७ वैशाख २०८१ शुक्रबार
समाज

संक्रमित खुल्न डराउँदा नियन्त्रणमा समस्या

पोखराका एक व्यक्तिमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भयो । अस्पतालमा उपचाररत ती संक्रमितले अरूसँगको सम्पर्कमा आउँदा आफूलाई संक्रमण नभएको बताउने गरेका थिए । तर उनीसँग सम्पर्क भएका अर्का एक व्यक्तिलाई पनि संक्रमण पुष्टि भएपछि बल्ल उनी खुले तर केही सीमित व्यक्तिसँग मात्रै ।

कोरोना संक्रमितहरू खुल्न नचाहेको यो एउटा उदाहरण हो । समाजले नराम्रो दृष्टिले हेर्ने डरका कारण संक्रमित हतपती खुल्न चाहँदैनन् । जसले गर्दा उनीहरूको कन्ट्याक्ट ट्रेसिङमा समस्या हुने गरेको छ । संक्रमितको कन्ट्याक्ट टे«सिङमा परेका व्यक्तिलाई पोखरा महानगरपालिकामार्फत खोजी गरेर परीक्षण गरिन्छ । तर कतिपय संक्रमितले आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिको विवरण नदिई घरपरिवारका सदस्यको मात्रै दिने गरेका छन् । उनीहरू व्यक्तिगत सम्बन्धमा रहेका साथीभाइलाई सकेसम्म आफू संक्रमित भएको बताउन चाहँदैनन् । त्यसले गर्दा अरू व्यक्ति संक्रमित हुँदा उनीहरूको स्रोत खुट्याउन समस्या हुने गरेको छ । महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा भन्छन्, ‘संक्रमितको  

कन्ट्याक्ट टे«सिङका क्रममा सम्पर्कमा आएका सबै व्यक्तिबारे खुलाइदिने हो भने पहिचान गर्न सहज हुन्छ । तर आफू संक्रमित भएको अरूले थाहा पाउँलान् भनेर सम्पर्कमा रहेका सबैको पहिचान खुलाउँदैनन् ।’

समाजले नराम्रो दृष्टिले हेर्ने भएकाले एकातिर संक्रमित आफूसँग सम्पर्कमा आएका व्यक्तिबारे खुल्न चाहँदैनन् भने अर्कोतिर कन्ट्याक्ट टे«सिङमा परेका व्यक्ति जथाभावी हिँडडुल गर्दा संक्रमण न्यूनीकरणमा समस्या परेको छ ।

प्रदेश सरकारले संक्रमित व्यक्तिको पहिचान सार्वजनिक गर्दैन । संक्रमितले नै आफ्नो सम्पर्कमा आएका व्यक्तिबारे जानकारी दिने हो भने सहज हुने शर्माले बताए । ‘आफू संक्रमित भएको जानकारी दिए सम्पर्कमा आएका व्यक्ति आफैं सुरक्षित रहन्थे,’ शर्माले भने, ‘तर हामीकहाँ सामाजिक समस्या छ । सामाजिक रूपमा दुव्र्यवहार खेप्नुपर्ने भएकाले पनि संक्रमणको जानकारी सकेसम्म दिन चाहँदैनन् ।’ संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण पनि गलत रहेको बताउँदै शर्माले थपे, ‘संक्रमित व्यक्तिलाई हेर्ने दृष्टिकोण साह्रै डरलाग्दो छ । त्यसैले संक्रमितलाई रोगभन्दा समाजको डर बढी छ ।’  

अर्कोतिर संक्रमितको कन्ट्याक्ट टे«सिङमा परेका व्यक्ति जथाभावी हिँडडुल गर्दा पनि संक्रमण न्यूनीकरणमा समस्या परेको छ । ‘कन्ट्याक्ट टे«सिङमा परेका व्यक्ति बाहिर जथाभावी हिँडडुल गर्दा उनीहरूमार्फत थप संक्रमण फैलने सम्भावना हुन्छ,’ शर्माले भने । उनका अनुुसार भारतबाट आएका केही युवकले परीक्षणका लागि स्वाब दिएर व्यापार गर्न हिँडेको समेत पाइएको छ । ‘कन्ट्याक्ट टे«सिङमा परेका व्यक्तिलाई होल्डिङ सेन्टरमा राखेर परीक्षण गर्ने हो भने सहज हुन्छ,’ शर्माले भने, ‘तर यहाँ फुक्काफाल तरिकाले हिँडडुल गरिरहेका छन् ।’

मनोचिकित्सक डा. आयुश्री गुरुङ समाजको डरका कारण संक्रमितहरू खुल्न नचाहेको बताउँछिन् । ‘कोरोनाले मानसिक डर बढी जन्माएको छ । छरछिमेकले हेर्ने दृष्टिकोणका कारण संक्रमित खुल्न चाहेका छैनन्,’ उनले भनिन्, ‘सरकारले आचारसंहिताका कारण पहिचान खुलाउँदैन । व्यक्तिले पनि सकेसम्म अरूले थाहा नपाए हुन्थ्यो भन्ने गरेका छन् ।’ साथीभाइ, छरछिमेकीले थाहा पाए भने नकारात्मक दृष्टिले हेर्छन् भन्ने मानसिकता रहेकाले पनि संक्रमित व्यक्ति खुल्न नचाहने उनले बताइन् । ‘हाम्रो समाज पनि त्यस्तै भएकाले यो अवस्था आएको हो,’ उनले भनिन्, ‘संक्रमित व्यक्ति खुल्नासाथ उनको सम्पर्कमा रहेका सबै व्यक्ति परीक्षणका लागि तानिन्छन् । त्यसैले सकेसम्म संक्रमित खुल्न चाहँदैनन् ।’

उनी उपचारमा हेल्चक्र्याइँ गरिएको भन्ने हल्लाले पनि मान्छे बढी डराएको बताउँछिन् । ‘त्यसबाहेक जनचेतना पनि पटक्कै छैन,’ गुरुङले भनिन्, ‘आफूलाई संक्रमितको रूपमा चिनाउँदा समाजले नकारात्मक दृष्टि लगाउँछ भन्ने उनीहरूको बुझाइ छ । संक्रमितलाई हेर्ने समाजको दृष्टिकोण पनि राम्रो छैन ।’

पछिल्लो समय सामाजिक सञ्जालका कारण समाजमा झनै डर बढेको उनले बताइन् । ‘सामाजिक सञ्जालमा अनेक जानकारी आएका हुन्छन् । ती जानकारीले गर्दा पनि संक्रमित खुल्न चाहँदैनन, सकेसम्म आफूलाई गोप्य राख्न चाहन्छन्,’ उनले भनिन्, ‘कोरोना डरलाग्दो हो । तर सुरक्षित हुने हो भने डराउनुपर्दैन भन्ने ज्ञान सर्वसाधारणमा छैन ।’

प्रकाशित: १७ भाद्र २०७७ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App