coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लकडाउनमा घरेलु हिंसा

रिपोर्ट

क्याप्शन

काभ्रेपलाञ्चोक घर भएकी सीता (नाम परिवर्तन) सोल्टीमोडमा कोठा लिएर बस्छिन् । एक छोरा र एक छोरी पढाउन काठमाडौं बसेकी सीताका श्रीमान् रमेश नेपाली वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए । पेन्टरको काम गर्ने रमेश छुट्टीमा स्वदेश आएका थिए ।  

तीन महिनाअघि नेपाल आएका रहेछन् रमेश । एक महिनाको छुट्टीमा आएका उनी श्रीमती र छोराछोरीको आग्रहमा थप दुई महिना भिसा थपेर बसेका रहेछन् । बिदाभर त घुमघाम गरी रमाइलो गरियो तर लकडाउनमा परेपछि भने उनीहरुलाई आर्थिक समस्या हुन थाल्यो ।  

विदेश फर्किहालिन्छ, फेरि कमाइन्छ भन्ने सोचेर मनमौजी खर्च गरेका उनीहरु लकडाउन सुरु भएपछि समस्यामा परे । उडानका लागि काठमाडौंमा अल्झेका रमेशका परिवार लकडाउन कडा भएपछि गाउँ पनि जान पाएनन् । काठमाडौंकै एउटा साँघुरो कोठामा थुनिएर बस्नुपर्‍यो ।

महिलासम्बन्धी वकालत गर्ने अधिवक्ता राजेन्द्र शर्माले  भने, ‘केही त सामान्य घरझगडा हुन्छन्, त्यस्ता झगडालाई शान्ति सुरक्षाको मुद्दा मानेर प्रहरीले मिलाउन सक्छ, गम्भीर किसिमका समस्यामा भने अदालतले नै निर्णय गर्नुपर्छ ।’

आर्थिक समस्या र घरमै थुनिनुपर्दा बिस्तारै सीता र रमेशबीच झगडा पर्न थाल्यो । सामान्य विवादबाट सुरु भएको झगडामा मुखले मात्रै नभ्याएर हातै हाल्न थाले रमेशले । असार २९ गते भने नराम्रैसँग सीताको धुलाइ गरे । रक्ताम्य भएकी सीतालाई घरबेटीको सहयोगमा कालिमाटी प्रहरी वृत्तले उद्धार गर्‍यो ।  

कालिमाटी प्रहरी वृत्तमै असारको पहिलो साता अर्को घरेलु हिंसाको घटना घट्यो । नाम बताउन नचाहने प्रहरी हवल्दारले भने, ‘मान्छे कहाँसम्म नरपिचास हुँदो रहेछ भन्ने उदाहरण थियो त्यो घटना ।

कमल (नाम परिवर्तन) पहिले काठमाडौंदेखि बाजुरासम्म चल्ने यातायातका चालक थिए ।  त्यही समयमा उनले स्वयम्भु काठमाडौं घर भएकी केटीसँग प्रेम विवाह गरे । बिहेपछि श्रीमती कालिमाटीमा डेरा गरी बस्ने, बिहान बेलुका कालिमाटी फलफूल तथा तरकारी बजारको गेटबाहिर तरकारी बेच्ने सल्लाह भयो । कमल भने भारतमा काम गर्ने योजना बन्यो । त्यसैअनुरुप उनी भारतमा गए तर त्यहाँ कोरोना पोजेटिभ बिरामी देखा पर्ने बित्तिकै उनी रातारात नेपाल आए ।  

जब उनी भारतबाट नेपाल आए, श्रीमती अर्कैसँग लागेको शंका हुन थालेछ कमललाई । यसको कारण थियो, श्रीमती शारीरिक सम्बन्धका लागि तयार नहुनु । प्रहरी हवल्दारले भने योनिबाट सेतो पानी बग्नेलगायतका समस्याका कारण सम्बन्ध बनाउँदा उनलाई पीडा हुने रहेछ । त्यसैले श्रीमतीले इन्कार गर्न थालेपछि अर्कैसँग लसपस भएकाले आफूसँग यौन सम्बन्ध राख्न नचाहेको भन्दै कुटपिट गर्न थालेछ ।

कुटपिट गर्ने, जवरजस्ती गर्ने, महिनावारी भएको समयमा पनि यौन सम्बन्ध राख्न खोज्ने गर्न थालेपछि श्रीमती माइतीमा गइछन् तर आफैं बिहे गरेकाले माइतीले उनलाई ज्वाइँ बोलाएर फिर्ता पठाइदिएछन् । माइती गएर आएपछि श्रीमान झनै उग्र हुन थालेछन् । योनिमा सीसा कोचिदिने, चुरोटका ठुटोले पोलिदिने गर्न थालेपछि अति भएर उनी प्रहरीमा निवेदन दिन आएकी रहिछन् । अहिले कमल प्रहरीको नियन्त्रणमा छन् ।

१६ वर्षीया सुनिता (नाम परिवर्तन) १८ वर्षीय युवकको प्रेममा परिन् । दुईजनाले बिहे अगावै शारीरिक सम्बन्ध बनाए र सुनिता गर्भवती भइन् । पेटमा गर्भ रहेपछि सुनिताले ती युवालाई बिहेका लागि दबाब दिन थालिन् । युवाले बच्चा फाल्न अनेक कोसिस गरे तर सकेनन् । कुनै उपाय नलागेपछि कोठा खोजेर राखे तर लकडाउनको मौका पारेर सुनितालाई छाडेर हिँडे ।  

