coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘आमा फोनमा रुनुुहुन्छ, म पनि संगै रुन थाल्छु’

जिल्ला बाहिर बिवाह गरेपनि माईती गाउँ नजिकैको स्वास्थ्य संस्थामा जागिरे जिवन शुरु भएकाले म र ५ वर्षकोे छोरा यतै छौं। श्रीमान रोजगारीको सिलसिलामा बाहिर हुनुहुन्छ। श्रीमानको घरमा छोरा र मेरो बेला बेलामा आउजाउ भईरहन्छ। हाम्रो घर पुग्न यहाँबाट झण्डै १० घण्टा यात्रा गर्नुपर्छ होला। अस्ती माघमा पनि घर गएर फर्किएको हुँ। बैशाखमा जाने तयारी थियो, लकडाउन लागेपछि जान पाईन, यतै छु। एक पटक घरमा पुगेर आउन पाए हुन्थ्यो, कहिले जान पाईएला ? भनेर यो बिचमा पनि स्टाफ साथीहरु संग कुरा गरिरहन्थे। म हेल्थ पोष्ट बाहेक कहिलेकाँही कामको सिलसिलामा नगरपालिका कार्यालय पुग्ने गर्छु। अन्त कतै जान्न।  

साउन अन्तिम साातादेखि कोरोनाको महामारी दोलखा जिल्ला भित्र पनि बिस्तारै सल्कीदै थियो। यही क्रममा नगरपालिकाबाट भदौ २ गते नगर भित्रका सबै स्वास्थ्यकर्मीहरुको स्वाब परीक्षण गर्ने भनेर खबर आयो। मैले सहकर्मीहरु संग सल्लाह गरे। ‘हाम्रो स्वास्थ्य संस्थाबाट तिमी नै देउ, घर जान पनि खोजेकी छौ, जानलाई रिपोर्ट काम लाग्छ’ – साथीहरु सबैको सल्लाह पछि भदौ २ गते स्वाब दिन आएँ।  

हेल्थ पोष्टमा रहँदा पनि धेरै पटक कोरोना भाइरसको विषयमा सचेतना फैलाउने जस्ता काम गरेकोले यो भाइरस सामान्य लाग्थ्यो। त्यही माथि म कतै गएको छैन, स्वास्थ्य संस्था र गाउँमा पनि बाहिरबाट नयाँ मान्छे आएका छैनन्। मलाई यो भाइरसले छुन्छ भन्ने कुराको कल्पनासम्म गरेकी थिईन।  

स्वाब दिएर घर फर्किए। आफैं, स्वास्थ्यकर्मी त्यहीं माथि स्वाब दिएर आएपछि मापदण्ड पालना गर्नुपर्ने भएका कारण भोलीपल्ट घरमै बसें।  

भदौ ५ गते स्वाबको रिपोर्ट आईपुग्यो। आफूलाई संक्रमण हुन्छ भन्नेमा रत्तिभर शंका नरहेकाले वास्तै गरिन। हाम्रो नगरबाट पठाईएका स्वाब मध्ये ६ जनामा संक्रमण पुष्टि भएको खबर सामाजिक सञ्जालमा आईरहेको थियो, रेडियोले फुकिरहेको थियो।  

यही बिचमा नगरका स्वास्थ्य शाखा प्रमुख सरको फोन आयोे – ‘तिमि कता छौं ?’ मैले आफू घरमै रहेको जानकारी दिएँ। ‘तिम्रो रिपोर्ट पोजिटिभ आयो, चरिकोट आएर आइसोलेसनमा बस’ उताबाट त्यसो भने पछि केही बेर कुराकानी गरेर फोन राखियो। मलाई शुरुमा सरले ठट्टा गरे जस्तो लाग्यो। मलाई कसरी कोरोना हुन्छ र के कारणले हुन्छ, हैन होला सर भनेर टार्न खोजें। तर त्यो रिपोर्ट साच्चीकै पोजिटिभ रहेछ।  

केही बेर अन्धकार भएर आयो। जिवनमा म आफूले सोच्दै नसोचेको र कल्पनै नगरेको भईदियो। सानो ५ वर्षको छोरा सम्झीएँ। उसको पिरले भक्कानिदै चरिकोट आईपुगे। यहाँ आईपुगेपछि डाक्टरहरु र अरु स्वास्थ्यकर्मीको माया र हौसलाले सबै चिज बिर्साइदियो।  

म प्राथामिक स्वास्थ्य केन्द्र, (प्रस्तावित चरिकोट अस्पताल)को आइसोलेसनमा छु। माईती घरमा आमाले फोन गर्नुहुन्छ। छोराको नियास्रो लाग्छ। उसंग बोल्न आफैंले पनि फोन गरिरहन्छु। आमाले हिजो सााह्रै मानसिक तनाव खेप्नु भएछ। तेरो छोरीले गाउँमा कोरोना लिएर आई, गाउँ सखाप पार्ने भई भनेर आमालाई चिनेजानेकाले गाली गरेछन्। घर फर्किएर आमा फोनमा धेरै बेर रुनु भो। संगै आइसोलेसनमा बसेको म पनि आमासंगै रोएँ।  

गाउँघरमा कसैले बिचमा काठमाडौ गएकी थिई वा घर गएकी थिई भनेर अड्कल काटेछन्। म यो बिचमा कतै गएको छैन। कहाँबाट संक्रमण स¥यो थाहा पाउन सकेकी छैन।  

ममा केही पनि लक्षण छैन। आइसोलेसनमा बसिरहेको छु। अस्पतालकी डाक्टर रिना आईरहनुहुन्छ। दूरी कायम गरेर गफ गर्नुहुन्छ। हौसला दिनुहुन्छ। स्वास्थ्य शाखा प्रमुख सरले पनि के छ, कसो छ भनेर सोधी रहनुहुन्छ। अरु साथी र सिनियरहरु पनि आईरहनुहुन्छ।

यो कोरोना केही पनि हैन। एउटा डर मात्र हो। समाजमा संक्रमितलाई हतोत्साही बनाउने र दुर्व्यवहार गराउने कुराले साह्रै मन दुख्दो रैछ। मलाई राम्ररी थाहा छ शरीरमा भाइरस पसेको १४ दिन भित्र कमजोर भईसक्छ। १५ औं दिनदेखि त्यो भाइरस अर्काको शरीरमा सर्नै सक्दैन र पूर्ण निको भईसक्छ।  

आज मेरो सानो छोरा र आमासहित मसंग सम्पर्कमा आएकाहरुको गाउँमै पुगेर स्वाब लिईयो रे। म कामना गर्छु मेरो कन्ट्याक्ट ट्रेसिङमा आएकाहरु सबैको परीक्षणको नतिजा नेगेटिभ आईदिओस। संगै संक्रमित र उनीहरुको परिवारलाई नमिठो व्यवहार नगर्न आग्रह गर्छु । दुव्र्यवहारको साटो भौतिक दुरी कायम गरेर संक्रमितलाई प्रेम र हौसला दिन सकियो भने चाडो निको हुन्छ ।    

(दोलखाकी कोरोना संक्रमित स्वास्थ्यकर्मीको कुराकानीमा आधारित अनुभव)

प्रकाशित: ९ भाद्र २०७७ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App