६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गाउँपालिका र क्याम्पस बनाउने निहुँमा व्यापक वन फँडानी

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा गरिएको वन फँडानी । तस्बिर : अर्जुन/नागरिक

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा ब्यापक वन फँडानी भएको छ। सामुदायिक वन समूहले अनुमति नै नलिएर केही समयअघि करिव एक विघा क्षेत्रफलमा रहेका सिसौं लगायत बहुमूल्य प्रजातिका रुख, विरुवा अवैध रुपले काटेको हो। सामुदायिक वनले फडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिकाले आफ्नो कार्यालय स्थापना गर्ने तयारी गरेको छ।  

उक्त समूहले डिभिजन वन कार्यालयसँग कटान आदेश तथा स्वीकृती  नलिएर अवैध रुपमा रुख काटेको पाइएको छ। कोरोना भाइरस महामारीको मौका छोपेर अवैध रुपमा काटिएका ठूलो परिमाणका रुख, विरुवालाई समूहले बिक्री, वितरण गरिसकेको बुझिएको छ। करिव साढे ६ सय उपभोक्ता रहेको उक्त समूहले यसअघि भेलामार्फत बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ विघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरेको थियो।

 स्थानीय बासिन्दाका अनुसार वन समूहले गरेको उक्त निर्णयलाई कार्यान्वयन गर्न सम्भव भने थिएन। किनकी त्यहाँ वर्षौ अघिदेखि रुख, विरुवा हुर्किदै आएका थिए। गाउँपालिका र क्याम्पसलाई भौतिक संरचना बनाउन दिने निहुँमा उपभोक्ता समूहले अहिले आएर अवैध कटान गरेको हो।

सामुदायिक वन क्षेत्रमै खुल्ला चउर, जग्गा पर्याप्त मात्रामा भएपनि वन समूहले रुख, विरुवा भएकै ठाउँलाई छुट्याएको हो। ‘गाउँपालिकाको कार्यालय र क्याम्पस भवन बनाउनको लागि सामुदायिक वनले जग्गा दिएको हो,’ एक स्थानीयले भने ‘तर रुख विरुवा भएको ठाउँलाई नै तोकेर त्यतिभित्र किन दिइयो, हामीलाई जानकारी छैन।’ अर्का स्थानीयले भने, ‘सामुदायिक वनभित्र काँचो रुख काट्न प्रतिबन्ध छ, तर गाउँपालिका र क्याम्पसलाई जग्गा दिएपछि गाउँमा विकास आउने भयो, अर्को कुरा रुख काटेपछि समूहलाई पनि आर्थिक रुपले फाईदा हुने हुँदा कानुन मिचेरै यस्तो गरिएको हो।’

वन समूहले काटेका रुखलाई तत्कालै ‘ब्यवस्थापन’ गरिएपनि रुखका टुठा भने अहिले ताजै छन्। काटिएका काँचो रुखका ठुटाबाटै प्रष्ट हुन्छ, कि त्यहाँ कत्रा र कति संख्यामा रुख, विरुवा हुर्किरहेका थिए। रुख काटिएको स्थान अहिले उजाड जस्तै बनेको छ। वरिपरी भने घना जंगल रहेको छ।  

गाउँपालिकाले उक्त क्षेत्रलाई आफ्नो लगानीमा तारबार गरेको थियो। गाउँपालिकाले तारबार गरेको ११ विघा क्षेत्रमा अझै थुप्रै रुख, विरुवा छन्। बचेका रुख, विरुवालाई पनि वन समूहले क्रमशः काट्ने योजना रहेको सामुदायिक वनका उपभोक्ताले सुनाए। ‘एकैपटक सबै रुख हटाउँदा पुरै उजाड देखिने हुँदा तारबार गरेको क्षेत्रभित्र परेका रुखलाई क्रमशः काट्ने समुहको योजना सुनिन्छ, तर सबै कुरा हामीले पनि थाहा पाउँदैनौं,’ उपभोक्ताले भने।  

