६ आश्विन २०७७ मंगलबार
समाज

बन्दाबन्दीमा साइकल यात्रा

यात्रा

चैत एघारबाट बन्दाबन्दीको घोषण भयो । हातका औंला भाँच्दा भाँच्दै लकडाउन थपिँदै गयो । बन्दाबन्दी खुल्ने आसमा दिन बिते । अन्योल बढ्दै गए । विश्व सम्पदा दिवसको उपलक्ष्यमा टुर डे लुम्बिनी नामक संस्थाले आयोजना गर्दै आएको ‘सम्पदा साइकल’, बुद्ध जयन्तीका अवसरमा हुने बहुचर्चित ‘टुर डे लुम्बिनी’ लुम्बिनी शान्ति साइकल यात्रा २०७७ स्थगित भयो । त्यसो त दुई हजार वर्षभन्दा अघिदेखि मनाइँदै आएका बिस्केट जात्रा लगायत धेरै मौलिक जात्राहरु स्थगित भए ।      

देश विदेशका विभिन्न स्थानका सैयौंको संख्यामा साइकल प्रेमी सहभागी हुन्थे । काठमाडौंको स्वयम्भू भगवान् पाउबाट सुरु भई चित्लाङ, दामन, हेटौंडा, चितवन, रजहर, बुटवल हुँदै चौथो दिन लुम्बिनी पुगिन्थ्यो । साँझ शान्ति दीप बालेर समापन गर्ने चारदिने कार्यक्रम । कतिपय साइकल प्रेमीहरुले सामाजिक सञ्जालबाट पुराना स्मरण साटे । कतिले जान नपाएकोमा दुःख मनाउ गरे । कार्यक्रम संयोजकको नाताले कार्य क्रम स्थगित गर्नु परेकोमा दुःख पनि लाग्यो । लामा दूरीका वा छोटा दूरीका कुनै पनि औपचारिक साइकल यात्राका कार्यक्रमहरु हुन सकेनन् । तर कामकाजका लागि भने साइकलको प्रयोग गर्न सहज थियो । लकडाउन थपिए सँगै मानसिक बेचैनी र शारिरिक समस्याले चुनौती थपियो । मानसिक र शारीरिक स्वास्थ्यका लागि व्यायामको पनि आवश्यकता पर्ने । हाम्रा लागि यी सबै मुद्दा सम्बोधन गर्ने सजिलो सवारी साधन साइकल नै थियो ।

१. चक्रपथमा मिलेको मानसिक शान्ति  

तर्साउनुसम्म तर्सायो यो कोरोना नामको विषाणुले । त्राहिमाम बनायो मानव समुदायलाई कोरोनाले । बन्दाबन्दी भएको डेढ महिना भइसकेको थियो । कहिले सम्म बन्दाबन्दी हुने टुंगो थिएन । आकस्मिक कामले मावली जानु पर्‍यो । सबेरै साइकल लिएर निस्किएँ । विनारोकतोक मावली नजिक त पुगियो तर हाउजिङको गेटबाट भित्र छिर्न दिएन । जोखिम न्यूनीकरण गर्न आचरसंहिताको पालना त गर्नै पर्‍यो । दाजुसँग गेटबाहिरै भेटघट भयो । फर्किएर चाबहिलसम्म आइपुग्दा चक्रपथ फन्को मार्ने भूत सवार भयो ।  

चोक चोकमा तैनाथ सुरक्षाकर्मी । मनमा डर थियो केही भन्ने हो कि ? अनुहारै नहेरी हुईकिएँ । सुरक्षाकर्मीले के सोचे कुन्नी, मैले चाहिँ सुनसान सडक, दिन मेरै सम्झिएँ । सडक विस्तारले लगभग उजाडिएको चक्रपथका बचेखुचेका रुखमा फुलेको ढकमक्क फूल । सफा सडक । घमाइलो बिहानी । चकमन्न सडक । कल्पनाकै संसारमा घुमे सरी । ज्यानले स्वर्णजयन्ती मनाउँदै गर्दा एक घण्टामा चक्रपथ परिक्रमा सकियो । डेढ महिनापछि पहिलोपटक । केही दिनलाई मानसिक शान्ति मिल्यो चक्रपथको कुदाइले ।  

