७ वैशाख २०८१ शुक्रबार
समाज

परीक्षण रिपोर्ट आउन ढिला हुँदा बढ्यो तनाब

हेटौंडा उपमहानगरपालिका–६ का प्रदीप ढुंगानाले कोरोना परीक्षण (कोभिड–१९) का लागि स्वाब दिएको एक साता हुन लाग्यो तर रिपोर्ट आएको छैन । आफ्नै ठाउँमा स्वाब परीक्षण हुने भए पनि रिपोर्ट आउन आउन ढिला हुँदा उनलाई चिन्ता लागेको छ । ‘छिमेकीलाई कोरोना संक्रमण पुष्टि भएपछि स्वाब दिएको थिए, रिपोर्ट अहिलेसम्म आएको छैन,’ उनले भने, ‘टोलमा सबैले संक्रमित भए झैं व्यवहार गर्छन्, प्रयोगशालाबाट रिपोर्ट आउँदैन, हामी चिन्तैचिन्तामा बस्नु ?,’ कन्ट्याक्ट ट्रेसिङमा परेका उनी नतिजा नआउँदा दिक्क छन् ।

हेटौंडा उपमहानगरपालिका–१० की ७० वर्षीया महिलाको पनि उस्तै गुनासो छ । कोरोना परीक्षणका लागि भदौ २ गते स्वाब दिएकी उनको पनि अहिलेसम्म रिपोर्ट आएको छैन । ‘धेरै दिनसम्म रिपोर्ट नआउँदा संक्रमित हो कि होइन भन्ने कुराले मानसिक तनाब भएको छ,’ उनले भनिन्, ‘रिपोर्ट नआएपछि तनाब लिएर बसेकी छु ।’ उनले पनि  कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएकी थिइन् ।

यी त उदाहरण मात्र हुन् । परीक्षणका लागि दिइएको स्वाबको रिपोर्ट आउन ढिलाइ हुँदा एकातिर घरपरिवार, समाजको दृष्टिकोणमा नराम्रो हुनुपरेको छ भने अर्कोतिर मानसिक समस्या पनि उत्पन्न भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको पहलमा भदौ २ गते पत्रकारहरूको सामूहिक स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट समयमा नआउँदा केही महिला पत्रकार तीज मनाउन घर जाने कि नजाने भन्नेमा चिन्तित थिए । धेरै दिनसम्म रिपोर्ट नआएपछि निरास भएका पत्रकारले दवाब दिएपछि भदौ ५ गते रिपोर्ट सार्वजनिक गरेका थिए ।  

बागमती प्रदेशको राजधानी हेटौंडामा चैत्र २० गतेबाट सञ्चालित कोरोना भाइरस परीक्षण प्रयोगशालाको सेवा चाँडो नभएको भन्दै चौतर्फी आलोचना हुन थालेको छ । हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालित प्रयोगशालाले स्थापना गर्दा दैनिक ६० जनाको परीक्षण क्षमता रहेको बताइएको थियो । सुरुमा कोरोना भाइरस परीक्षण गर्ने ६ सय सेट परीक्षण किट प्राप्त भएपछि बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडाका निमित्त निर्देशक नारायणबहादुर कार्कीको नेतृत्वमा ५ सदस्यीय स्वास्थ्यकर्मीले परीक्षण सुरु गरेका थिए ।  

प्रयोगशालामा हालसम्म १८ हजार ८ सय ७२ जनाको कोरोना परीक्षणका लागि नमुना प्राप्त भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक एवं चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढार्इंले बताए । ‘परीक्षणमा खासै ढिलाइ भएको छैन, कोरोना परीक्षण गर्नै लामो समय लाग्छ नि, दैनिक ४ सयसम्म परिक्षण गरेका छौं,’ उनले टेलिफोनमा भने, ‘कर्मचारीको कमीभन्दा पनि एउटै परीक्षण मेसिन भएकाले एकैपटक आएका स्वाबको परीक्षण चाँडै नसकिएको हो ।’

प्रयोगशालामा जम्मा भएकामध्ये १ हजार ३ सय ७४ जनाको स्वाब परीक्षणको क्रममा छ । तीमध्ये ५ सय जनाको स्वाब परीक्षणका लागि सोमबार प्रादेशिक प्रयोगशाला धुलिखेलमा पठाइएको उनले बताए । हेटौंडाको प्रयोगशालामा मकवानपुर, धादिङ, सिन्धुली, सिन्धुपाल्चोक तथा प्रदेश २ को बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट स्वाब परीक्षणका लागि आउने गरेको छ ।  

यता चितवनमा समयमा नतिजा नआउँदा घरमा थुनिएर बस्नुपरेको स्थानीयले गुनासो गरेका छन् । उनीहरूले स्वाब संकलन गरेर दिएको एक सातासम्म कुर्नुपरेको गुनासो गरेका हुन् । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालाको क्षमता कम छ भने नमुना संकलनको चाप बढेको छ । ‘प्रयोगशालामा हाल आठजना प्राविधिक कर्मचारीले काम गरिरहेको भए पनि समयमा नतिजा दिन सकेका छैनांै,’ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले भनिन्, ‘अहिले परीक्षणको चाप बढ्दो छ, सात घण्टामा ९६ वटा मात्र नमुना परीक्षण गर्न सक्छौं ।’

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालमा संक्रमण फैलिँदा भएका सेवा सञ्चालनका लागि चिकित्सक, स्वास्थ्यकर्मीको नमुना परीक्षण प्राथमिकतामा राखिएकै कारण क्वारेन्टिनमा बसेकाहरूको नतिजा आउन ढिला भएको बताए । यहाँको सरकारी प्रयोगशालामा जिल्लाका सात स्थानीय तह, सरकारी र निजी अस्पताल, मेडिकल कलेजसँंगै छिमेकी जिल्लाबाटसमेत नमुना आउने गरेको छ । चैत अन्तिम साता सुरु भएको सो प्रयोगशालाले हाल सम्म १८ हजार नमुना परीक्षण गरिसकेको छ ।  

प्रयोगशाला निर्माण गर्दै प्रदेश सरकार
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेटौंडा, त्रिशूली, सिन्धुली र भक्तपुरमा कोरोना परीक्षण प्रयोगशाला निर्माण गर्ने भएको छ । मंगलबार पत्रिकामा विज्ञापन प्रकाशित गरेर मन्त्रालयको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दैनिक ९ सय जनाको नमुना परीक्षण क्षमताको प्रयोगशाला निर्माणका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको छ ।

दुई हप्ताभित्रै प्रयोगशाला निर्माण सुरु हुने मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीयसचिव अनुप पौडेलले बताए । एक हप्ताको समयावधि तोकिएको टेण्डरको भदौ १६ गते नै खोलिने विज्ञापनमा उल्लेख छ । प्रदेश सरकारले आइतबारदेखि धुलिखेलमा प्रादेशिक ल्याबमा सञ्चालनमा ल्याइसकेको छ भने अन्य जिल्लामा पनि कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । 

प्रकाशित: १० भाद्र २०७७ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App