३० श्रावण २०७७ शुक्रबार
समाज

कोभिड १९

कोलाज

झण्डै चार महिनादेखि सारा संसार कोभिड-१९ को विश्वव्याधिका कारण हल न चलको अवस्थामा छ । दिन प्रतिदिन कोभिड-१९ रोगका भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढिरहेको छ । एक किसिमले भन्ने हो भने सारा संसारमा कोभिड-१९ को बाढी नै आएको छ ।  

६ महिनाअघिको दिनचर्या सम्झनुस् त ! हामी कति सरल जीवन बाँचिरहेका थियौँ ! हाम्रो दैनिकी सामान्य थियो । हाम्रा सन्तान र परिवारको दैनिकी पहिलेझैँ यथावत् थिए । तर चीनको वुहानबाट उत्पन्न भएको कोरोनाभाइरसका कारण हिजोआज दिनदिनै संक्रमित हुने र मर्नेको संख्या यति र उति पुग्यो भन्ने खबर सुनिरहनु परेको छ ।

हामी एउटा त्रासदिपूर्ण वातावरणमा बाँचिरहेका छौँ । कोही व्यवसाय चलाउन देश छाडेर गएका होऊन् या आफ्नो आवश्यकताअनुसार दैनिकीका लागि उतै व्यवस्थित भएका नेपाली होऊन्, उच्च शिक्षाको आकांक्षा लिएर विदेसिएका होऊन् या घुमघामका लागि र वैदेशिक रोजगारीका लागि गएका होऊन्, एक्कासि आएको विश्वव्याधिका कारण सबैको मानसिक स्थिति अस्तव्यस्त बन्न पुगेको छ ।

पहिले कसैले यस्तो अवस्था आउँछ रे भन्ने सुन्दा वा कुनै आध्यात्मिक पुस्तकमा कुनै धार्मिक गुरुले गरेको भविष्यवाणीमा ५० प्रतिशत मानिस मात्र जीवित हुन्छन्, खान नपाउने दिन आउँछन् भन्ने पढ्दा हामी आफूलाई चाहिँ त्यस्तो पर्दैन होला भन्ने कल्पथ्यौँ । त्यस्तो त अरुले नै भोग्छन् होला, हाम्रो भागमा त्यो पर्दैन होला भन्न लाग्थ्यो ।  

कल्पना गरेर जे पनि बोलिदिने, जे पनि लेखिदिने गरेको होला भन्ने सोच मनमा आउँथ्यो । कहिलेकाहीँ संसारै ध्वस्त भएर बाँचेका केही मानिसहरुको मनोदशाबारे बनेका फिल्महरु हेर्दा जे पायो त्यही कल्पना गरेर हुन्छ भन्ने लाग्थ्यो । त्यो त मनोरञ्जनका लागि मात्र हो भन्ने सोच मनमा पलाउँथ्यो ।

तर आज ती सबै कुरा आफ्नै आँखाले देख्नु परिरहेको छ । प्रकृतिले हामीलाई दिएको भयङ्कर क्षतिले हामीलाई घोत्लिन बाध्य बनाएको छ । कहिले भूइँचालो, कहिले मलेरिया, कहिले प्लेग सारा संसारले भोगिरहेको छ ।  

तर यसले एउटा कुरा हामीलाई सिकाएको छ– हामीले प्रकृतिमाथि बढी नै अन्याय गरेका छौँ । बढी नै दोहन गरेका छौँ स्रोतसाधनहरुलाई । त्यसै कारण पनि हामीले भयंकर क्षति भोगिरहनु परेको छ । प्रकृतिलाई हामीले यति बढी दोहन ग¥यौँ कि उसले पनि हामीसँग नराम्रोसँग बदला लिइरहेको पो हो कि भन्ने आभास भइरहेको छ ।

यतिबेला विद्यार्थीहरुका लागि शिक्षा बन्द छ । धार्मिक आस्थाका मठमन्दिर बन्द छन् । खाली घरमा बस्ने र अनिश्चत भविष्यको बारेमा चाहिने–नचाहिने कुरा टिभी र इन्टरनेटमा हेर्‍यो अनि त्यसैका बारेमा गुन्यो–बस्यो । यसरी त जीवनप्रति नकारात्मक सोच, परिवार र आफन्तप्रतिको द्वेष बढाउनेबाहेक केही गर्दैन ।  

कोरोनाका कारण कति विषाक्त अवस्था छ भने छोराछोरीले कोरोना भाइरसका कारण मृत्यु भएका आमाबुबा छुन डराउने, परिवारले मृतक आफन्त छुन डराउने, भेटघाट र सहानुभूति नजनाउने जस्तो अवस्था सिर्जना भइसक्यो ।  

कोरोनाका कारण मानिस यति व्यक्तिकेन्द्रित बन्न पुग्यो कि कोही साँच्चीकै पीडितलाई पनि हामीले सहयोग गर्न नसक्ने वातावरण बन्न पुग्यो । त्यसैले त सकी–नसकी उडेर, गुडेर, हिँडेर भए पनि घर फर्कनेको लर्को लाग्यो । मरे आफ्नै घरआँगनमा मरुँला भन्ने सोच बलवती भएर गयो । सामीप्य र सहानुभूतिको अभावमा कयौँ मानिस मनोरोगी भए र कतिले त ईहलीला नै समाप्त पारे ।

अझै पनि यस विश्वव्याधिको मूल समस्या देखिनै बाँकी छ । यसको असर र प्रभाव कति भोग्नुपर्ने हो, क्रमशः देखिदै र भोगिदै जाला । यसको हानि–नोक्सानी त विज्ञहरुले पनि आँकलन गर्न नसकेको देखिदैछ ।

एउटा अँध्यारो कोठामा टुकीको उज्यालोको महिमा कति धेरै हुन्छ ! त्यस्तै यस्तो विश्वव्याधिका अवस्थामा हामीले आफ्नो सोचाइमा फरकपना ल्याएर बाँच्नका लागि सकारात्मक भावना बढीभन्दा बढी ग्रहण गर्नुपर्ने आवश्यकता देखिन्छ । तपाईंले कत्तिको ख्याल गर्नुभएको छ, कोइलीले गाउन र मयूरले नाच्न छोडेका छन् र ? हिमाल टल्कन छोडेका छैनन्, नदी नाला बग्न छोडेका छैनन्, रुख बिरुवाको पालुवा पलाउन छोडेका छैनन् । यी सबबाट सकारात्मक शक्ति लिने, विज्ञ भोक्ताहरुको सोच ग्रहण गर्ने, आफूले सुनेका सकारात्मक सोच समाज र परिवारमा बाँड्ने काम अहिलेको आवश्यकता हो ।

समय खराब चलिरहेको छ तर यो खराब समय केही समयलाई हो । फेरि पनि हामी सामान्य दैनिकीमा फर्कनेछौँ, फर्कनै पर्छ किनभने त्यो हाम्रो दैनिकी हो ।  

अहिलेलाई आफू सकारात्मक जीवन बाँच्ने र घर–परिवार अनि समाजलाई पनि सकारात्मकतातर्फ अघि बढाउने हाम्रै जिम्मेवारी हो ।

प्रकाशित: १५ श्रावण २०७७ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App