२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रमाण नष्ट गर्न रुखका ठुटा गायव

सामुदायिक वनभित्र अवैध फँडानी

प्रमाण नष्ट गर्न सामुदायिक वन क्षेत्रमा प्रयोग गरिएको एक्साभेटर। तस्बिरः नागरिक

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ रामपुरस्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा भएको अवैध फँडानीको प्रमाण नष्ट गर्ने प्रयास गरिएको छ। उक्त समूहले डिभिजन वन कार्यालय बाँकेको स्वीकृती बिना करिव एक विघा क्षेत्रफलमा हुर्किरहेका रुख, विरुवा अवैध रुपले कटान गरेको थियो। वन फँडानीविरुद्ध डिभिजन वन कार्यालयले कारबाही प्रक्रिया चलाइरहेका बेला समूहले त्यस क्षेत्रमा एक्साभेटर लगेर रुखका ठुटा हटाएको हो।

‘एक्साभेटरबाट रुखका केही ठुटा उखेलेर फालिएको छ,’ एक स्थानीयले भने ‘डिभिजन वन कार्यालयले कारबाही प्रक्रिया अगाडी बढाएपछि प्रमाण नष्ट गर्न खोजिएको जस्तो देखिन्छ।’

वन फँडानी सम्बन्धी समाचार सार्वजनिक भएपछि समूहमाथि कारबाही प्रक्रिया अगाडि बढाइसकेको डिभिजन वन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख राजु क्षेत्रीले कानुनी कारबाही प्रक्रिया अगाडि बढिसकेको जानकारी दिदै कर्मचारीले पहिल्यै फोटो खिचेर ल्याइसकेको हुँदा ठुटा हटाउँदैमा केही फरक नपर्ने बताए।

यो पनि पढ्नुहोस्

गाउँपालिका र क्याम्पस बनाउने निहुँमा व्यापक वन फँडानी

‘अबैध रुख कटान भएको जानकारी पाउने बित्तिकै हाम्रा कर्मचारी पुगेर त्यहाँको फोटो खिचेर मुचुल्का उठाइसकेका छन्,’ उनले भने ‘अहिले रुखको ठुटा हटाउँदैमा प्रमाण नष्ट हुदैन, हामीसँग सबै प्रमाण सुरक्षित छ।’ वन समूहका कागजात मागेर अध्ययन गर्ने काम भइरहेको र चाडै कारबाही प्रक्रियालाई निचोडमा पु¥याइने डिभिजन वन प्रमुख क्षेत्रीले सुनाए।  

कार्यालयले वन फँडानी सम्बन्धी आवश्यक अनुसन्धान गर्न कोहलपुर सव–डिभिजन वन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत रामकुमार चौधरीलाई जिम्मा दिएको छ।

कार्यालयले घटनास्थलको मुचुल्का उठाएर पनि समूहलाई पत्र काटिसकेको छ। आफूहरु मुचुल्का उठाएर आइसकेपछि कटान गरिएका रुखका ठुटा एक्साभेटर चलाएर हटाएको भन्ने सूचना आफूलाई पनि प्राप्त भएको भन्दै सहायक वन अधिकृत चौधरीले कार्यालयसँग सबै प्रमाण सुरक्षित रहेको बताए।  

वन समूहले करिव एक बिघा क्षेत्रफलमा हुर्कदै गरेका सिसौं लगायत बहुमुल्य प्रजातिका थुपै्र रुख, विरुवा अवैध रुपले काटेको छ। सामुदायिक वनले फडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस भवन निर्माण गर्ने तयारी छ। कोरोना भाइरस महामारीको मौका छोपेर अवैध रुपमा काटिएका ठूलो परिमाणका रुख, विरुवालाई ब्यवस्थापन गरिसकेको उपभोक्ता समूहले जनाएको छ।  

यो पनि पढ्नुहोस्

फँडानीविरुद्ध डिभिजन वन बाँकेले कारबाही थाल्यो

वन समूहले भेलामार्फत गाउँपालिका कार्यालय र क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ बिघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरेपनि दशकौंदेखी हुर्कदै, बढ्दै आएका रुख, विरुवा काट्ने विषयमा डिभिजन वन कार्यालयसँग स्वीकृती नलिएका कारण अख्तियारको चरम दुरुपयोग समेत गरी आर्थिक अनियमितता गरेको संरक्षणकर्मी बताउँछन्।  वन फँडानीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छुट्टै अनुसन्धान थाल्नुपर्नेे माग गरिरहेका छन्।

वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर थापाले भने कटान गरिएका रुखका ठुटा हटाउँदै गर्दा वन कार्यालयले रोकेको बताएका छन्। ‘एक्साभेटर आएर रुखका ठुटा हटाउँदै थियो, वन कार्यालयले थाहा पाएपछि आएर रोकिदियो,’ उनले भने। डिभिजन वन कार्यालयले समुहलाई पत्र लेखेर कस्ले रुख काटेको हो ? भनेर स्पष्टिकरण सोधेको जानकारी दिदै अध्यक्ष थापाले भने, ‘यो काम सबै गाउँपालिकाको हो, गाउँपालिकाको कार्यालय भवन बनाउनकै लागि रुख काटिएको हो भनेर जवाफ दिएका छौं।’ रुख काटेको पारिश्रमिक ठेकेदारले उपलब्ध गराए पनि काठ उपभोक्तालाई वितरण गरेको उनले सुनाए।

प्रकाशित: २ आश्विन २०७७ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App