२. साइकलेलाई सहानुभूति  

बन्दाबन्दीमै सुटुक्क चक्रपथ परिक्रमा गरेको संघर्ष विष्ट दाइलाई बताएँ । साहसिक खेलका पारखी दाजु साइक्लिङ, प्याराग्लाइडिङ, फ्रेस वाटर स्विमिङका अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका । प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय प्रतियोगिताको अन द स्पट ल्याण्डिङ विधामा त दुई पटकका विजेता पनि । दाजुलाई पनि साइकलमा सवार हुने धुनले डेरा जमायो । एकजना कर्मचारीलाई खर्चपर्च दिनुपर्ने भएकोले बाहिर निस्कने राम्रै बहाना मिल्यो । दाजुभाइ ठमेलमा भेट्ने सल्लाह भयो । सधैँ खचाखच ठमेल निक्कै चकमन्न थियो त्यो दिन । कमचारीलाई लाजिम्पाटमा भेट्नुपर्ने । बाटो पायक पर्ने छोटो साइकल यात्राको गन्तव्य बुढानीलकण्ठ रोज्यौं । ठमेलबाट करिब दस किमी. । बाँसबारीसम्म एकाध सवारी साधन भेटिए । त्यो भन्दामाथि निक्कै सुनसान । सुनसान  सडकमा साइकल । आहा । गफ गर्दै बुढानीलकण्ठ पुगियो । मन्दिरको उत्तरतर्फको ढोकामा मात्र ताला लागेको थिएन । दर्शनपछि बुढानीलकण्ठको परिक्रमापश्चात् हामी फर्कियौँ ।          

चोक चोकमा सुरक्षाकर्मी थिए । पास नभएका सवारी साधन नियन्त्रणमा राखे जस्तै देखिन्थ्यो । मन मनै मलाई पनि डर थियो । तर सहजै यात्रा गर्न पाइयो । साइकलेलाई सहानुभूति दिएकोमा सुरक्षाकर्मीाई मन मनै धन्यवाद दिएँ ।

   

३. मिठाईको माधुर्य

सुरक्षाकर्मीले साइकप्रति देखाएको सहानुभूती मानसिक शान्ति र शारीरिक व्यायामका लागि प्रेरक लाग्यो । हप्तामा एक दिन हल्का साइकल यात्रा गर्दा निक्कै सकारात्मक परिवर्तन महसुस भयो । बिहीबारको दिन ।

बन्दाबन्दीले शहरको स्वरुपमा एक किसिमको नौलोपन ल्याएको थियो । भीडभाड, धुवाँ, धुलो, फोहोर, प्रदूषण, हल्ला खल्लारहित, साफ, शान्त र सुन्दर । त्यसको अनन्द लिँदै कुपण्डोल, पाटन ढोका हुँदै बंगलामुखी मन्दिरतर्फ हाम्रा साइकल मोडिए । मन्दिर बन्द थियो । बाहिरै बाट दर्शन गर्‍यौं ।  

पाटन पुगेपछि मिठार्ईको तिर्सनाले कृष्ण मन्दिरतर्फ डोर्‍यायो । मन्दिरको पश्चिमतर्फको मिठार्ई पसल बिहान दस बजेसम्म मात्र खुल्ने रहेछ । मैले तात्तातो जेरी स्वारीले तिर्सना मेटाएँ । दाजुले साहुजीलाई दुईजनाकै लागि थरी थरीका मिठार्ईका पोका बनाउन लगाए ।

चौडा चक्रपथ । चिल्ला बाटोका दुवै किनारमा फुलेका रंगिन फूल । यस्तो आनन्द त भाग्यले नै जुराएको मान्नु पर्छ । साइकल सफरको आनन्द लिँदै आ–आफ्ना घर लाग्यौं । दुई महिनाभन्दा बढी समयदेखि पिँजडाको पक्षी जस्तै भएर बसेका बालबच्चा निक्कै रुखिएका रहेछन् । नयाँ वर्ष, आमाको मुख हेर्ने दिन, बुद्धजयन्तीलगायतका चाडपर्वहरुमा पनि मिठाई बाट वञ्चित थिएँ । मिठार्ईको माधुर्यता घरका केटाकेटीहरुको मुहारमा झल्कियो ।

