्नु, पेट भर्नैपर्‍याे, फेरि भारत जानुपर्ने बाध्यता नजिक आउँदै छ।’

होटल बन्द भएपछि केही समय भारतमा बेरोजगार बसेका बडायक नेपाल–भारत सीमा खुला भएपछि घर फर्किएका हुन्। ‘दश जनाको परिवार छ, कमाउने कोही छैन,’ उनले भने, ‘म कामविहीन हुँदा घरका अरू सदस्य पनि खर्च कहाँबाट चलाउने भनेर चिन्तामा छन्।’

कोरोनाको डरले आफू ३ वर्षपछि भारतबाट फर्किएको उनलपे बताए। ‘कमाएर ल्याएको सकिसक्यो। फेरि भारत जाने विचारमा छु,’ उनले भने, ‘न हातमा त सीप छ न त यहाँ केही गर्न लगानी नै।’

पछिल्लो समय बेरोजगारी चिन्ताले रोगको पर्वाह नगरी कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौं नेपाली रोजगारीका लागि भारत गइरहेका छन्।  

‘कोरोनाको डरले कुनै बेला गड्डाचौकी नाकाबाट एकै दिन २० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएको रेकर्ड थियो,’ जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘अहिले दैनिक ६ देखि ७ सयसम्म नेपाली मजदुरीका लागि भारत पस्दै छन्।’

कोरोनाबाट भारतमा दैनिक दशौँ हजार जना सङ्क्रमित  र सयौँको मृत्यु भइरहेको खबर सुन्दा पनि नेपाली त्यसको पर्वाह नगरी मजदुरीका लागि भारत जान थालेका छन्।  

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीले प्रभावितमध्ये ९ हजार जनालाई तत्काल स्वरोजगार बनाउन आवदेन लिइएको छ। मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रममा सहभागी हुन कोरोना प्रभावित व्यक्तिलाई यही असोज ६ गतेसम्म आवेदन दिन भनिएको छ।  

कञ्चनपुरमा पनि सबै स्थानीय तह र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्रले आवेदन लिइरहेको छ। कृषि र भेटेरिनरीमा गरी झण्डै हजार युवाले आवेदन दिइसकेका छन्।  

मन्त्रालयले हालै जारी सूचनाअनुसार तरकारी खेती, च्याउ खेती, मौरीपालन, भेडा बाख्रापालन, बंगुरपालन, फलफूल खेती, गाईभैँसीपालन, माछापालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पन्छीपालन, नर्सरी तथा पुष्प व्यवसाय तथा अन्य गरी १० फरक कृषि क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई स्वरोजगार बनाउने लक्ष्य रहेको जनाएको छ।

यहाँको बेल्डाँडी गाउँपालिका–५ इमलियाका ३३ वर्षीय बाबुराम गिरी पनि भारतमा आफू कार्यरत कम्पनी बन्द भएपछि घर फर्किएका छन्।

‘भारतको पञ्जावमा कुखुरा फार्ममा नौ महिना काम गरेँ,’ केही समयअघि घर फर्किएका गिरीले भने, ‘घरमा कमाउने म मात्रै हुँ, अब महेन्द्रनगरतिर काम खोज्न जाने सोचमा छु।’

मजदुरीका लागि भारत जानुअघि आफूले जेसिबी चलाउने गरेको उनले बताए। उनले भने, ‘कोरोनाले भारतमा कम्पनी नै बन्द भएपछि घर फर्किनुपरेको हो।’

प्रदेश सरकार र स्थानीय तहहरूले पनि कोरोना प्रभावितहरूलाई स्वरोजगार बनाउने बताइरहेका बारेमा उनले आफूलाई केही थाहा नभएको बताए। उनले भने, ‘सरकारले कार्यक्रम दिइसकेको छैन तर आफूलाई यहाँ घर चलाउनै मुस्किल हुन लागिसक्यो।’

मुग्लान पस्नेहरू पनि तनावमै  

कोरोना कहरका बेला बेरोजगार भएर घरमा बस्नेहरूजस्तै बाध्यताले मुग्लान पस्नेहरू पनि तनावकैबीच घर छाडिरहेका छन्। कोरोना भाइरस सङ्क्रमणको चिन्ताले गत चैत वैशाखमा स्वदेश फर्किनेहरू अहिले कञ्चनपुरका गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक झोला गुन्टा बोकेर मजदुरी गर्न भारत गइरहेका छन्।  

