साउन २८ गते मध्यरातिदेखि लागू ११ दिने निषेधाज्ञालाई उदयपुर प्रशासनले थप ५ दिन लम्ब्याउने भएको छ। जिल्ला प्रशासनमा शुक्रबार बसेको ‘जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुर’को बैठकले जिल्लाका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा जारी निषेधाज्ञालाई आउँदो १२ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।
भदौ ७ गतेसम्म तोकिएको निषेधाज्ञालाई ५ दिन थपेर १२ गतेसम्म निरन्तरता दिने र अन्य समसामयिक विषयमा बिभिन्न निर्णय बैठकले गरेको बैठकमा सहभागी जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए। उनका अनुसार जिल्लाभित्र स्वास्थ्य सुरक्षा मापदण्ड कडाई गर्ने गृह मन्त्रालयको निर्देशन अनुसार निषेधाज्ञालाई पूर्ण पालना गराउन सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा १० सदस्यीय अनुगमन समितिको गठन पनि गरेको छ।
सहायक सिडिओ संयोजकत्वको अनुगमन समितिमा जिल्ला प्रहरी र सशस्त्र प्रहरी बलका डिएसपीद्वय, स्वास्थ्य कार्यालय प्रमुख, खाद्य प्रविधि डिभिजन निर्देशक, सम्बन्धित नगरपालिकाका अधिकृतस्तरका एक कर्मचारी सदस्य रहनेछन्। त्यस्तै नेपाल पत्रकार महासंघ, नागरिक समाज, उद्योग बाणिज्य संघ र महिला मानवअधिकार रक्षक सञ्जालका प्रमुख तथा प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ।
बैठकले पिसिआर परीक्षण गर्न चाहने या ‘कन्ट्याक्ट ट्रेसिङ’मा पर्नेलाई रिपोर्ट नआएसम्म अनिवार्य होम क्वारेन्टिनमा बस्ने सर्तमा मात्र स्वाब संकलन गर्ने निर्णय गरेको छ। त्यसैगरी राष्ट्रसेवक कर्मचारीलाई विदामा बस्न नदिने तथा बाहिरबाट सरुवा भएर आउने कर्मचारीलाई अनिवार्य स्वाब संकलन गरेर परीक्षण रिपोर्ट नआएसम्म कार्यालय प्रमुखले क्वारेन्टिनमा बस्न लगाउने निर्णय गरेको छ।
कोभिड संक्रमणबाट बच्न र बचाउन स्थानीयतहहरुले गाउँगाउँ र वडावडासम्म सचेतना अभियानलाई निरन्तरता दिन, अत्यावश्यक खाद्य पदार्थको आपूर्ति, ढुवानी, भण्डारण र बिक्री वितरणमा पूर्ण रुपमा स्वास्थ्य सावधानी अपनाउन उद्योग बाणिज्य संघमार्फत सहजीकरण गर्न बैठकले निर्देशन दिएको छ। जिल्ला स्वास्थ्य कार्यालयलाई जिल्लाभरीको संक्रमितको तथ्यांक अद्यावधिक राख्दै निको भएका विरामीको विवरण राखेर आवश्यक परे प्लाज्मा थेरापीका लागि स्वैच्छिक प्लाज्मा दान गर्न चाहनेलाई तोकिएको फाराम भरेर राख्न अनुरोध गरिएको छ।
त्यसैगरी कोभिडका कारण मृत्यु हुनेहरुको शव व्यवस्थापन गर्न त्रियुगा नगरपालिका र अन्य स्थानीयतहहरुलाई समन्वय गर्न बैठकले आग्रह गरेको छ। उदयपुरमा हालसम्म ३१ महिलासहित १ सय ११ जनामा संक्रमण भईसकेको छ। समुदायस्तरमा फैलिएको कोरोनाबाट सबभन्दा बढी त्रियुगा नगरपालिकामा ६५, बेलकामा ३२, कटारीमा ७, चौदण्डीगढीमा २, ताप्लीमा ३ र उदयपुरगढीमा २ जना संक्रमित पाइएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुबेदीले बताएका छन्।
सुबेदीका अनुसार जिल्लाभरी हालसम्म १ हजार ७ सय ६६ महिला र ५ हजार ८६ पुरुष गरी ७ हजार ८ सय ५२ को स्वाब संकलन गरी परीक्षण गरिएको छ।
प्रकाशित: ६ भाद्र २०७७ ०६:५४ शनिबार