    

४. माननीयको मोह

सडकको सञ्जाल विस्तार भएसँगै अनन्त लिङ्गेश्वर जाने रुट धेरै छन् । सोमबारको दिन पारेर हामी कोटेश्वरबाट ठिमी चोक, गाम्चा दधिकोट हुँदै करिब १० किमीको दूरी पार गरेर अनन्त लिङ्गेश्वर पुग्यौं । २०७२ सालको भूकम्पको क्षतिपश्चात् पुनः निर्मित अनन्त लिङ्गेश्वर मन्दिर निक्कै चित्ताकर्षक छ । करिब १४३० मी. उचाइमा अवस्थित मन्दिर प्राङ्गणमा निर्मित कुण्ड, वासुकी नाग, उमा महेश्वर, लक्ष्मी, सरस्वती, गणेश, जलहरि, अन्नपूर्णा, बसाहा वनदुर्गा गरुड आदिका मूर्ती निक्कै शोभायमान बनाएको छ । बाक्लो जंगलको बीचमा अवस्थित महादेव मन्दिर परिसरको शान्त वातावरणमा समय बिताउँदा स्वर्गीय आनन्दानुभूत भयो ।  

मन्दिर क्षेत्र, सडक, पुल पुलेसा लगायत भौतिक विकास निर्माणका काम निरीक्षण गर्न आएका भक्तपुर क्षेत्र नं. २ का माननीय सांसद महेश बस्नेत भेटिए । यस भेगमा साहसिक खेल, धार्मिक पर्यटन, पर्या पर्यटन विकास तथा प्रवद्र्धनका लागि विभिन्न योजना रहेको बताए । अनन्त लिङ्गेश्वरबाट बालकुमारीसम्म आइपुग्दा भौतिक पूर्वाधार विकासमा काम धमाधम भइरहेको देखियो । माननीयको विकास मोहलाई मान्नै पर्छ । अनन्तलिङ्गेश्वरबाट दधिकोट, चित्रपुर, बालकोट, बालकुमारी, मंगल बजार हुँदै फर्कियौं । मंगल बजारसम्म आइपुग्दा लगभग १० किमी को दूरी तय हुन्छ । 

 

५. डुलुवा बानीले बरालिएको मन

लक डाउन ! प्रवेश निषेध ! बाटोमा बाँसको बाक्लो तगारो, काठका मुसलफलामका कवाडीले बन्द बाटो । बढेमा तुलमा खबर्दारी । विभिन्न ठाउँमा देखिनु स्वाभाविक नै थियो । आफूलगायत समुदायलाई संक्रमणबाट बचाउनका लागि । मनमा संकोच र डर । मान्छे सम्म छिर्न सक्ने दुलोबाट बाटो छिचोल्दै गन्तव्यतिर डराइडराइ जानुपर्ने । सरकारले लकडाउन खुकुलो पार्ने संकेत दिएसँगै हामी केही उत्साहित थियौं ।  

साना गाउँ विष्णुडोल हुँदै विशंखु नारायण जाँदा चौरमा गाई चराउँदै गरेकी महिलाले हकारिन् । के लकडाउन खुलि सक्यो ? यसरी हिँडडुल गर्नु हुँदैन । आफू, परिवार तथा जो कोहीलाई जोखिममा पार्न सक्छ ।’ डुलुवा बानीले बरालिएको मन बुझाउनै गाह्रो ।

