दुई हप्ताभन्दा लामो समयदेखि रौतहटमा निषेधाज्ञा जारी रहेकै अवस्थामा प्रहरीविरुद्ध सयौं दलितले प्रदर्शन गरेका छन् । गत साउन ३१ गते राति रौतहटको गरुडा–८ जिंगडियामा भएको दलित युवकको हत्यामा हत्या गराउनेसित मिलेर प्रहरीले निर्दोषलाई फसाएको आरोप लगाउँदै दुई हजारभन्दा बढी दलितले इलाका प्रहरी कार्यालय गरुडा अगाडि सोमबार प्रदर्शन गरेका छन् ।
गत शनिबार राति गरुडा–८ जिंगडियाका २० वर्षीय युवक निरन्जन रामको घाटी रेटेर हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाएको पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । प्रहरीले निर्दोषलाई फसाएको र दोषीलाई उम्काएको आरोप दलितहरूले लगाउँदै आएका छन् । दलितहरूले निरन्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहट गठन गरेर घटनाको निष्पक्ष छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् । संघर्ष समितिको नाममा सोमबार सयौं दलितले इलाका प्रहरी कार्यालय गरुडाअगाडि प्रहरीको ज्यादतिविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
अनुसन्धानको नाममा प्रहरीले नाबालिगलाई समातेर बलजफ्ती बयान गराई अपराधीलाई जोगाउने कार्य गरेकोमा न्यायको लागि सिंगो दलित समुदाय सडकमा उत्रिनु परेको दलित मुक्ति मोर्चाका अध्यक्ष तथा राष्ट्रिय सभाका पूर्व सांसद रामप्रित पासवानले आरोप लगाएका छन् ।
पूर्व सांसद पासवानले पैसाको बलमा प्रहरीले अपराधीलाई उन्मुक्ति दिई निर्दोषलाई फसाएको आरोप लगाउँदै वास्तविक दोषीलाई कानुनी दायरामा नल्याएसम्म दलित समुदायको संघर्ष जारी रहने चेतावनी दिएका छन् ।
युवक रामलाई विभत्स हत्या गराउने सच नर्सरीका सञ्चालकलाई समात्नुपर्नेमा अन्य व्यक्तिलाई समातेर कारबाही चलाउँदा दलितहरू सडक संघर्षमा उत्रिनु परेको उनी बताउँछन् । सोमबार गरुडाम भएको सयौं दलितको प्रदर्शनलाई पासवानले झलक मात्र भएको बताउँदै प्रहरीले आफ्नो गल्ती नसच्याएमा आन्दोलनको ठूलो सुनामी आउने र निर्दोषलाई फसाएर दोषीबाट ठूलो रकम लिने इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोलाई कारबाही गराएरै छाड्ने प्रतिक्रिया दिएका छन् ।
निरञ्जनलाई घाटी रेटेर हत्या गर्ने स्थानीय शेष आजादको ११ वर्षीय नावालिकालाई इप्रका गरुडाले समातेर पाँच घण्टासम्म ठूलो मानसिक यातना दिएर निरन्जनसित अनैतिक सम्बन्ध रहेको बयान गराउन खोजेको आरोप लगाइएको छ । प्रहरीले भनेजस्तै बयान दिए तिम्रो दाजु शेख आजादलाई छोडिदिने प्रलोभन पनि प्रहरीले दिएको संघर्ष समितिले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । डिएसपी महतोले दलित युवकलाई जानी जानी फसाएको आरोप पनि लगाइएको छ ।
इलाका प्रहरी कार्यालयमा न्यायको लागि गुहार माग्न जाँदा पीडित परिवारमाथि डिएसपी महतोले लाठी चार्ज गर्नुका साथै दलितलाई सखाप पारिदिने धम्की दिएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
देशभर कोरोना महामारीको संकट रहेको र रौतहटमा निषेधाज्ञा रहेको अवस्थामा सयौंको भीड जुटाएर निषेधाज्ञाको उल्लंघन गर्नु राम्रो हो ? भन्ने नागरिक दैनिकको प्रश्नमा पूर्व साँसद एवम् दलित अधिकारकर्मी पासवानले लकडाउनको समयमा दलितलाई टार्गेट गरेर हत्या गराउने कार्य भइरहदा कोरोनाबाट केही नहुने तर न्याय माग्दा कोरोनाको भय देखाउने काम दलितलाई भइरहेको आरोप पनि लगाएका छन् । लकडाउनको अवधिमा देशभरमा दलितमाथि दुई दर्जनभन्दा बढी जघन्य अपराधको घटना भएको आरोप लगाउँदै पासवानले कोरोनाबाट मर्ने वा बाँच्ने एउटा पक्ष आफ्नो ठाउँमा जायज हुँदाहुँदै पनि दलितमा भइरहेको ज्यादतिविरुद्ध आफूहरू जोखिम मोलेर आन्दोलनमा उत्रिनु बाध्यात्मक अवस्था भएको बताएका छन् ।
दलित आन्दोलनकर्मीहरूले लगाएको आरोप राजनीति प्रेरित भएको र सरासर गलत रहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी महतोले बताएका छन् । दलितहरूले भनेजस्तै नर्सरीका सञ्चालकलाई फसाउन नमान्दा अनेक किसिमको जथाभावी आरोप लगाएकामा ती आरोपहरुको खण्डन गर्दै डिएसपी महतोले पक्राउ परेकाहरूले आफूहरुले हत्या गरेको स्वीकार गरिसकेको बताएका छन् । हत्या गर्ने मूल आरोपी र उसलाई साथ दिने साथीहरू सबै पक्राउ परिसकेको र इलाका प्रहरी गरुडामा पत्रकार सम्मेलन गरी अपराधीहरूलाई सार्वजनिक गरिसकेको तथा थप अनुसन्धान भइरहेको महतोको भनाइ छ ।
देशमा विद्यमान ऐन कानुनअनुसार आफूले काम गरेको र घटनामा प्राप्त प्रमाणहरूका आधारका साथै प्रत्यक्ष संलग्नहरूको बयानको आधारमा प्रहरी अगाडि बढिरहेको महतोको दाबी छ । अपराधीले कुनै पनि अवस्थामा उम्किन पाउन हुँदैन र निरपराधले सजाय पाउनु हुँदैन भन्ने मान्यतामा आफू अडिग रहेर काम गरिरहेको पनि महतोको भनाइ छ ।
प्रकाशित: ८ भाद्र २०७७ १४:५९ सोमबार