बच्चा अहिले दुई वर्षको पुगेको छ तर ती युवा सुनितालाई चिन्दिन भन्छन् । युवाका बाबुआमा पनि छोरोले बिहे नगरेको दाबी गर्छन् । उनलाई छाडेर हिँड्नु अघि जिन्दगी बर्बाद गरेको भन्दै हातपात गरेर निस्केको सुनिताले बताइन् । उनले भनिन्, ‘सानो छोरो छ, यदि यो नभएको भए पनि एउटा ज्यानको विकल्प खोज्न सकिन्थ्यो ।’

यी त भए प्रतिनिधि घटना मात्र । यस्ता घटना लकडाउनको समयमा झनै बढिरहेको महिला आयोगका सूचना अधिकारी धुव्रराज क्षेत्रीले बताए । राष्ट्रिय महिला आयोगको तथ्यांकले लकडाउनको दुई महिनामा महिला हिंसा करिब १६ प्रतिशतले वृद्धि भएको तथ्यांक निकालेको छ ।  यौनिक हिंसा भने लकडाउनको समयमा तीनदेखि पाँच प्रतिशतले बढेको पनि क्षेत्रीले बताए ।  

प्रहरी प्रधान कार्यालयले लकडाउन सुरु भएदेखि असार १५ सम्म देशैभरि घरेलु हिंसाका करिब ९ सय ५६ वटा उजुरी दर्ता भएको बताएको छ । जसमा बलात्कारका १२५ वटा मुद्दा, १०० वटाजति सामाजिक हिंसा जस्तै बोक्सी, दाइजोलगायतका मुद्दा दर्ता भएका छन् ।  त्यस्तै असार १५ गतेसम्मको तथ्यांकमा ३५ वटा आत्महत्याका मुद्दा आएका छन् भने ४ वटा आत्महत्या प्रयासका मुद्दा दर्ता भएका छन् । 

३२ वटा मुद्दा यौन दुर्व्यवहारसम्बन्धी छन् भने यौन दुर्व्यवहारको प्रयासका मुद्दा २६ वटा दर्ता भएका छन् । त्यस्तै हत्याका १८ वटा मुद्दा दर्ता भएका छन् भने ६ वटा मुद्दा हत्या कि आत्महत्या पुष्टि हुन सकेको छैन । यही मौका छोपेर मानव बेचबिखनका घटना पनि बढिरहेको प्रहरीले बताएको छ । दर्ता हुन आएका मात्रै ४ वटा मुद्दा मानव बेचबिखनका रहेका छन्, यो संख्या अझै धेरै हुन सक्ने उनीहरुको अनुमान छ ।

महिला आयोग र प्रहरी चौकीमा मात्रै होइन, घरेलु हिंसाको समस्या बोकेर विभिन्न महिला हिंसासम्बन्धी काम गर्ने संस्थाहरुमा पुग्नेहरुको संख्या पनि पहिलेको तुलनामा बढ्दो छ । समुन्नत महिला मञ्च नेपालकी अध्यक्ष सोमा खत्री आफूकहाँ पहिलेको तुलनामा अहिले धेरै घरेलु हिंसासम्बन्धी समस्या बोकेर आउने गरेको बताउँछिन् । उनले भनिन्, ‘हिंसाको प्रकृतिमा समेत लकडाउन अघि र पछिमा भिन्नता आएको छ ।’

सोमाले भनिन्, ‘पहिले घरकी श्रीमती छाडेर अर्को बिहे गरेको समस्या धेरै आउँथे भने अहिले झैझगडा र कुटपिटका घटना धेरै आउँछन् ।’

कुटपिटका घटना बढी आउनुको कारण प्रस्ट पार्दै उनले भनिन्, ‘बिहानै छुट्टिएर एकैचोटी बेलुकी भेट हुने श्रीमानश्रीमती दिनरात सँगै भएपछि घरेलु हिंसा बढ्ने रहेछ,’ उनले थपिन्, ‘मानिसहरु पर्सनल स्पेस खोज्दा रहेछन्, घरमा दिनभर एक्लै हुने श्रीमतीलाई श्रीमान देखेर दिक्क लाग्ने र बाहिर लखरलखर डुल्ने बानी परेको श्रीमान्लाई घरमा श्रीमतीको अनुहार हेरेर बस्नुपर्ने हुँदा यस्ताखाले समस्या बढेको उनको अनुभव छ ।’ सोमाका अनुसार यस्ता हिंसा धेरैजसो गृहिणीहरुमा घट्ने गरेको छ ।  

सामान्य घर झगडाका मुद्दादेखि गम्भीर मुद्दाहरु लिएर पहिले भन्दा धेरै पीडित आफूकहाँ आइरहेको बताउँछन्, महिलासम्बन्धी वकालत गर्ने अधिवक्ता राजेन्द्र शर्मा । शर्माले  भने, ‘केही त सामान्य घरझगडा हुन्छन्, त्यस्ता झगडालाई शान्ति सुरक्षाको मुद्दा मानेर प्रहरीले मिलाउन सक्छ, गम्भीर किसिमका समस्यामा भने अदालतले नै निर्णय गर्नुपर्छ ।’

आफूकहाँ आएका समस्यामा धेरै बलात्कार र यौन दुर्व्यवहारका मुद्दा रहेको पनि शर्माले बताए । उनले भने, ‘वैवाहिक बलात्कारको समस्या बोकेर धेरै महिला सम्बन्ध विच्छेदका लागि आइरहेका छन् ।’

प्रकाशित: १४ श्रावण २०७७ ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App