कोरोना भाइरसका संक्रमित बढ्दै जान थालेपछि दोलखा प्रशासनले आइतबार साँझबाट जिल्ला भित्र आउजाउमा कडाई गर्दै निषेधाज्ञा जारी गरेको छ।
जिल्लाको गौरीशंकर गाउँपालिकामा ८ जना संक्रमित भेटिएपछि साउन ३२ गते एक साताका लागि लकडाउन घोषणा गरेको प्रशासनले पछिल्लो ५ दिनमै जिल्ला सदरमुकाम चरिकोट र गौरीशंकरमा गरेर १० जना संक्रमित भेटिएपछि आउजाउमा कडाई गर्दै निषेधाज्ञा जारी गरेको हो।
आइतबार आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले अत्यावश्यक काम बाहेक मानिसहरुलाई घरबाट बाहिर निस्किन रोक लगाएका छन्। यस्तै उनले खाद्यबस्तु, तरकारी, दूध, निर्माण सामग्री बोक्ने गाडी र सञ्चारकर्मीका सवारी बाहेकका सवारीलाई जिल्ला भित्र आउजाउ गर्न पूर्ण रुपमा रोक लगाएका छन्।
यस्तै खाद्यान्न, तरकारी पसल र दूध डेरीलाई बिहान निश्चित समयमा मात्र खोल्नु भनिएको छ। सरकारी तथा गैरसरकारी कार्यालयमा आन्तरिक काम गर्नुपरे मात्र गर्ने अन्यथा बन्द गर्नु भनिएको छ। प्रशासनले भदौ १० गते मध्यरातसम्म यो आदेश लागू हुने बताएको छ।
दोलखामा दुई साताको बीचमा १८ जना संक्रमित फेला परिसकेका छन्।
प्रकाशित: ७ भाद्र २०७७ १०:३६ आइतबार





