३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
खेल

अम्पायर भाष्कर अर्यालको निधन

नेपाली क्रिकेटको विकास र विस्तारमा दुई दशकभन्दा लामो समय खर्चिएका ‘लेभल–वान’ अम्पायर भाष्कर अर्यालको आइतबार बिहान विराटनगरमा असामयिक निधन भएको छ। विराटनगर–४ का ४६ वर्षीय अर्याल विगत एक महिनादेखि जण्डिस रोगसँग जुधिरहेका थिए।

स्वास्थ्यमा जटिलता देखिएपछि विराटनगरस्थित कोशी अस्पतालमा दुई सातासम्म उनको उपचार गरिएको थियो। तर, स्वास्थ्य अवस्थामा सुधार नभएपछि र चिकित्सकले थप उपचार सम्भव नरहेको बताएपछि उनलाई गत आइतबार घर लगिएको थियो। घरमै उपचार र हेरचाह भइरहेकै अवस्थामा आज बिहान उनको निधन भएको परिवार स्रोत जनाएको छ।

अर्याल नेपाली क्रिकेट वृत्तमा एक परिचित र मेहेनती अम्पायरका रूपमा स्थापित थिए। स्थानीय स्तरदेखि विभिन्न राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा कुशल अम्पायरिङ गर्दै उनले खेल व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका थिए। क्रिकेटबाहेक उनले झण्डै १० वर्ष पत्रिकाको छापाखानामा प्रेस सहयोगीका रूपमा सेवा गरेका थिए।

नेपाल क्रिकेट संघ (क्यान) र कोशी प्रदेश क्रिकेट संघले अर्यालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। क्यानले उनको निधनले नेपाली क्रिकेटको विकासमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। स्वर्गीय अर्यालका श्रीमती, एक छोरा र एक छोरी छन्। उनको आजै विराटनगरस्थित परोपकारघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: ३ जेष्ठ २०८३ १३:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App