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर थापा गाउँपालिका र क्याम्पसले भवन बनाउने ठाउँ मागेपछि सामुदायिक वन क्षेत्रलाई दिइएको दाबी गर्छन्। ‘वन उपभोक्ता समूहको भेलाबाट नै यो ठाउँमा गाउँपालिका र क्याम्पस बनाउन दिने निर्णय भएको हो,’ उनले भने। सामुदायिक वन क्षेत्र कुल ५२.६३ हेक्टर रहेपनि करिव ५ हेक्टर जति गाउँपालिका र क्याम्पस बनाउन दिइएको अध्यक्ष थापाले सुनाए। गाउँपालिकाको कार्यालय भवन निर्माण गर्ने तयारी भएपछि सामुदायिक वन क्षेत्रमा रहेका झाँडी र बुट्यान सफाई मात्र गरिएको उनको जिकिर छ।  

कोहलपुर सव–डिभिजन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत रामकुमार चौधरीले नवदुर्गा भगवती सामुदायिक वन समूहले रुख कटानका लागि कुनै स्वीकृती नलिएको बताएका छन्। वनको स्वीकृती बिना गरिएको काम सबै अवैध हुने उनको भनाई छ। ‘वनसँग सम्बन्धित काम गर्दा हामीसँग चाहे सरकारी निकाय नै किन नहोस्, स्वीकृती अनिवार्य रुपमा लिनुपर्छ, तर त्यस सामुदायिक वनको रुख कटान गर्दा हामीसँग कुनै स्वीकृती लिएको छैन,’ चौधरीले भने।  

बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले नवदुर्गा भगवती सामुदायिक वन उपभोक्ता समूहले उपलब्ध गराएको जमिनमा गाउँपालिका भवन निर्माण गर्न टेण्डर स्वीकृत भएर पनि काम सुरु गर्ने तयारी भइरहेको बताए। ‘झण्डै ४ करोडको लागतमा तीन तल्ले कार्यालय भवन बनाउन भर्खरै टेण्डर गरेका छौं, काम सुरु भएको छैन,’ उनले भने ‘ठेकेदारले यो वर्ष भवनको काम सम्पन्न गर्छौ भनेको छ।’  

गाउँपालिकाले उक्त स्थानमा हालै सभा हल भने निर्माण गरिसकेको छ। सभाहलको केही काम बाँकी रहेको शाही बताउँछन्। गाउँपालिकामा सरकारी जमिनको एकिन तथ्यांक नभएपनि करिव ६० प्रतिशत निजी र ४० प्रतिशत सरकारी जमिन रहेको उनले जानकारी दिए।  

बैजनाथ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष तथा कार्यपालिका सदस्य मानबहादुर खत्रीले सेवा प्रवाह गर्दा सबै वडाको केन्द्र पर्ने भएकाले उक्त स्थान छनोटमा परेको बताए। ‘सामुदायिक वन उपभोक्ता समूहले भेलामार्फत निर्णय गरेर जमिन दिएको हो,’ उनले भने ‘त्यहाँ रहेका रुख, विरुवा हटाउन हामीले फाईल सिधैं वन मन्त्रालयमा पठायौं, तर मन्त्रालयले अहिलेसम्म पनि स्वीकृती दिएको छैन।’ गाउँपालिका र क्याम्पस भवन बनाउन वन समूहले ढलापडा र कुकाठ रुख काटेको उनको जिकिर छ। वन समूहले दिएको कुल जमिनमध्ये ९ विघा गाउँपालिका र २ विघा क्षेत्रफलमा क्याम्पस भवन बनाउने योजना रहेको वडाध्यक्ष खत्रीले सुनाए।

‘वन कार्यालयबाट स्वीकृती लिएर रुख काटिएको भए कानुनी रुपमा बलियो भईन्थ्यो, तर स्वीकृती नलिएर गर्दा हामी पनि चुकेका छौं, वनसँग समन्वय गरेर अगाडी बढेको भए राम्रो हुन्थ्यो,’ उनले थपे। गाउँपालिका कार्यालयसँगै अन्य विषयगत कार्यालय स्थापना गर्नुपर्ने भएकाले धेरै क्षेत्रफल जग्गा आवश्यक परेको कार्यपालिका सदस्य खत्री बताउँछन्।

प्रकाशित: २८ भाद्र २०७७ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App