सधैँ भीडभाड हुने विशंखु नारायणमा केवल हामी दुई मात्र थियौं । साँघुरो गुफाभित्र नारायणको मुख्य पूजा स्थल । गुफाको बाहिरी भागलाई फलामे सिक्रीले घेरिएको मन्दिर विशंखु नारायण । हरि बोधनी एकादसीका दिन विशंखु नारायणमा ठूलो मेला लाग्ने मन्दिर भएको डाँडाको प्राकृतिक बनावट निक्केै चाख लाग्दो छ । वर्षादको मौसम चारैतर्फ हरियालीले ढपक्क ढाकेको छ । यहाँसम्म आइपुगेपछि यहाँको शान्त वातावरणमा भगवान्को दर्शन, स्मरण गर्दै आराम गरियो ।  

एक दशक पहिले र अहिले यस भेग निक्कै परिवर्तन भइसकेको छ । साघुरा कच्ची बाटो फराकिलो पिचमा परिणत भएको छ । लहलह धान फल्ने खेत खलियान बस्तीमा परिणत भएका छन् । सिंचाइका कुला मासेर ढल जडान भएका छन् । वर्षाको पानी ढलमा नअटाएर बाटोभरि छताछुल्ल भएको छ । कृषि क्रान्ति, आन्तरिक उत्पादनमा आत्मनिर्भर, स्मार्ट सिटी, स्वच्छ हराभरा, आदि इत्यादि अटेसमटेस नारा दिमागमा खेलाउँदै ग्वाखुतिर हुइँकियौं ।  

७. चाँगु नारायणको निम्ता

सामान्य अवस्थामा श्रद्धालु भक्तजन, आन्तरिक तथा बाह्य पर्यटकको दिनभरि आवागमन भइरहने मन्दिर परिसर लगभग सुनसान थियो । फाट्टफुट्ट खुलेका हस्तकलाका सामग्रीका पसलबाहेक बन्द प्रायः होटल तथा रेष्टुरेण्ट, पार्किङमा थन्किएका गाडी । एक किसिमको सन्नाटा थियो ।    

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएको मूल मन्दिरको पुनर्निर्माण सम्मन्न भइसकेको छ । तर अन्य संरचनाका पुनर्निर्माण कार्य भने बन्दाबन्दी खुकुलो भएसँगै सुचारु भइरहेको थियो ।  

छिन्न मस्ताको मन्दिर, टुँडालमा कुदिएका देवी देवताका विभिन्न मुद्राका आकृति, हात्तीका प्रस्तर मूर्ति,  धातु मूर्ति, विष्णु भगवान्का दशावतार, वामन अवतार, नृसिंह अवतार, किलेश्वर महादेव, गरुडमाथि विराजमान भगवान् विष्णुको मूर्ती निक्कै फुर्सदले हेर्दै परिक्रमा ग¥यौं । कुरै कुरामा पुजारीसँग भेट भयो ।  केही दिनपछि हरिशयनी एकादशी आउँदै थियो । एकादशीको पछिल्लो दिन ठूलो पूजा हुने बताउनु भयो । चाँगु नारायणको निम्ता सम्झेर फेरि जाने निर्णय गरेर फर्कियौं ।  

करिब २७ वर्षअघि हामी दुई हाइकिङ गर्दै पुगेका थियौं । अहिले साइकलमा पुगेका छौं । उस बखत अहिलेको जस्तो बाटो, पुलपुलेसा, यातायातको सञ्जाल विकास भइसकेको थिएन । मनहरा फाँटमा बसाइ सर्दै आउने हाँसका बथान देखिन्थे । गाउँ बस्ती पातलो थियो । फाँटमा लहलह अन्नबाली झुल्थे । अन्न बाली झुल्ने खेतमा घर, टहरा भरिँदैछ । केही घरका बगैंचामा सिमेन्टका हाँस भेटिन्छन् । समय निक्कै बदलिएछ ।

  

८. मान्छेदेखि मान्छे भयभित हुने जमाना

विश्व भूमण्डलीकरण पश्चातको परिप्रेक्षले संसारलाई विश्वव्यापी गाउँ बनायो । संसारभरका मान्छे विश्वव्यापी नागरिक बने । केही न्यून आय भएका मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्यो । संसार एउटा लयमा चलिरहेको थियो । बेलाबखत विभिन्न रोगको संक्रमणले विश्व समुदायलाई तरङ्गित  त बनाई राखेकै थियो । उचित व्यवस्थापनले समयमै रोकथाम भयो । तर चीनको बुहान प्रान्तबाट फैलिएको  कोरोना विषाणुले भने संसारभर सञ्जाल फैलायो । संक्रमण रोक्न युरोपेली मुलुकलगायतले अन्तर्राष्ट्रिय उडान, सीमा, नाका बन्द र हिँडडुलमा प्रतिबन्ध लगाए । हामीलाई पनि अछुतो त राखेन ।  

