७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

फँडानीविरुद्ध डिभिजन वन बाँकेले कारबाही थाल्यो

बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा गरिएको वन फँडानीविरुद्ध डिभिजन वन कार्यालय बाँकेले कारबाही प्रक्रिया थालेको छ। वन फँडानी सम्बन्धी समाचार सार्वजनिक भएपछि वन कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो। डिभिजन वन कार्यालय बाँकेका राजु क्षेत्रीले वन फँडानी भएको स्थलमा पुगेर कर्मचारीलाई मुचुल्का उठाउन लगाइसकेको बताए।  

‘हाम्रा कर्मचारी घटनास्थलमा पुगी मुचुल्का उठाएर पनि सम्बन्धित वन उपभोक्ता समुहलाई पत्र काटिसकेको अवस्था छ,’ उनले नागरिकसँग भने ‘हामीले कारबाही प्रक्रिया अगाडि बढाइसकेका छौं।’ आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सामुदायिक वन क्षेत्रका रुख, विरुवा काटिएको ठहर भएमा वन समूहलाई कारबाही हुने डिभिजन वन कार्यालय बाँकेका प्रमुख क्षेत्रीले बताए।  

वन समूहले डिभिजन वनबाट अनुमति नै नलिएर केही समयअघि करिव एक विघा क्षेत्रफलमा रहेका सिसौं लगायत बहुमुल्य प्रजातिका रुख, विरुवा अवैध रुपले काटेको थियो। सामुदायिक वनले फडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस भवन निर्माण गर्ने तयारी छ। कोरोना भाइरस महामारीको मौका छोपेर अवैध रुपमा काटिएका ठूलो परिमाणका रुख, विरुवालाई समूहले ब्यवस्थापन गरिसकेको जनाएको छ।  

वन समूहले भेलामार्फत गाउँपालिका कार्यालय र क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ विघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरेपनि दशकौंदेखी हुर्कदै, बढ्दै आएका रुख, विरुवा काट्ने विषयमा डिभिजन वन कार्यालयसँग स्वीकृती नलिएका कारण अख्तियारको चरम दुरुपयोग समेत गरी आर्थिक अनियमितता गरेको स्रोतको दाबी छ। समूहले गरेको वन फँडानीको घटनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छुट्टै अनुसन्धान थाल्नुपर्नेे माग उठेको छ।  

कोहलपुर सवडिभिजन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत रामकुमार चौधरीले वन फँडानी भएको ठाउँमा आफुहरु पुगी मुचुल्का उठाएर पनि वन समुहलाई स्पष्टीकरणसहितको एउटा पत्र दिइसकेको बताए। ‘घटनास्थलमा पुगेर हामीले रुखका ठुटाको साइज नाप्यौं, कसरी र किन रुखहरु काटियो ? भनेर वन समूहलाई सोधेका छौं,’ उनले भने ‘समूहको जवाफ आएपछि कानुनी कारबाही प्रक्रिया अगाडि बढाउनेछौं।’ डिभिजन वन कार्यालयको स्वीकृती विना कसैलाई पनि रुख, विरुवा काट्ने अधिकार नभएको सहायक वन अधिकृत चौधरीले बताए।  

‘आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सामुदायिक वन क्षेत्रका रुख, विरुवा काटिएको ठहर भएमा वन समुहलाई कारबाही हुन्छ,’  

राजु क्षेत्री, प्रमुख डिभिजन वन कार्यालय बाँके।

सामुदायिक वन क्षेत्र नजिकै खुल्ला चउर तथा जग्गा पर्याप्त मात्रामा भएपनि वन समूहले घना जंगलभित्र गाउँपालिका र क्याम्पस भवन बनाउन जग्गा दिनुले पनि त्यहाँ आर्थिक अनियमितता भएको संकेत देखिएको वन कर्मचारी बताउँछन्। वन समूहले काटेका रुखलाई तत्कालै ‘ब्यवस्थापन’ गरिए पनि रुखका टुठा भने अहिले ताजै छन्। रुख काटिएको स्थान अहिले उजाड बनेको छ। घटनास्थलको वरिपरी भने अझै बाक्लो जंगल रहेको छ। गाउँपालिकाले उक्त क्षेत्रलाई आफ्नो लगानीमा तारबार गरेको थियो। गाउँपालिकाले तारबार गरेको ११ विघा क्षेत्रमा अझै थुप्रै रुख, विरुवा छन्। बचेका रुख, विरुवालाई पनि वन समुहले क्रमशः काट्ने योजना रहेको बताइएको छ।

वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर थापा भने गाउँपालिका र क्याम्पसले भवन बनाउने ठाउँ मागेपछि सामुदायिक वन क्षेत्रलाई दिइएको बताउँदै आएका छन्। समूहको भेलाबाट त्यस स्थानमा गाउँपालिका र क्याम्पस बनाउन दिने निर्णय भएपनि रुख काट्दा डिभिजन वन कार्यालयसँग स्वीकृती नलिएको उनले स्वीकार गरेका छन्। उनका अनुसार कुल ५२.६३ हेक्टर क्षेत्रफल मध्ये करिव ५ हेक्टर क्षेत्र गाउँपालिका र क्याम्पस निर्माणको लागि छुट्याइएको छ। 

प्रकाशित: ३० भाद्र २०७७ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App