८ वैशाख २०८१ शनिबार
समाज

विराटनगरमा दुई साता लकडाउन

प्रदेश १

मुदाय स्तरमा कोरोना भाइरस संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले नगरक्षेत्रमा दुई साता लकडाउन गरेको छ। विराटनगर  महानगरपालिका स्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबारको बैठकले नगरक्षेत्रमा थप संक्रमण फैलिन नदिन साउन १६ राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म लकडाउनको निर्णय गरेको हो।  

कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि महानगरपालिका क्षेत्रमा १४ दिन लकडाउन गर्ने निर्णय भएको प्रमुख भीम पराजुलीले बताए। उनका अनुसार लकडाउन अवधिमा नगर क्षेत्रमा खाद्यान्न, तरकारी, फलफूल, औषधि पसल, दूध, पानी, ग्यास, इन्धन, प्रेसलगायत अत्यावश्यक सेवा खुला रहने छन्। यस्तै एम्बुलेन्स, दमकल, अक्सिजन, विराटनगर आइसिपी हुँदै आउने–जाने ट्रक तथा लरी पनि सञ्चालन हुने छन्।  अस्पताल तथा नर्सिङ होममा पनि बहिरंगबाहेक  सेवा खुला रहनेछ। तर, विराटनगरमा बढी भीड हुने पुरानो र नयाँ गुद्री बजारका खाद्यान्न, तरकारी तथा फलफूललगायत पसल भने पूर्ण रुपमा बन्द हुने महानगरपालिकाले जनाएको छ।  

कोरोना संक्रमण समुदाय स्तरमा देखिएकाले थप फैलिन नदिन लकडाउन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। उनका अनुसार  विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय पुगिसकेको छ। ६० संक्रमितको ट्राभल हिस्ट्री नै नभएकाले संक्रमणको माध्यमसमेत खुल्न सकेको छैन। थप सतर्कता नअपनाए कुनै पनि बेला भयावह स्थिति आउन सक्ने कार्कीले बताए। उनले लकडाउनसँगै कोरोना परीक्षण दायरा पनि बढाउने तयारी भइरहेको जानकारी दिए। यसले कोरोना  संक्रमण थप फैलिन नदिन सहयोग पुग्ने उनको विश्वास छ। उनले भने, ‘लकडाउनसँगै परीक्षण दायरा पनि बढाइने भएकाले संक्रमण नियन्त्रण गर्न सजिलो हुनेछ।’

विराटनगर महानगरपालिकामा कोरोना संक्रमण थप फैलिन नदिन साउन १६ रातिदेखि ३० गते रातिसम्म लकडाउन लगाउने निर्णय भएको छ। धरान, इटहरी र इनरुवमा पनि संक्रमण रोक्न थप सतर्कता अपनाइएको छ।

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि विराटनगरका अस्पतालहरूको सेवासमेत प्रभावित हुन थालेको छ। विराटनगरस्थित कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेक सेवा बन्द छन्। विराटनगर अस्पतालका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ। स्वास्थ्यकर्मी संक्रमित भएपछि सो अस्पतालको सेवा पनि ठप्प छ। लकडाउन अवधिभर सबै अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको महानगरले जनाएको छ। लकडाउनको पालना गरी घरैमा बस्न र स्वास्थ्यसम्बन्धी कुनै समस्या आए स्थानीय जनप्रतिनिधिलाई खबर गर्न महानगरपालिकाले नगरवासीलाई अनरोध गरेको छ।  

धरान उपमहानगरपालिकामा पनि समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ। संक्रमण रोकथाम तथा नियन्त्रणका लागि धरान उपमहानगरपालिकाले बुधबार प्रमुख जिल्ला अधिकारीसहितको सर्वदलीय बैठक राखेको थियो। बैठकले बिहान–बेलुका बढी भीड हुने भएकाले बजार र पसल बन्द गर्ने निर्णय गरेको छ। त्यस्तैै समुदाय स्तरमा संक्रमण फैलिएको छ कि छैन भन्ने पत्ता लगाउन प्रत्येक वडाका १० जनाको नमुना संकलन गरी पिसिआर परीक्षण गर्न एक समिति पनि गठन गरेको जानकारी मेयर तिलक राईले बताए। उपमहानगरपालिकाले नगर क्षेत्रमा मास्क अनिवार्य गरेको छ।  

धरानमा प्रदेश १ कै ठूलो अस्पताल कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ। यसलाई सरकारले कोभिड–१९ को लेभल थ्री अस्पताल घोषणा गरेको छ। प्रतिष्ठानको सर्जरी युनिट १ बाट डिस्चार्ज भएका बिरामी र एक महिला डाक्टरका पतिमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रतिष्ठानले आवास क्षेत्रमा लकडाउन घोषणा गरेको छ। प्रतिष्ठानले अस्पताल आवतजावतमा पनि कडाइ गर्न थालेको छ।

विराटनगर र धरानमा मात्रै हैन, इटहरीमा पनि कोरोना संक्रमण फैलिइसकेको छ। इटहरी उपमहानगरपालिकाले कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अतिआवश्यक र स्वास्थ्यबाहेक अन्य सेवा बिहीबारदेखि बन्द गरेको छ। योजना फाँटमा कार्यरत इन्जिनियरमा कोरोना पोजेटिभ भएपछि उपमहानगरपालिकका र सवै वडा कार्यालयबाट प्रवाह हुने अतिआवश्यक र स्वास्थ्यबाहेक अन्य सेवा बन्द भएको हो। इटहरी उपमहानगरपालिका–६ का अध्यक्ष दीपक गौतमले समुदाय स्तरमा कोरोना फैलिएको त्रासले सेवा बन्द गरिएको बताए।  

‘संक्रमतिको सम्पर्कमा आएका व्यक्तिको नमुना संकलन गरी परीक्षण नगरिएसम्मका लागि उपमहानगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गर्ने निर्णय भएको छ।’  

इटहरी अस्पतालका रामकुमार धमलाले समुदायमा कोरोना संक्रमण फैलिन नदिनका लागि माइकिङ गर्ने, हाट–बजार बन्द गर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने बताए।  

इनरुवामा पनि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि साउन १८ गतेसम्म नगरपालिका र वडा कार्यालयबाट अतिआवश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको छ। इनरुवामा बजार बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्र खोल्ने निर्णय गरिए पनि कार्यान्वयन भएको छैन। जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार इटहरीसँगै इनरुवा, धरान र बराहक्षेत्रमा कोरोना संक्रमित पहिचान भएकाले  पनि  समुदाय स्तरमा फैलिन खतरा बढेको छ।

प्रकाशित: १७ श्रावण २०७७ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App