ईशान इन्टर कलेज ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपले मुख्य प्रायोजकका रूपमा फ्रेमबक्सको साथ पाएको छ।
ई स्पोर्ट्स संघ नेपालको आयोजनामा आगामी पुस २६ र २७ गते काठमाडौंमा ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप हुँदै छ। सोही प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा एनिमेसन र भिएफएक्स अध्ययन गराउने एकेडेमी फ्रेमबक्स जोडिएको हो।
ईशानका अध्यक्ष अञ्जन धमला र फ्रेमबक्सका प्रतिनिधि अंशुकिरण शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता अवधि एक वर्षको रहनेछ। प्रतियोगितामा देशभरबाट कलेज/विद्यालयले टिम दर्ता गर्न सक्नेछन्। ईशानको वेब साइटमा टिम तथा खेलाडी दर्ता गर्न पाउने प्रावधान राखिएको ईशानले जनाएको छ।
पछिल्लो समय विश्व बजारमा माग भएको एनिमेसन र भिएफएक्सलाई नेपालमा अध्ययन गराउन सुरु गरेको फ्रेमबक्स ई स्पोर्ट्स खेलको प्रवर्धनमा जोडिएको हो। ईशान अध्यक्ष धमलाले फ्रेमबक्ससँगको सहकार्यले कलेजस्तरमा हुन लागेको प्रतियोगितालाई महत्त्वपूर्ण सहयोग पुर्याउने बताए।
फ्रेमबक्सका प्रतिनिधि शाहीले पछिल्लो समय विश्व बजारमा लोकप्रिय रहेको एनिमेसन र फिएफएक्सको कार्यक्रमलाई नेपाली विद्यार्थीसँग जोड्न पाउँदा खुसी लागेको बताए। यस प्रतियोगिता काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने हुनेछ।
प्रतियोगितामा पब्जी मोबाइल, एमएलबिबी, ई फुटबल र फ्रि फायर गरी चार विधा समावेश गरिएको छ। कुल पुरस्कार राशि पाँच लाख रहने प्रतियोगिताका लागि मंसिर ३० गतेसम्म कलेज/विद्यालयले टिम दर्ता गर्न सक्ने ईशानले उल्लेख गरेको छ।
प्रकाशित: ९ मंसिर २०८१ १०:२८ आइतबार