कोरोना छिट्टै निर्मूल होस् भन्ने आशा राखेर आशापुरेश्वर महादेवको दर्शन गर्न गयौं । आशापुरेश्वर महादेव भक्तपुर जिल्लाको सूर्य विनायक नगरपालिकामा पर्छ । अहिले बाटोको सञ्जालले गर्दा आशापुरी पुग्ने धेरै रुटहरु छन् । आफ्नो रुचिअनुसार चयन गर्न सकिन्छ ।  सजिलो बाटो भने डोलेश्वर महादेव मन्दिर हुँदै हुन सक्छ । करिब पाँच किमी पूर्व, काभ्रे पलाञ्चोकको सिमानामा । सुनसान, बन्द मन्दिरमा धुप बत्ती जलाएर दर्शन गरी हामी चिया ब्रेकका लागि वीरबहादुर तामाङ दाइको पसलमा गयौँ ।  

कुराकानीको क्रममा उनले हालसालै मात्र पसल खोलेको बताए । बन्दाबन्दी सुरु भएपछि शहरबाट गाउँ फर्कनेको लर्कनै लाग्यो । मानिसहरु आए कि त्राहि माम भएर ढोका थुनेर बस्ने गरेको अनुभव सुनाए । तर्साउन पनि कति तर्साएको कोरोनाले । मान्छे देखेर मान्छे डराउनुपर्ने ।  

९. ठाउँअनुसार देवताको नाम

नेपालका हरेक ठाउँको नाम, देवी देवताको नामसँग अनेक कथा किम्बदन्ती जोडिएका हुन्छन् । यी निक्कै प्रासंगिक र रोचक पनि हुन्छन् । सूर्य विनायक नगरपालिकाको सिपाडोलमा प्रसिद्ध महादेव विराजमान छन् । डोलमा विराजमान भएकैले महादेवको नाम डोलेश्वर रहन गएको हुन सक्छ । डोलेश्वर महादेव केदारनाथको शिर मानिएको छ ।  

हाल महादेवको मन्दिर निर्माणाधीन अवस्थामा रहेछ । पुरानो मन्दिरलाई नयाँ मन्दिरको स्वरुपले विस्थापित गर्दै छ । केही वर्षयता यस क्षेत्रमा धार्मिक पर्यटन बढेको छ । यस भेगमा भौतिक पूर्वाधारको विकाससँगै बस्ती बाक्लिँदो अवस्थामा छ ।  

डोलेश्वर महादेवबाट साईक्लिङका धेरै गन्तव्य चयन गर्न सकिन्छ । यहाँबाट नजिकका गन्तव्यहरु रानीकोट, पाइलट बाबा आश्रम, आशापुरी, माने दोभान आदि हुन् ।    

भय, त्रास, अन्योल, अनिश्चितताका सीमित घेराका बीच खुम्चिएर बस्नुपर्दा आम मानिसको शारीरिक, मानसिक स्वास्थ्यका साथै आर्थिक अवस्थामा समेत निक्कै असर परेको छ । समस्या समाधानका लागि नागरिक स्तरबाटै भरपर्दो उपाय खोज्नुको विकल्प छैन । नागरिक आफैँ सचेत भएर आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । साइकल आफ्नो स्वास्थ्यको ख्याल गर्नेहरुका लागि उपयुक्त साधन हो । उपत्यकाका वरिपरि विचरण गर्ने मनग्ये ठाउँहरु छन् । उपत्यकाका छोटा दूरीमा साइक्लिङ गरौं । शारीरिक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ निरोगी बनौँ ।

प्रकाशित: २० श्रावण २०७७ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App