coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'एम्बुस' जस्ता सडक

दाङ होलेरी सडक खण्ड । होलेरी दहवन हुँदै जुगार जोड्ने सडक । तस्बिर : दिनेश/नागरिक

यतिबेला रोल्पाका अधिकांस सडकहरु एम्बुस बनेर रहेका छन्। हिउँदमा समेत गतिलो नहुने उक्त सडकहरु बर्षातको मौसममा झनै दिक्क लाग्दा बनेका हुन्। जिल्लाका ग्रामीण सडकसंगै मुख्य सडक समेत अस्तब्यस्त बने पनि मर्मत तर्फ सरोकारवालाको चासो पुग्न सकेको देखिदैन। विकास भनेको सडक हो भन्ने एक मात्र मान्यता बोकेका यहाँका बिभिन्न सरकारी निकायहरु स्तरीय सडक तर्फ भने मौन जस्तै छन्।  

दाङको भालुवाङदेखि लिवाङ जोड्ने सडक, घोराहीदेखि होलेरी जोड्ने अर्को मुख्य सडक लामो समय यता नाम मात्रको छ। त्यसो त जिल्लाका अधिकांस गाउँहरु सडक सञ्जालबाट टाढिएका छन्। सुलिचौर पोवाङ थवाङ जोड्ने सडक, लिवाङ घर्तीगाउँ हुँदै सहिदमार्ग जोड्ने सडक पनि अलपत्र जस्तै छ। जिल्लामा सडकको जिम्मा पाएका कार्यालय र स्थानीय सरकारले सुधार तर्फ कुनै चासो दिएका छैनन्।  

दाङको भालुवाङदेखि लिवाङ जोड्ने सडकका ठाउँ ठाउँमा माछा पोखरी जत्रा खाल्डा छन् भने भर्खरै कालो पत्रे गरिएका सडक उम्कीएर हिँड्न योग्य छैनन्। गत वर्ष कालो पत्रै गरिएको घोराहीदेखि होलेरी जोड्ने अर्को मुख्य त झनै अत्यास लाग्दो देखिन्छ। त्यसो त अलि सुगम भनिएका बिभिन्न पालिका पुग्ने सडकहरु पनि असाध्यै जोखिम पूर्ण छन्।

सामान्य मर्मतले पनि सहज संचालन हुने कतिपय सडक सुधार तर्फ कसैको चासो गएको छैन। अहिले थवाङ र सुनछहरी गाउँपालिकामा सवारी साधन पुग्न सक्ने अवस्था छैन भने गंगादेब गाउँपालिका पुग्न दाङ हुँदै सल्यानको सडक पुग्नु पर्छ। त्रिबेणी र परिवर्तन गाउँपालिकामा गाडी चढ्न पनि कुर्नु पर्ने अवस्था छ।  

गत साता दाङ, रोल्पाका सुरक्षा अधिकारीसंगै जनप्रतिनिधि सम्मिलित एक टोलीले सहिद मार्ग सुधार गर्ने भन्दै होलेरीमा बैठक गरे पनि कार्यान्वयन भएको छैन भने छलफलमा सहभागी सरोकारवालाले फर्किएर आफैले गरेको निर्णय पनि हेरेका छैनन्। कोरोनालाई बहाना बनाएका उनीहरुले गत वर्ष पनि यस्तै हुँदा यसैगरि मौनता देखाएका थिए। भत्किएको सडकमा जवरजस्त यात्रा गर्नेलाई गन्तब्यमा पुगिन्छ या पुगिदैन सधै दोधार हुने गर्दछ।  

सहिद मार्ग निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी र सिमेन्ट उद्योग टिपरहरुका कारण सडक बिग्रेको कार्यालयले बताएको छ। ‘कार्यालयले गर्ने काम गरिरहेको छ। दाङ बन्द भएका कारणले सडक मर्मतमा ढिलाई भएको हो।’ सहिद मार्ग सडक आयोजनाका प्रमुख बिष्णुबाबु पाण्डे भन्छन्, ‘दाङ, रोल्पाका सुरक्षा अधिकारीसंगै जनप्रतिनिधि सम्मिलित एक समितिले गरेको छलफल बमोजिम सिमेन्ट उद्योगका टिपरले आफ्नो जिम्मेवारी बहन गरेनन्।’

अहिले जिल्लामा कति प्रतिशत सडक संचालनमा छन् भन्ने आधिकारिक तथ्याङ्क कोहि संग नभए पनि करिब ७५ प्रतिशत गाउँहरु यातायातबाट टाढिएका छन्। ‘केहि बाहेक अधिकांस मुख्य सडकहरु चलिरहेका छन्।’ प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राना भन्छन्, ‘ग्रामिण सडकहरु पनि बर्षात सकिएपछि सफा गराएर संचालनमा आउनेछन्।’

रोल्पा नगरपालिकाकाकै कतिपय सडक यतिबेला बन्द छन्। ‘कतिपय सडक बन्द छन्। पुल नभएकाले र भत्किएकाले समस्या आएको हो।’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसि भन्छन्, ‘डिभिजन सडक चकचकेको जिम्मामा रहेको एउटा प्रमुख सडक नै उसले हेरेको छैन।’ बर्षातको कारणले सडक अवरोध भएको भनिए पनि मर्मत सुधार तर्फ भने कुनै पनि निकायले तदारुपता देखाएका छैनन्।

प्रकाशित: १७ भाद्र २०७७ ०७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App