भारतमा दैनिक करिब लाखको सङ्ख्यामा सङ्क्रमित थपिनाका साथै कोरोना संक्रमणकै कारण दिनमा सयौँ जनाको मृत्यु भइरहेको खबर आइरहेको भए पनि बाध्य भएर मजदुरीका लागि भारत जानुपरेको उनीहरू बताउँछन्। सुदूरपश्चिम प्रदेशको रोजगारीको प्रमुख गन्तव्य रहेको भारतबाट लकडाउन अवधीमा झण्डै डेढ लाख मानिस स्वदेश फर्किएको तथ्याङ्क छ।

स्वदेशमा स्वरोजगारका लागि कुनै योजना नहुनाका साथै आफूहरूको परिवारमा रोगभन्दा पनि भोकले मर्ने अवस्था आएपछि भारत जानुको विकल्प नरहेको मुग्लान जानेहरूको भनाइ छ।  

लामो समय लकडाउन हुँदा बिहान बेलुका हातमुख जोर्न पनि समस्या हुन थालेपछि बाध्य भएर भारत जान लागेको भीमदत्तनगरपालिका–१३ का सन्त सुनारले बताए।

 ‘सरकारले घरमै बसेर सुरक्षित रहनुस् भन्छ, तर हामीसँग छाक टार्ने अन्न नै छैन, अब के खाएर बाँच्नु,’ लालाबालासहित गड्डाचौकीबाट भारत जान लागेका सुनारले भने, ‘यतिखेर महामारी छ र हामी सर्वसाधारणका लागि झन् ठूलो कष्ट छ, यस्तो समयमा जाने कि नजाने भन्ने दुविधा भए पनि आखिर जानैपर्ने हाम्रा् बाध्यता हो।’

उनले स्वरोजगारको व्यवस्था नभएकाले धेरै स्थानीय विदेशिन बाध्य भएको बताए। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले गौरीफन्टा र गड्डौकी नाकाबाट गरी दैनिक ५ देखि ६ सयसम्म नेपाली रोजगारीका लागि भारत गइरहेको जनाएको छ।

‘आधार कार्ड र रासन कार्ड भएका र भारतीय कम्पनीले पनि प्रक्रिया पु¥याएर नेपालीलाई भारत लगिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘पछिल्ला दिनमा यी दुई नाकाबाट भारत जानेहरू बढिरहेका छन्।’  

‘भारत कोरोनाको चपेटामा नराम्ररी परेको समचार त सुन्यौँ तर के गर्नु हामीलाई त्यतै जानुपर्ने पनि बाध्यता आइलाग्यो,’ यहाँको कृष्णपुर नगरपालिका–२ का बेलुराम चौधरीले दुखेसो पोख्दै भने, ‘रोगले भन्दा भोकले मर्ने स्थिति आएपछि जेसुकै पर्ला भनेर मजदुरीका लागि हिडेको हुँ।’

लकडाउनमा परिवार पाल्न निकै नै समस्या भएकाले भारत जान लागेको उनले बताए। ‘चैतमा कोरोना त्रासले घरबाट फोन गरेर बोलाएर आइहालेँ,’ उनले भने, ‘भारतमा मजदुरी गरेन भने परिवार पाल्नै मुस्किल पर्छ।’

सुदूरपश्चिम प्रदेश सरकारले ९ हजार जनालाई रोजगारी दिने योजना बनाए पनि भारत जाने क्रम चलिरहेकै छ। यही क्रममा गड्डाचौकी नाका हुँदै भारत गइरहेका भीमदत्तनगरपालिका–१३ का इन्द्र सुनारले पनि आफू बाध्यताले परिवारसहित भारत जान लागेको बताए।  

‘धेरै समय महाकाली नदीमा बालुवा छानेर पनि परिवारको खर्च चलाएँ,’ सुनारले भने, ‘पाँच वर्षदेखि भारत गएर मजदुरी गर्दैछु।’

उनले पनि स्वदेशमा रोजगारीका अवसर नहुँदा विपतका बेला पनि मुलुक छाड्नुपरेको परेको बताए।  

प्रकाशित: २ आश्विन २०७७ १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App