१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बाँकेमा समुदाय स्तरमा फैलियो कोरोना , आइतबारदेखि निषेधाज्ञा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण उन्मुख भइरहेका बेला बाँकेमा पुन: संक्रमण फैलिएको छ। समुदाय स्तरमा एकै पटक २७ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो। नेपालगन्जको त्रिभुवन चोक क्षेत्र तथा आन्तरिक राजश्व कार्यालय नेपालगन्ज र बाँके जिल्ला अदालतबाट कोरोना संक्रमित फेला परेका हुन्। समुदाय स्तरमा एक्कासी संक्रमण बढेपछि कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिको आकस्मिक बैठकले आगामी आइतबारबाट लागु हुने गरी तीन दिनका लागि बाँके जिल्लाभर पूर्ण रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् समितिका संयोजक रामबहादुर कुरुङवाङले समुदाय स्तरमै २७ जना ब्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि बिहीबार बसेको समितिको बैठकले बाँके जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जानकारी दिए। ‘बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या क्रमशः घट्दै गइरहेको अवस्थामा अचानक समुदाय स्तरमै फैलिएपछि निषेधाज्ञा जारी गर्नु परेको हो,’ उनले नागरिकसँग भने ‘संक्रमितको संख्या देखियो भने निषेधाज्ञा बढाउदै लैजाने हो।’ निषेधाज्ञाका क्रममा औषधी उपचार तथा अत्यावश्यक काम बाहेक कसैलाई पनि घर भन्दा बाहिर निस्कन नदिइने बताए।  

उनका अनुसार त्रिभुवन चोक क्षेत्रमा केहीदिन अघि गरिएको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा एकै पटक १७ जना ब्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखियो। यस्तै आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ४ जना कर्मचारी र ५ जना कर्मचारीका परिवार तथा बाँके जिल्ला अदालतका एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।  

प्रजिअ कुरुङवाङका अनुसार यसअघि जिल्लामा संख्या घटेर १२ जना मात्र संक्रमित रहेका थिए। अहिले एक्कासी समुदाय स्तरमा संक्रमण फैलिएपछि संक्रमितको संख्या पुनः बढेको उनले बताए। जिल्लामा अहिलेसम्म ४ सय ७ जना कोरोना भाइरस पोजेटिभ फेला परेको बताइएको छ। त्यसमध्ये ३ सय ७९ जना संक्रमित निको भएका छन्, भने २ जनाको मृत्यु भएको छ। संक्रमित २६ जना आइसोलेसनमा बसिरहेका छन्। जिल्लामा अहिलेसम्म ११ हजार ४ सय ४३ जनाको पिसिआर र ९ हजार ३ सय ७५ जनाको आरडिटी विधीबाट कोरोना जाँच गरिएको प्रजिअ कुरुङवाङले बताए।  

त्रिभुवन चोक क्षेत्रमा फेला परेका नयाँ संक्रमितलाई लायन्स डेन्टल अस्पताल नेपालगन्जको आइसोलेसन सेन्टरमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमित निजामति कर्मचारी र उनीहरुका परिवारलाई आन्तरिक राजश्व कार्यालयमै राखिएको छ। राजश्व कार्यालयको काम काज पूर्णरुपले बन्द गरेर आइसोलेसन सेन्टर स्थापना गरी कर्मचारी र उनीहरुका परिवारलाई त्यहाँ राखिएको श्रेष्ठले बताए। समुदायमा कोरोना संक्रमण फैलिएपछि नेपालगन्जबासी फेरीपनि त्रसित भएका छन्। लामो लकडाउन खुलेपछि आफ्नो नियमित कामकाजमा फर्केका नेपालगन्जबासीलाई समुदाय स्तरमा कोरोना फैलिदाँ त्रसित गराएको हो।  

‘त्रिभुवन चोक क्षेत्रमा एकै पटक धेरै ब्यक्तिमा कोरोना देखियो, राजश्व कार्यालय र अदालतका कर्मचारी तथा परिवारका सदस्यलाई देखियो, यसबाट नै कोरोना भाइरस समुदाय स्तरमै फैलिएको प्रष्ट हुन्छ,’ फोकल पर्सन श्रेष्ठले भने ‘अब हामी नियम अनुसार संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङको काम थाल्नेछौं।’ उनका अनुसार पोजेटिभ ब्यक्तिसँग घुलमिल गरेको सात दिनपछि मात्र दोस्रो ब्यक्तिमा भाइरस सर्न सक्ने सम्भावना हुन्छ। ‘भाइरस सर्नको निम्ति करिव १५ मिनेटसम्म संक्रमित ब्यक्तिसँग एक मिटरको दुरीमा अर्को ब्यक्ति बसेको छ, भने अथवा संक्रमितले खोक्दा खेरी मुखमा छिटा परेको छ, भने मात्र उसको कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब लिनुपर्छ,’ श्रेष्ठले भने।  

यसअघि गत बैशाखमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वा टोलमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको थियो। उक्त टोलमा नियमित आवत जावत गर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी ६० बर्षिय पुरुषमा संक्रमण पुष्टी भएपछि उनको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा समुदाय स्तरमा फैलिएको थियो। त्यतिबेलाका संक्रमित सबै निको भएर घरमा फर्किसकेका छन्।  

 

 

प्रकाशित: १५ श्रावण २०७७ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App