१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रिय गौरबका आयोजना : तोकिएकोको लागत, समय र गुणस्तरमा काम हुन सकेन

राष्ट्रिय गौरबका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पुरा नहुने र गुणस्तरिय रुपमा निर्माण नहुने गरेको समस्या देखिएको छ । वर्षौदेखि निर्माण सुरु भएका गौरबका आयोजनाहरु कहिले स्रोत अभाव त कहिले अन्य स्थानीय समस्याहरुका कारण निर्माण सम्पन्न हुन सकेका छैनन् । राष्ट्रिय योजना आयोगका उपध्यक्ष डा. पुष्पराज कँडेल आयोजनाहरु तोकिएको लागत, समय र गुणस्तरमा काम हुन नसकेको बताउँछन् । गौरबका आयोजनाहरु जुन गतिमा निर्माण हुनुपर्ने हो त्यो गतिमा हुन नसकेकोले यसमा गम्भिरता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए । आयोजना निर्माणमा अहिले वातावरणीय मूल्याङ्कन, जग्गा अधिग्रहण, वन क्षेत्रको समस्या देखिएको उनले बताए ।

विभिन्न मन्त्रालयका सचिवहरुले स्रोतको समस्याका कारण गौरबका आयोजनाहरु निर्माणमा विलम्ब हुने गरेको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्रालयका सचिवहरुले लकडाउनका कारण केही आयोजनाहरु प्रभावित भएपनि अधिकांश आयोजनामा भौतिक प्रगति सन्तोषजनक रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले विभिन्न विमानस्थलहरु निर्माणका काम सन्तोषजनक रहेको बताए । निजगढ विमानस्थलमा भौतिक प्रगति उल्लेख नभएपनि अदालतको फैसला आएपनि बाँकी प्रकृया अगाडी बढाइने उनले बताए । पशुपति गुरुयोजना अनुसार ८४ प्रतिशत काम सम्पन्न भएको र लिम्बिनी क्षेत्र विकासको काम ८५ प्रतिशत सकिएको उनले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुष्पलाल मध्यपहाडी र लोकमार्गमा ५३ प्रतिशत काम भएको बताए । गत आर्थिक वर्षमा १ सय ११ किलोमिटर गरी अहिलेसम्म आधा भन्दा बढी सडक कालोपत्रे भएको उनले बताए । हुलाकी सडकको ५५ प्रतिशत कम सम्पन्न भएको छ । गौरबका आयोजना निर्माणमा स्रोतको समस्या देखिएको उनले बताए ।

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा ७१ प्रतिशत काम सम्पन्न भएको बताए । मुख्य सुरुङका लागि परामर्शदाता विज्ञहरु ल्याउनुपर्नै भएपनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समस्या भइरहेको उनले बताए । बुढीगण्डकी जलविद्युत आयोजनामा अहिलेसम्म ३२ अर्ब २७ करोड १७ लाख बराबरको मुआब्जा वितरण भएको उनले बताए । कुल ५८ हजार १ सय ५३ रोपनीमध्ये अहिलेसम्म ४७ हजार ३ सय ३९ रोपनीको मुआब्जा वितरण भएको उनले बताए ।  

सिक्टा सिँचाइ आयोजनाको ६३ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम तर्फको ४५ किलोमिटर मुल नहर तयार भइसकेको छ । गत वर्ष आयोजनाबाट १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । बाँकेमा मात्रै ९० प्रतिशत क्षेत्रमा सिक्टा सिँचाइको पानीले रोपाई गरिएको छ । रानी जमरा गुलरिया आयोजनामा ४८ प्रतिशत प्रगति भएको छ । 

प्रकाशित: १५ श्रावण २०७७ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App