७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

निर्बाध आउजाउले फैलिँदै संक्रमण

लकडाउन खुलेसँगै खुला सीमामा सरकार र समुदाय दुवै पक्षबाट भएको लापरबाहीले फेरि संक्रमण बढ्न थालेको छ। प्रदेशमा पछिल्लो तीन सातामा साढे ५ सय संक्रमित थपिएका छन् तर सावधानी नगन्य छ। सरकारी कार्यालयको लापरबाही उस्तै छ भने मास्कको प्रयोग नगन्य छ। विभिन्न संघसंस्था र राजनीतिक दलका भीडभाडयुक्त कार्यक्रम पनि चल्दै आएका छन्।

बढ्दो चहलपहल, खुकुलो नाका, टेष्ट र क्वारेन्टिन व्यवस्थापनमा गरिएको लापरबाहीले संक्रमण समुदायमा पसिसकेको छ। स्थानीय तहहरूले बजेट अभावको कारण देखाउँदै क्वारेन्टिन खुम्च्याउँदै लगेका छन्। जोखिम क्षेत्रबाट आएकालाई पनि क्वरेन्टिानमा राखिँदैन। अधिकांश संक्रमितलाई होम आइसोलेसनमा पठाइएको छ। यसकै कारण बाँके, कपिलवस्तु, बर्दिया, रुपन्देही र प्युठानमा संक्रमण समुदायमा फैलिएको छ। बाँकेमा बिहीबारदेखि सोमबारसम्म पुष्टि भएका १ सय ५८ जना ट्राभल हिष्ट्री नभएका हुन्। फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, सेना, स्वास्थ्यकर्मी, पत्रकार, सांसद, नगरपालिका, राजस्व, यातायात, अदालत कारागार र विद्युत्का कर्मचारी संक्रमित भएका छन्। कपिलवस्तुमा व्यापारी, स्वास्थ्यकर्मी, कर्मचारी, कपडा, जुत्ता, मिठाइ तथा पान पसले संक्रमित भएका छन्। बर्दिया, दाङ्ग, प्युठान, नवलपरासीमा ट्राभल हिष्ट्री नभएकालाई पनि संक्रमण देखिएको छ। रुपन्देहीमा बैंकका कर्मचारी, जनप्रतिनिधि, औषधि व्यवसायी, स्वास्थ्यकर्मी र भारतीय मजदुरमा संक्रमण देखिएको छ।  

तराईका जिल्लामा व्यापारिक प्रतिष्ठान, उद्योग, सैलुन, फुल्की, पान पसले, टायल मावर्ल र ग्रिल उद्योगमा भारतीय कामदार बिना रोकटोक आइसकेका छन् उनीहरूर्ला न स्थानीय तहले क्वारेन्टिनमा राखे न त टेष्ट नै गरियो। फलस्वरुप अहिले तीनै भारतीय कामदारमा संक्रमण देखिएको छ। रुपन्देहीमै सिमेन्ट उद्योगमा कार्यरत ११ जनालाइ संक्रमण पुष्टि भएको छ।  

नेपालका सीमावर्ती भारतीय बस्तीमा संक्रमण बढ्दै गएको खबर भारतीय अखबारमा भेटिन्छ। तर तिनै बजारमा अहिले पनि नेपालीहरू किनमेलका लागि जान्छन्। सरकारले मुख्यनाकाबाट मात्रै आवतजावत गर्न दिने भनेको छ। तर अहिले पनि रुपन्देही, नवलपरासी र कपिलवस्तुका भित्री नाकाबाट निर्वाध आवतजावत र अवैध तस्करी भइरहेको छ। यी जिल्लाका सीमावर्ती क्षेत्रमा लाग्ने हाटमा दुवै देशका नागरिकले पसल थाप्छन्। किनमेल गर्छन्। जसले संक्रमण निम्त्याइरहेको छ।  

बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तिलक भुसालले नाकामा कडाइ नगर्दा र जोखिम क्षेत्रबाट आएकालाइ टेष्ट नगरी सिधै घर पठाउँदा संक्रमण समुदायमा पसेको बताए। प्रदेश ५ मा पहिलोपटक वैशाख १९ गते रुपन्देही र बाँकेमा एक÷एक जना कोरोना संक्रमित भेटिएका थिए। यो प्रदेशमा आइतबारसम्म संक्रमितको संख्या ४ हजार ६ सय ५ पुगेको छ।  

केही दिनयता रौतहटको राजदेवी, कटहरिया र गरुडा नगरपालिकामा दर्जनौं मानिसमा कोरोना संक्रमण देखिएपछि जिल्लामा त्रासको वातावरण देखिएको छ। मंगलबार रौतहटको गरुडामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा दुईजना स्वास्थ्यकर्मी पनि रहेका छन्। बाँकी नौ जना सर्वसाधारण हुन्। गरुडा नगरपालिका वडा नम्बर ३ मा यसअघि एकजनाको कोरोना संक्रमण पुष्टि भएकोमा कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षण गर्दा थप चारजनामा संक्रमण पुष्टि भएपछि गाउँमा त्रास फैलिएको स्थानीय एकजना राजनीतिकर्मीले बताए।

यसैगरी, सोमबार कटहरिया नगरपालिकाका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि कटहरियामा पनि त्रास देखिएको छ। स्थानीयबासीमा निकै सजगता अपनाएको छ। 

प्रकाशित: २९ श्रावण २०७७ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App